+
+

भलिबलकी साहसी निरुता

नमिता दाहाल नमिता दाहाल
२०८० माघ ११ गते १२:००

११ माघ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्नाले २०७६ सालमा भलिबल खेल्न चटक्कै छाडिन् । २०७३ मा त्रिभुवन आर्मी क्लबमा आवद्ध भएकी उनी राजीनामा दिएर घर (दार्चुला) फर्किएकी थिइन् ।

जतिबेला उनले आर्मीसँगै भलिबल छाडिन्, त्यतिबेला उनले भलिबलमै फर्किउँला भनेर सोचेकै थिइनन् । ‘अब भलिबल खेल्दिनँ भन्ने सोचमा रहेर नै आर्मी छोडेको थिएँ’ अनलाइनखबरसँग उनले विगत सम्झिइन् ।

झण्डै ५ महिना घर बस्दा साथीभाइ र परिवारले हौसला दिएपछि क्लबबाट नखेले पनि राष्ट्रिय टिमबाट खेल्ने निचोडमा पुगिन् । त्यहीबेला बंगलादेशमा हुने एभीसी सेन्ट्रल जोन महिला भलिबलका लागि प्रारम्भिक टोलीमा राख्दै नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा बोलायो ।

सरस्वती चौधरी घाइते भएपछि संघले निरुतालाई टिममा बोलाएको थियो । बन्द प्रशिक्षणपछि उनी टिममा मात्रै परिनन्, एभीसी सेन्ट्रल जोनमा माल्दिभ्सविरुद्ध डेब्यू गरिन् । नेपालले एभीसी सेन्ट्रल जोन भलिबलकै उपाधि जित्यो । त्यसयता निरुताले कहिल्यै पछाडि फर्किनु परेको छैन ।

दार्चुला नौगाड गाउँपालिका ६, धुलिगडा खेडाकी निरुता अहिले नेपाली राष्ट्रिय टिमकी उत्कृष्ट स्पाइकरमध्ये एक हुन् । पछिल्लो एक महिनाभित्र भएका दुई राष्ट्रिय भलिबल प्रतियोगितामा उनले त्यसलाई प्रमाणित गरेकी छिन् ।

पुसमा हेटौंडामा भएको केशवलाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगितामा पनि निरुता उत्कृष्ट नै बनेकी थिइन् । गत साता पोखरामा भएको चौथो टाइगर कप भलिबलमा महिलातर्फ एपीएफलाई स्वर्ण जिताउन उत्कृष्ट प्रदर्शन गरिन् ।

टाइगर कपको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण जित्दा उनी उत्कृष्ट बनेकी थिइन् । उनै निरुता नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्डको पिपुल च्वाइस अवार्डका लागि मनोनयनमा पनि परेकी छिन् ।

खेल जीवनमा निकै उतारचढाव भोगेको बताउने निरुताले आफ्नो नामको अगाडि साहसी थपेकी छिन् । ‘विगत फर्केर हेर्दा आफू निकै साहसी भएको अनुभव हुन्छ’ उनी भन्छिन्, ‘त्यसैले म अब- साहसी निरुता ।’

खाली खुट्टाबाट सुरु भएको खेल यात्रा

विद्यालयस्तरमा व्यक्तिगत विधाका खेलमा उनलाई नकै रुचि लाग्थ्यो । २०६८ सालमा कक्षा ७ मा पढ्दा राष्ट्रपति रनिङ शिल्ड खेलिन् । उनले हाइजम्प, लङजम्प तथा दौडमा भाग लिन मन पराइन् । ‘स्कुलमा हुँदा शुक्रबार एकदिन मात्र खेल्न पाइथ्यो, जसमा मैले धेरै जसो एथ्लेटिक्समा ध्यान दिन्थें’, उनले भनिन् ।

जिल्लास्तरीय खेल हुन थालेपछि भने उनले भलिबल पनि खेल्न थालिन् । १३/१४ वर्षको उमेरकी किशोरी आफ्नै उमेरका केटाहरूसँग खेल्दा केटाहरूभन्दा अब्बल देखिइन् । जसमा उनका एथ्लेटिक्सका शिक्षक निल अवस्थीको नजर परेको थियो ।

‘मलाई भलिबलमा खासै रुचि थिएन तर मेरो रनिङका प्रशिक्षक निल गुरुले तिमी राम्रो भलिबल खेल्न सक्छ्यौ भन्नुभयो’ उनी सम्भिmन्छिन्, ‘अनि मैले भलिबल धेरै खेल्न थालेकी हुँ ।’

२०७२/७३ सालमा दार्चुलामा जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्डमा छनोट भएकी उनले त्यही वर्ष एसईई परीक्षा सकेपछि प्रदेशमा खेल्न थालिन् ।

सुदूरपश्चिम प्रदेशको भलिबल टिममा पहिलो पटक खेल्न आउँदा वैकल्पिक खेलाडी थिइन् । उनी त्यतिबेलासम्म जुत्ताविना नै खेल्थिन् । धुले चौरमा उनी जुत्ताविनै स्पाइक हान्थिन् । ‘मलाई जुत्ता लगाउन आउँदैनथ्यो । म खाली खुट्टा खेल्थें, पहिला रनिङ गर्दा खाली खुट्टा दौडेको बानी भएर होला’, उनले पहिलो राष्ट्रिय प्रतियोगिताको अनुभव सुनाइन् ।

