+
+

नोक्सानीमा रहेको तामाकोशीका सञ्चालकको जम्बो टोली अष्ट्रेलिया भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते २३:५९

९ माघ, काठमाडौं । ६ अर्बभन्दा बढी सञ्चित नोक्सानीमा रहेको माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको सञ्चालक समिति (बोर्ड) को पदाधिकारीहरुको जम्बो टोली अष्ट्रेलिया भ्रमणमा गएको छ ।

नेपाल विद्युत प्राधिकरण अन्तरगतको कम्पनीको बोर्डका ९ जना पदाधिकारी अष्ट्रेलियामा रिफ्रेसमेन्ट भ्रमणमा निस्किएका हुन् । यो भ्रमणका लागि सञ्चालक समितिले वार्षिक बजेटबाटै भ्रमणको बजेट स्वीकृत गरेको थियो । यो जनताबाट सेयर लगानी समेत उठाएर ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना बनाएको पब्लिक कम्पनी हो ।

करिब ५० लाखभन्दा बढी कम्पनीबाटै खर्च गर्ने गरी शनिबार अष्ट्रेलिया पुगेका उनीहरु करिब १० दिनको भ्रमणपछि नेपाल फर्किनेछन् । सञ्चालक समितिका वैकल्पिक सदस्य रहेका कर्मचारी सञ्चय कोषका कायम मुकायम मुख्य प्रवन्धक दर्शन भट्टराईसहित सदस्यरहेका विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरु रामजी भण्डारी, लोकहरि लुइँटेल र मदन तिम्सिना पनि अष्ट्रेलिया भ्रमणमा छन् ।

सदस्यहरु सिर्जना सुवेदी, हरिप्रसाद भुर्तेल, दिपक कार्की पनि टोलीमा छन् । स्थायी आमन्त्रित सदस्य रहेका राष्ट्रिय बीमा संस्थानका व्यवस्थापक भोलानाथ घिमिरे र नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल पनि अष्ट्रेलिया गएको टोलीमा छन् ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष रहेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सदस्य रहेकी नेपाल टेकिलमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी र राजन श्रेष्ठ भने अष्ट्रेलिया गएनन् ।

आर्थिक वर्ष २०७९/८० सम्मको अपर तामाकोशी हाइड्रोपावर कम्पनी ७ अर्ब २४ करोड ८३ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको थियो । १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित नोक्सानी बढ्दै जाँदा प्रतिसेयर नेटवर्थ ३१ रुपैयाँ ५६ पैसामा झरेको थियो ।

गत आर्थिक वर्षमा मात्रै कम्पनीले ४ अर्ब ८ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । विद्युत बिक्रीबाट ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले निर्माणको ढिलाइका कारण लागत बढ्दा प्रतिफल दिन नसक्ने अवस्था बनेको हो ।

कम्पनीले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा करिब १ अर्ब ७३ लाख नाफा कमाएको थियो । असोजम्म कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ७१ करोड ५८ लाख आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५६ करोड १८ लाखको विद्युत बिक्री गरेको थियो । प्रथम त्रैमासको नाफाले सञ्चित नोक्सानीमा केही घटेको छ । असोजमा आर्जन गरेको नाफाले कम्पनीको सञ्चित घाटा ६ अर्ब २४ करोड १० लाखमा झरेको छ ।

कम्पनी सञ्चित नोक्सानीमा चलिरहे पनि सञ्चालक समिति सदस्यहरुले कम्पनीबाट विभिन्न सुविधा लिने क्रम ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरण मातहतका कम्पनीहरुमा व्याप्त छ ।

वार्षिक बजेटमा नै अवलोकन भ्रमणका नाममा कार्यक्रम राख्न लगाउने र नराखे बजेट नै पास गर्न आनाकानी गर्ने लगायतका कारण व्यवस्थापकहरुले यस्तो कार्यक्रा राखेर बजेट बनाउने गरेका छन् । ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरण दुबै अवलोकन भ्रमणका नाममा जथाभावी खर्च गर्ने विकृति रोक्न असफल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?