शान्त रहने व्यक्ति अचानक सानो कुरामा रिसाउने, दिक्क हुने, झर्किने र अँध्यारो मुख लगाउने हुँदै गएमा जो कोही पनि छक्क पर्न सक्छ । यदि सो व्यक्ति लामो समयसम्म मधुमेहको समस्याबाट गुज्रिरहेको छ भने त पक्कै पनि यसको प्रभाव परेको हुनसक्छ ।
सामान्यतया रगतमा ग्लुकोजको मात्रा बढी हुने अवस्था मधुमेह हो । जसरी मधुमेह भएकाहरूमा यसको मात्रा बढी भएमा अंगहरु क्षति हुने, मोटोपन, मुटुसम्बन्धी लगायतको जोखिम हुन्छ । ठीक सोही प्रकारले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्छ ।
कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?
मधुमेह र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई बुझ्न दुवै पक्षको गहिराइमा जान आवश्यक छ । मधुमेह भएका कतिपय व्यक्तिलाई तनावले घेर्छ । किनकि, एकातर्फ यो औषधि उपचारपछि पुन: रूपमा ठीक हुने रोग होइन । यसलाई नियन्त्रण गर्नुपर्छ ।
नियमित रूपमा रक्त ग्लुकोजको स्तर जाँच्नुपर्ने, औषधि लिनुपर्ने र खानपानमा ध्यान दिनुपर्ने हुन्छ । यही व्यवस्थापन तथा नियन्त्रण दिनहुँजसो गरिरहनु व्यक्ति हैरान हुनसक्छ । यी चुनौतीहरूले गर्दा व्यक्ति निराश, चिन्तित वा अवसादमा पर्न सक्छन् । यस्तो झन्झटिलो प्रक्रियाबाट छुट्कारा नहुने चिन्ताले उनीहरूलाई सताउन सक्छ ।
अर्कोतर्फ उनीहरुमा शारीरिक हल्का लक्षण देखियो भने मधुमेह बढेर केही पो भइहाल्ने हो कि, यो खानेकुरा खाँदा मधुमेह बढ्न सक्छ, कति खाइरहने दिनकै यस्ता औषधि भन्ने जस्ता चिन्ता भइरहने हुनसक्छ । यस्तो चिन्तालाई चिकित्सकले मधुमेह सम्बन्धित चिन्ता अर्थात् डायबिटिज रिलेटेड डिसट्रेस र डायबिटिज वर्नआउटको नाम दिएका छन् । यही चिन्ताले अत्यधिक सोचेर डिप्रेसनमा समेत मानिस पुग्न सक्छ ।
अध्ययनमा उल्लेख भएअनुसार इन्सुलिनमा भर पर्न आवश्यक नरहेका टाइप २ भएका पाँच जनामध्ये एक जनामा र इन्सुलिन लिइरहेका ६ जनामध्ये एक जनामा डायबिटिज रिलेटेडडिसट्रेसको समस्या देखिन्छ ।
त्यस्तै, हाम्रो मुडसँग उच्च र निम्न ब्लड सुगर वा ग्लाइसेमिकबीच सम्बन्ध हुन्छ । खराब ग्लाईसेमिक नियमनको लक्षण मानसिक स्वास्थ्यको लक्षण जस्तै, झर्को लाग्नु, अत्यधिक चिन्ता हुने लक्षणसँग मिल्दोजुल्दो छ । किनकि हाम्रो मस्तिष्क ग्लुकोजको आधारमा चल्छ ।
मधुमेह नियन्त्रित छ भने कुनै समस्या हुँदैन । तर मधुमेह घट्ने र बढ्ने भइरहेमा मुडमा तीव्र रूपमा परिवर्तन आउँछ । जसको प्रभाव घरपरिवारको सदस्य र नातेदारबीचको सम्बन्धमा पर्न सक्छ ।
ब्लड सुगर कम हुँदा एन्जाइटी, कुनै कुराको भय र भ्रम उत्पन्न हुने हुन्छ । ब्लड सुगर उच्च हुँदा उसलाई भोक नलाग्ने, समन्वय शक्ति तथा एकाग्रताको क्षमता, निर्णय लिनुमा कठिनाइ, आक्रामक स्वभाव, अधैर्यता र निद्रा नआउने जस्ता लक्षण अनुभव हुन्छ ।
मानसिक समस्या भएकालाई मधुमेहको जोखिम
चिन्ता, तनाव वा अवसाद जस्ता मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले पनि बिस्तारै खानपान तथा जीवनशैलीमा ध्यान दिन सक्दैनन् । कम शारीरिक गतिविधि, खानपानको तालमेल नमिल्नु, एकोहोरिनु, अनियमित निद्रा जस्ता समस्या उनीहरूले अनुभव गर्न सक्छन्, जसले मधुमेहको जोखिमलाई बढाउँछ । साथै, उनीहरूमा अनावश्यक चिन्ता लगातार बढ्दा कोर्टिसोल हर्मोनको मात्रा अत्यधिक बढ्छ ।
फलस्वरुप, हर्मोनल सन्तुलनमा प्रभाव पार्न सक्छ, जसले बल्ड सुगरको नियमन तथा नियन्त्रणमा समस्या ल्याउँछ ।
यौन जीवनमा प्रभाव
मधुमेह अत्यधिक मात्रामा बढिरहेको छ भने यौन जीवनलाई समेत प्रभावित पार्न सक्छ । महिलामा योनीमा सुक्खापन, पुरुषमा उत्तेजना कम हुनु वा शीघ्र स्खलन हुने समस्या भएमा उनीहरू यौन जीवनमा खुसी हुन सक्दैनन् । यही सोचले पनि उनीहरूमा बिस्तारै मानसिक समस्याले सताउन सक्छ ।
सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अनुसार मधुमेह भएकालाई मधुमेह नभएकाहरूको तुलनामा दुईदेखि तीन गुणा बढी डिप्रेसन हुने सम्भावना हुन्छ । तीमध्ये २५ देखि ५० प्रतिशतमा मात्रै डिप्रेसनको पहिचान र उपचार हुन्छ ।
मानसिक स्वास्थ्यमा प्रभाव परेको कसरी पहिचान गर्ने ?
