+
+

आहारारा पोखरा गोल्डकपको फाइनलमा गुरु–चेलाको भिडन्त

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १९ गते १४:२४

१९ माघ, पोखरा । विक्रम लामाले खेलाडी जीवनको आफ्नो अन्तिम खेल प्रशिक्षक मेघराज केसीको मातहतमा थ्रीस्टार क्लबबाट शहीद स्मारक ए डिभिजन लिगमा खेलेका थिए ।

त्यसपछि आफ्नो बुट थन्काए । अहिले पोखरामा जारी २३औं आहारारा गोल्डकपमा विक्रम थ्रीस्टारकै प्रशिक्षकको भूमिकामा छन् ।

थ्री स्टारको प्रशिक्षण सम्हालेको पहिलो प्रतियोगितामा विक्रमलै आफ्नो टिमलाई फाइनल पुर्‍याए ।

र, भोलि शनिबार पोखरा रंगशालामा हुने फाइनलमै उनी आफ्नै गुरु मेघराज केसीको प्रशिक्षणमा रहेको त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धामा उत्रँदैछन् ।

खेलाडी जीवनमा विक्रम एकदमै शालिन थिए । उनले आफ्नो करिअरको दशकभन्दा बढी समय थ्री स्टारबाटै खेले । त्यसमा पनि धेरै समय प्रशिक्षक केसीको प्रशिक्षणमा खेले ।

खेलाडीको रुपमा विक्रमले थ्री स्टारबाट २०७५ सालमा आहाराराको उपाधि जितेका थिए । अब उनी प्रशिक्षकको भूमिका पनि त्यसको निकै नजिक पुगेका छन् ।

त्यसका लागि गुरुको रणनीतिलाई पन्छाउनुपर्ने छ । ‘मेघराज हिजो पनि मेरो गुरु र आज पनि मेरो गुरु हुनुहुन्छ’ शुक्रबार प्रिम्याच कन्फेरेन्समा विक्रमले भने, ‘हिजो उहाँको नेतृत्वमा खेलेँ, अब मैदान बाहिर बसेर उहाँसँग खेल्न उत्साहित छु ।’

भोलि फाइनल खेल्दा मेघराज केसीबाट सिकेका कुरालाई मैदानमा लागू गर्ने प्रयास गर्ने उनले बताए ।

उनलाई टिमको पनि साथ छ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा हाल थ्री स्टारका खेलाडी रहेका विराज महर्जनले विक्रमको प्रशिक्षणमा खेल्दा रमाइलो भइरहेको सुनाए ।

विराज सिनियर खेलाडी भए पनि खेलको अन्तिमतिर मात्र मैदान प्रवेश गर्दै आएका छन् । सिनियर खेलाडीको रुपमा आफूले मेन्टर रुपमा टिमलाई साथ दिइरहेको उनले बताए, ‘हामी सँगै खेलेका साथी हौं । अहिले उहाँ प्रशिक्षकको रुपमा अघि बढ्नु भएको हो, युवा खेलाडीहरुले पनि राम्रोसँग साथ दिएका छन् ।’

त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले आफ्नै पूर्व क्लबविरुद्ध खेल्न उत्साहित रहेको बताए ।

थ्री स्टारमा युवा खेलाडीहरु धेरै रहेको र विक्रमको प्रशिक्षणमा राम्रो गरिरहेको भन्दै उनले भने, ‘आफ्नो पूर्व क्लबविरुद्ध फाइनल हुँदैछ, म पनि उत्साहित छु ।’

केसीले यसअघि थ्री स्टारको प्रशिक्षकका रुपमा दुई पटक आहारारा गोल्डकपको उपाधि जितेका थिए ।

आर्मीले भने अहिलेसम्म चार पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन । यस पटक आफ्नै पूर्व क्लबलाई हराउँदै आर्मीलाई पहिलो उपाधि दिलाउने प्रशिक्षक केसीको लक्ष्य छ ।

‘यो पालि जित्नका लागि आएका हौं, जित्न सक्षम पनि छौं’ केसीले भने, ‘व्यक्तिगत रुपमा भन्दा मैले थ्री स्टारमा प्रशिक्षक हुँदा दुई पटक उपाधि जितिसकेको छु र अब आर्मीबाट जित्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य छ ।’