प्रदेशमा राम्रो खेलिरहेकी निरुताको खेलमा तत्कालीन आर्मी टिममा राष्ट्रिय भलिबल प्रशिक्षक रहेका जगदीश भट्टको नजर पर्‍यो । उनैले निरुतालाई आर्मीको टिममा लिएर आएका थिए । जहाँ उनले ३ वर्ष खेलिन् ।

आर्मीबाट राजीनामा दिएर घर गएकी उनी एभीसी सेन्ट्रल जोन भलिबलपछि एपीएफमा आबद्ध भइन् । ‘मैले आर्मीमा हुँदा नै एपीएफको भर्ना खुलेको थाहा पाएर फारम भरेकी थिएँ’ उनले भनिन्, ‘नाम निस्किएपछि क्लबबाट पनि खेल्न थालें ।’ त्यसयता प्रायः सबै प्रतियोगिता खेलेकी छिन् ।

२०७६ सालमा राष्ट्रिय टिममा डेब्यू गरेकी उनले हालसम्म ४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि खेलेकी छिन् । चीनमा भएको एसियन गेम्स उनले खेलेको अन्तिम प्रतियोगिता हो । ‘राष्ट्रिय झण्डा बोकेपछि धेरै भावनाहरू जोडिंदो रहेछ’, क्लब र देशका लागि खेल्दाको अनुभव सुनाइन्, ‘राष्ट्रिय टिमको जर्सी लगाएर खेल्दा छुट्टै जोश आउँदो रहेछ ।’

नेपाली खेलाडी किन कमजोर ?

दक्षिण एसियामा नेपालका लागि धेरै खेलमा जस्तै भलिबलमा पनि भारत नै तगारो बन्ने गरेको छ । पछिल्लो पटक असोजमा एसियाली खेलकुदको भलिबलमा नेपाल भारतसितै पराजित भयो । त्यसअघि गत जेठमा आफ्नै घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसित ३-१ को सेटमा पराजित भयो । १३औं सागको भलिबलमा नेपाल जित नजिक पुगेर पनि भारतसित पाँचौं सेटमा पराजित भएको थियो ।

काभा महिला भलिबल च्यालेञ्ज कपमा समूह चरणमा भारतसँग हारे पनि किर्गिस्तान र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । काजकस्तानसँग ३-२ को सेटमा हारेको नेपाल उज्वेकिस्तानलाई ३-१ ले हराउँदै तेस्रो भयो ।

यस्ता ठूला खेलहरूमा अनुभवको कमिकै कारण नेपाल पछाडि पर्ने गरेको निरुताको अनुभव छ । ‘हामीले कुन देशले कस्तो खेल्छ भनेर त उनीहरूसँग खेलेर थाहा पाउने हो’ उनी भन्छिन्, ‘तर उनीहरूसँग हामीले खेल्ने भनेकै प्रतियोगिता हुँदा हो, त्यसरी त के नतिजा आउँछ र ?’

काभा महिला भलिबल च्यालेञ्ज कपअघि मैत्रीपूर्ण खेल खेल्न पाएको भए नेपालको नतिजा फरक पर्ने उनको दाबी छ । ठूला प्रतियोगिताअघि मैत्रीपूर्ण खेलहरू आयोजना हुनुपर्नेमा जोड दिंदै उनले भनिन्, ‘हामीले मैत्रीपूर्ण खेल खेल्न पाएको खण्डमा राम्रो तयारी सहित नतिजा दिन सक्छौं ।’

यसका साथै खेलाडीहरूको वृत्ति विकासमा त्यति नै ध्यान दिनुपर्ने निरुता बताउँछिन् । ‘नेपालमा भलिबल खेलेर सबैथोक गर्छु भन्न सक्ने अवस्था छैन’ पाँच वर्षयता राष्ट्रिय टिममा खेलिरहेकी निरुता भन्छिन्, ‘विभागीय टिम बाहिर रहेर भलिबल खेल्दा गाह्रो हुन्छ । खेल्ने सामान (किट) किन्न पनि पुग्दैन ।’

एपीएफकी जागिरे उनी अघि भन्छिन्, ‘अहिले विभाग बाहिरका पनि केही खेलाडी राष्ट्रिय टिममा खेल्नुहुन्छ उहाँहरू कसरी खेल्नुहुन्छ जस्तो लाग्छ ।’

त्यसका बाबजुद उनको भलिबलको उडान कायमै छ । गत अक्टोबरमा पहिलो पटक हङकङमा आयोजित दुई प्रतियोगिता खेलेकी उनी उत्कृष्ट खेलाडी बनेकी थिइन् । विदेशी लिग पनि खेल्ने अवसरको पर्खाइमा रहेकी उनले संवादको अन्त्यमा भनिन्, ‘हङकङ गएर मलाई निकै आत्मविश्वास बढेको अनुभव भयो । अब बिस्तारै विदेशी लिगहरू पनि खेल्ने हो ।’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?