+
+

आहारारा गोल्डकपमा ‘अभागी’ मच्छिन्द्र

यस पटक मच्छिन्द्रले वर्तमान राष्ट्रिय टिम देखि राष्ट्रिय टिमबाट खेलिसकेका आधाजसो खेलाडी टिममा राखेको थियो । तर मैदानमा भने सोही अनुसारको प्रदर्शन गर्न सकेन ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १२ गते ९:०२

१२ माघ, काठमाडौं । मच्छिन्द्र फुटबल क्लब दुई पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली हो । पछिल्लो समय स्टार खेलाडीहरु अनुबन्ध गर्ने टोलीमा मच्छिन्द्र सबैभन्दा अगाडि आउँछ ।

२०७६ सालमा मच्छिन्द्रले घरेलु फुटबलका नाम चलेका खेलाडीहरु अनुबन्ध गरेर पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्यो । त्यही टिमले त्यसपछि भएको २०७८ सालको ए डिभिजन लिगको उपाधि पनि जित्यो ।

२०७९ सालमा भने मच्छिन्द्र लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड बाधक बन्यो । गत सिजन मच्छिन्द्र लिगमा उपविजेता बनेको थियो ।

तर मोफसलकै चर्चित र प्रतिष्ठित मानिने आहा रारा पोखरा गोल्डकपमा भने मच्छिन्द्र अभागी टिम बनेको छ । ए डिभिजन च्याम्पियन बनेर आउँदा होस् या विदेशी प्रशिक्षक राख्दा  होस् या बलियो टिम बनाएर ल्याउँदा होस्, मच्छिन्द्रले अहिलेसम्म आहाराराको उपाधि जित्न सकेको छैन । यतिसम्म कि मच्छिन्द्रले फाइनल सम्मको यात्रा समेत तय गर्न सकेको छैन ।

हाल पोखरामा चलिरहेको २३औं आहा रारा पोखरा गोल्डकपमा पनि उपाधि जित्ने लक्ष्य बनाएर बलियो टिम बनाएको मच्छिन्द्रपहिलो खलेमै जावलाखेल युथ क्लबसँग १-० ले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरियो । यस पटक मच्छिन्द्रको टिममा हाल राष्ट्रिय टिममा रहेका सनिश श्रेष्ठ, मनिष डाँगी र उत्सव राई सहित राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर कप्तान विशाल श्रेष्ठ, विमल घर्ती मगर, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र सुभाष गुरुङले पहिलो रोजाइमा खेलेका थिए । तर उनीहरुले टिमलाई जिताउन सकेनन् ।

खेलपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पनि मच्छिन्द्र पोखरामा ‘अनलक्की’ भएको स्वीकार गरे । ‘हामी आहारारा खेलदेखि नै  अनलक्की छौँ । हाम्रो लागि यो अनलक्की टुर्नामेन्टमै पर्छ,’ प्रशिक्षक न्यौपानेले खेलपछि पोष्टम्याच कन्फ्रेरेन्समा भने, ‘तैपनि  हामी तयारीका सथ आएका थियौँ तर  अनलक्की भयौँ । अर्को पटक राम्रो भएर आउँछौँ ।’

मच्छिन्द्रले खेलमा आफ्नै गल्तीमा गोल बेहोरेको थियो भने गोल गर्ने प्रयासमा पनि अभागी बनेको थियो ।

यस पटक मच्छिन्द्रले वर्तमान राष्ट्रिय टिम देखि राष्ट्रिय टिमबाट खेलिसकेका आधाजसो खेलाडी टिममा राखेको थियो । तर मैदानमा भने सोही अनुसारको प्रदर्शन गर्न सकेन । ‘समग्रमा राम्रै खेलेको हो । कोअर्डिनेनस भएन । अली ग्यापपछि खेलाडीहरु भेट भएर खेलेकाले फिटनेसमा पनि समस्या भयो । गेम हो हार-जित हुन्छ,’ प्रशिक्षक न्यौपानेले भने ।

जावलाखेलको लागि भने यो जित मिहिनेतको फल जस्तै देखियो । जावालखेलको टोली खेल हुने अघिल्लो दिन बुधबार मात्रै बसको यात्रा गरेर पोखरा आइपुगेको थियो । अब दुई खेलाडी त खेलको दिन बिहीबार बिहान मात्र टिममा सामेल भएका थिए । कोही खेलाडी इलाममा खेलेर आएका थिए । टिमले एकजुट भएर राम्रोसँग ट्रेनिङ पनि गर्न पाएको थिएन । तैपनि नतिजा भने आफ्नो पक्षमा ल्याउन सफल भयो । ‘आजको गेममा राम्रो भयो । सँगै ट्रेनिङ पनि गर्न पाएका थिएनौँ तर केटाहरुले मिहिनेत गरे, ‘ जावलाखेलका प्रशिक्षक नरेश थापाले भने, ‘खेलाडीले रेस्ट पाछैनन् धन्न खेलेका छन् । कसरी खेल्यो होला जस्तो लाग्छ ।’ थापाले जति रेस्ट गर्‍यो उति राम्रो खेल हुने बताए ।