आर्मीका कप्तान भरत खवासले पनि यस पटक जसरी भए पनि उपाधि जित्ने लक्ष्य रहेको सुनाए । ‘हामीले पहिले फाइनल हार्दा अली मिहिनेत नपुगेको जस्तो थियो । यस पटक अझ धेरै मिहेनत गरेका छौं र भोलि दुई सय प्रतिशत दिनेछौं’ उनले भने, ‘पोखरेली दर्शकको साथ र आशिर्वाद पाउने विश्वास छ ।’

युवा खेलाडीहरुमाथि विश्वास

आहारारा खेलेका सबैजसो टिममा युवा खेलाडी धेरै थिए । फाइनल पुगेका दुवै टिमले पनि नयाँ खेलाडीलाई मौका दिइरहेका छन् ।

आर्मीका प्रशिक्षक मेघराज केसी भन्छन्, ‘आर्मीको टिममा नयाँ खेलाडीहरु छन् । उनीहरुलाई धेरै अवसर दिँदै भविष्यमा एउटा परिपक्क र बलियो टिम बनाउने लक्ष्य छ ।’

प्रतिस्पर्धी टिम थ्री स्टारमा पनि युवा खेलाडीहरुले राम्रो सम्भावना देखाएको उनले बताए ।

थ्रीस्टारका प्रशिक्षक विक्रमले अघिल्ला खेलमा भएका कमजोरीलाई सुधार गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताए ।

उनले अघि भने, ‘अघिल्लो खेलहरुमा भएको कमजोरी सुधार गर्दै फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने लक्ष्य छ ।’

थ्री स्टार र आर्मीको फाइनल यात्रा

थ्री स्टा र आर्मी दुवैले प्रिक्वाटरफाइनलदेखि खेल्दै फाइनल यात्रा तय गरेका हुन् । दुवैले समान ३ खेल खेलेका छन् । जसमा दुवैले एक एक खेल अतिरिक्त समयमा जितेका थिए ।

थ्री स्टारले उदघाटन खेलमै आयोजक सहारा क्लबलाई २–१ ले पराजित गरेको थियो । उक्त खेलमा एक गोलले पछि परेर पनि थ्री स्टारले पुनरागमन गर्दै जित निकालेको थियो ।

सेमिफाइनलमा भुटानी लिग च्याम्पियन पारो एफसीलाई अतिरिक्त समयमा २–० ले हराएको थ्री स्टारले सेमिफाइनलमा ललितपुरे प्रतिद्वन्द्वी जावालखेल युथ क्लबलाई १–० ले पराजित गर्दै छैटौं पटक फाइनल पुगेको हो ।

आर्मीले पहिलो खेलमा नवलपरासीको राइजिङ स्टारलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा साविक विजेता संकटा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनलमा आर्मीले चर्च ब्वाइजलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पाँचौ पटक फाइनल पुगेको हो ।

फाइनलसम्म आइपुग्दा आर्मीले ६ र थ्री स्टारले ५ गोल गरेका छन् भने दुवैले समान एक गोल बेहोरेका छन् ।

फाइनल थ्री स्टारले जितेमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबसँगै सर्वाधिक ६ पटक उपाधि जित्ने कीर्तिमान बराबरी गर्नेछ । थ्री स्टारले २०६३, २०७७, २०६९,२०७१ र २०७५ मा उपाधि जितेको थियो । ६ पटक फाइनल खेलेको थ्री स्टार २०७४ मा भने नेपाल पुलिससँग फाइनलमा पराजित भएको थियो ।

आर्मी चार पटक फाइनल खेल्दा चारै पटक पराजित भएको छ । पहिलो पटक २०६५ सालमा फाइनल पुगेको आर्मी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । त्यसपछि २०६६ मा पनि पुलिससँगै फाइनलमा पराजित भएको आर्मी २०७२ सालमा मनाङ मर्स्याङ्दीसँग फाइनलमा पराजित भएको थियो । यस्तै आर्मी पछिल्लो पटक २०७५ सालमा फाइनल पुग्दा थ्री स्टारसँग नै पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

थ्री स्टार र आर्मीबीच आहारारा पोखरा गोल्डकपमा अहिलेसम्म त्यही एक पटक मात्र खेल भएको छ । उक्त खेलमा आर्मीले थ्री स्टार विरुद्ध निर्धारित र अतिरिक्त समयमा दुवै पटक अग्रता लिएर पनि जोगाउन सकेन र अन्तिममा पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?