+
+

कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउन जापानसँग ३१ अर्ब ऋण लिइने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १७:४३

९ माघ, काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।

काठमाडौंको ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनिरहेको कोटेश्वर चोकको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले २०७६ मा गरेको अध्ययनका आधारमा सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने प्रक्रिया अघि बढाएको हो ।

सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन ।

अब सरकारले जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी जापानसँग ऋण सम्झौता गर्नेछ ।

तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने र कोटेश्वर चोक छल्ने गरी त्रिभुवन विमानस्थलमुनि दुईतर्फी सुरुङ बनाउन ऋण लिन खोजिएको सडक विभागको विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसीले बताए ।

जैसीका अनुसार मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बन्ने छ । जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बन्नेछ । यो सुरुङ विमानस्थलको रनवे–सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दामुनि खनिनेछ ।

सुरुङले रन–वे तर्फको भाग छुने छैन । तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ । यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइनेछ । सुरुङ खन्न दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले केही शर्तहरू राखेको समेत उनले बताए ।

कोटेश्वरमा बिहान–बेलुकीको पिक आवरमा यहाँ यातायात साधनहरू घण्टौं जाममा रोकिनुपर्ने अवस्था छ । विभागका उपमहानिर्देशक जैसीका अनुसार यो परियोजना तयार भएपछि चक्रपथ र अरनिको राजमार्गको जडिबुटी–कोटेश्वर खण्ड आवतजावत रोकावटरहित हुने जाइकाको निश्कर्ष छ ।

सन् २०१६ मा नागढुंगा सुरुङमार्गपछि सूर्यविनायक–धुलिखेल १६ किलोमिटर सडकखण्ड विस्तारको परियोजनामा नेपालले जाइकाको लगानी प्रस्ताव अस्वीकार गरको थियो । त्यसपछि जापान सरकारले नेपालका ठूला सडक परियोजनामा लगानी गरेको छैन ।

अब विमानस्थल क्षेत्रको मुनिबाट सुरुङमार्गसहित दुबै मुखतर्फको फ्लाइओभर बनाउने परियोजनामा जापान सरकारले लगानी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?