पोखरा रंगशालमा हिसुब थपलियाले ३८औं मिनेटमा गरेको गोल नै जावलाखेललाई जित दिलाउन निर्णायक बन्दा मच्छिन्द्र भने पहिलो खेलपछि नै घर फर्कने भएको हो ।

मच्छिन्द्रले खेलमा आफ्नै गल्तीमा गोल बेहोरेको थियो भने गोल गर्ने प्रयासमा पनि अभागी बनेको थियो । ३८औं मिनेटमा मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ अघि बढेको मौकामा जावलाखेलका हिसुबले बल पेनाल्टी बक्समा अगाडि बढाउँदै खाली पोष्टमा आरामले गोल गरेका थिए ।

दोस्रो हाफमा मच्छिन्द्रले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । ४८औं मिनेटमा मच्छिन्द्रले पेनाल्टी बक्सको थोरै बाहिर फ्रिकिक पाएको थियो । विमल घर्तीमगरले प्रहार गरेको उक्त प्रहार क्रस बारमा लागेर फर्किँदा मच्छिन्द्र अभागी बन्यो ।

हारको श्रृङ्खला

यसअघि २०७७ सालमा ए डिभिजन लिगको च्याम्पियनको हैसियतमा आहारारा खेलेको मच्छिन्द्र पहिलो चरणमै अफ्रिकन रुट्ससँग २-१ ले पराजित हुँदै बाहिरिएको थियो । यस्तै २०७८ सालमा पहिलो खेलमा संकटालाई ४-१ ले पराजित गरे पनि सेमिफाइनलमा एपीएफसँग ३-१ ले पराजित हुँदै बाहिरिएको थियो । गत वर्ष २०७९ मा मच्छिन्द्र पहिलो खेलमै चर्च ब्वाइज युनाइटेडसँग ३-१ ले पराजित हुँदै घर फर्किएको थियो ।

त्यसअघि २०६९ मा पहिलो पटक खेल्दा पहिलो खेलमै सहारा क्लबसँग १-० ले पराजित भएको मच्छिन्द्र २०७० मा स्वीडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा मैदान उत्रेको थियो । क्वाटरफाइनलमा सरस्वती युथ क्लबलाई ३-१ ले हराएर सेमिफाइनल पुगेको मच्छिन्द्र फेरी सहारा क्लबसँगै पराजित भयो । यस पटक भने मच्छिन्द्र ट्राइबेकरमा पराजित हुँदै घर फर्केको थियो ।

विदेशी खेलाउन नपाउँदा घाटा

मच्छिन्द्रले पोखरा आउनुअघि मनिष डाँगी, आशिष चौधरी र सेसेहाङ आङदम्बेलाई टिममा भित्र्याएको थियो भने विदेशी खेलाडीहरु ओमालाजा करिम, भारतीय दयानन्द एलाङबाङ लगायत खेलाडी टिममा समावेश गरेको थियो ।

तर अन्तिम सममया सेसेहाङ र आशिष खेल्न आएनन् भने विदेशी खेलाडीहरु पनि मच्छिन्द्रले खेलाउन पाएन । वर्क परमिट नभएकोले मच्छिन्द्रले विदेशी खेलाडी खेलाउन नपाएको प्रशिक्षक न्यौपानेले बताए ।

जसले गर्दान मुख्य पोजिसन सेन्टर ब्याकमा नियमित खेलिरहेको ओमोलाजा करिमले जावलाखेल विरुद्ध खेल्न पाएनन् । ‘विदेशी खेलाडीको वर्क परमिटले गर्दा खेल्न पाएनन् । आयोजकले रुल अनुसार वर्क परमिट चाहिन्छ । हामीले अन्तिम समयसम्म पनि कुर्‍यौँ नभएपछि विदेशी ड्रप गरेर नेपाली खेलायौँ । नेपाली खेलाडी पनि केहीले सोचे अनुसार खेल्न सकेनन्,’ मच्छिन्द्रको हारको एउटा कारण विदेशी खेलाडी पनि खेलाउन नपाउनु रहेको प्रशिक्षक न्यौपानेले बताए । ‘निश्चित रुपमा भन्नुपर्दा जुन पोजिसनमा हामी बलियो थियौँ त्यसमा विदेशी खेलाडी थिए । मुख्य खेलाडी करिम नहुँदा त्यहाँ ल्याक देखियो र गोल पनि खान पुग्यौँ,’ उनले भने ।

अहिले तत्काल ए डिभिजन लिग हुने सम्भावना नरहेकाले मच्छिन्द्रले अबको तीन महिना मोफसललाई नै टार्गेट गरेर टिम बनाएको छ । त्यसैले अन्य प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ । ‘हामीले खेलेको पहिलो टुर्नामेन्ट हार्‍यौँ । अब ३ महिना मोफसलमा खेल्ने टार्गेट छ । कमी कमजोरीहरु सुधार गरेर अन्य प्रतियोगितामा राम्रो खेल्छौँ,’ प्रशिक्षक न्यौपानेले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?