– स-साना झर्किनु, आत्तिनु, रातभर ननिदाउनु, अरुको कुरा सुन्दै नसुनी आक्रामक हुन, उदास हुनु, केहीमा पनि मन नलाग्नु, निराशावादी हुनु, थाकेको अनुभव हुनु, अत्यधिक खाने वा खाँदै नखाने जस्ता लक्षण देखिन्छ । यीमध्ये धेरै लक्षण दैनिकीमा देखिए मानसिक समस्या भएको बुझिन्छ ।
मधुमेह भएकाले मानसिक स्वास्थ्य कसरी व्यवस्थापन गर्ने ?
– मानसिक रूपमा समस्या भइरहेको छ भने चिकित्सकलाई बताउनुपर्छ । ताकि, चिकित्सकलाई मधुमेह र मानसिक स्वास्थ्यमा परेका प्रभावलाई ध्यानमा राखी दुवै समस्याको समग्र रूपमा मूल्यांकन गर्न सहन होस् ।
थेरापी
मधुमेह भएकाहरूमा मुड स्विङ, चिन्ता, थकान, तनावले सताइरहेको छ भने थेरापीले यो अवस्था सुधार गर्छ ।
सो थेरापी मनोविज्ञ वा मनोचिकित्सकले दिन सक्छन् । थेरापीमा दिमागलाई आराम गर्ने र मधुमेह व्यवस्थापन प्रविधिहरू समावेश हुन्छन्, यी मार्फत भावनात्मक नियमन कायम रहन्छ । साथै तनाव पनि कम हुन्छ ।
मनमा चलेको विचलन पोख्नुहोस् । तनाव, चिन्ता जस्ता भावनाहरू अनुभव भएमा नजिकको व्यक्तिसँग पोख्न सकिन्छ । यसरी भावना पोख्दा मन त हल्का हुन्छ नै उनीहरूले पनि जीवनोपयोगी सल्लाह दिन सक्छन् ।
सकिन्छ भने परिवारमा पनि यी समस्या भन्नुपर्छ । ताकि, उनीहरूले पनि समस्या बुझेर सोही अनुसारको व्यवहार गर्न सकुन् ।
नियमित रूपमा ब्लड सुगर परीक्षण
अनियन्त्रित मधुमेहले मस्तिष्कलाई प्रभाव पार्ने भएकाले रगतमा ग्लुकोजको मात्रा नियमित रूपमा जाँच गर्नुपर्छ । ताकि, यसमा अचानक कुनै उतारचढाव नआओस्, जसकारण मानसिक स्वास्थ्य अवस्थाको सामना गर्नुपरोस् ।
निद्रा र शारीरिक गतिविधि
सातदेखि आठ घण्टा सुत्नु र शारीरिक क्रियाकलापमा सहभागी भई आफूलाई शारीरिक रूपमा सक्रिय राख्दा रगतमा ग्लुकोजको मात्रा लगायत मानसिक अवस्था सुधार्न पनि मद्दत गर्छ । उचित निद्राले उच्च रक्तचाप नियमन गर्नुका साथै मुड बुस्टर पनि गर्छ ।
जीवनशैली परिवर्तन
स्वस्थ आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र ध्यान जस्ता जीवनशैलीका विकल्पले मधुमेह र मानसिक स्वास्थ्यलाई सुधार गर्न मद्दत पुर्याउन सक्छ ।
औषधिको प्रयोग
आवश्यक परेको खण्डमा चिकित्सकले मधुमेह र मानसिक स्वास्थ्यका लागि उपयुक्त औषधि सिफारिस गर्न सक्छन् । औषधिको उपयोगले रोगलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
प्रतिक्रिया 4