+
+

तमानखोलामा जनप्रतिनिधिले लगाएको ताला प्रहरीको सहयोगमा खोलियो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १६:२२

७ माघ, पोखरा । बागलुङको तमानखोला गाउँपालिकाले पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेको विरोधमा केही जनप्रतिनिधिले लगाएको ताला प्रहरीको सहयोगमा शनिबार खोलिएको छ ।

छलफलबिना ताला खोलिएको भन्दै असन्तुष्ट पक्ष नेकपा माओवादी, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।

२९ पुसमा बसेको तमानखोला गाउँपालिकाको गाउँसभाले बागलुङ नगरपालिकामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउन १४ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । विपी स्मृति भवनको नामबाट बागलुङ नगरपालिकामा कांग्रेसले बनाउन लागेको पार्टी कार्यालयलाई गाउँपालिकाबाट बजेट दिइएको थियो ।

एउटा पालिकाको बजेट अर्को पालिकामा बन्ने भवनका लागि छुट्याइएपछि नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले माघ ४ गते तमानखोला गाउँपालिकामा तालाबन्दी गरेका थिए । उक्त ताला शनिबार प्रहरीको सहयोगमा खोलिएको हो ।

आफूहरुसँग छलफल नगरी ताला खोलिएको भन्दै नेकपा माओवादीसहित ३ दलले संयुक्त विज्ञप्ति जारी थप आन्दोलन गर्ने बताएका हुन् । ‘आज (आइतबार) बैठक बोलाइएको थियो । तर, उहाँहरुले आफ्नो अडान छोड्नुभएन, हामीसँग विरोध सभा र पालिका घेराउबाहेक अर्को उपाय रहेन’, तमानखोला–४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले भने ।

भवनका लागि छुट्याइएको बजेट फिर्ता गर्ने निर्णय नहुँदासम्म आफूहरुले आन्दोलन जारी राख्ने श्रीपालीले बताए । ‘हामीले राजनीतिक हल खोजेको थियौं । प्रमुखहरु कानुनी बाटोमा जानुभयो । यसले दीर्घकालीन समाधान दिँदैन,’ उनले भने ।

गाउँसभामा भवन निर्माणका लागि सहयोग गर्ने प्रस्ताव पेश भएपछि माओवादीका गाउँसभा सदस्यहरुले विरोध जनाएका थिए ।

तर, निर्णयमा फरक मत लेख्न नदिई पारित भएको घोषणा गरेर गाउँसभा अन्त्य गरिएको माओवादी केन्द्रका जनप्रतिनिधिको भनाइ छ ।

तमानखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसका २३ जना र माओवादी केन्द्रका ११ जना जनप्रतिनिधि छन् ।

हेर्नुहोस् तीन राजनीतिक दलको संयुक्त विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?