+
+

पेनाल्टी सुटआउटका नायक युनेश

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १५ गते २०:२२

१५ माघ, पोखरा । पेनाल्टी सुटआउटमा प्राय: नायक बन्ने अवसर गोलकिपरलाई नै हुन्छ । प्रशिक्षकले पेनाल्टी रोक्न माहिर मानिएका किपरलाई अन्तिम समयमा पोस्टको जिम्मेवारी पनि दिन्छन् ।

आहारारा पोखरा गोल्डकपमा पनि यस्तै भयो । १२० औं मिनेटमा मैदान प्रवेश गरेका युनेश चौधरीले मनाङ मर्स्याङ्दीका रणदीप पौडेलको पेनाल्टी रोक्दै आफू नायक बने र जावलाखेललाई सेमिफाइनलमा पुर्‍याए । युनेशले त्यसअघि मनाङका निशान लिम्बु र सुरज सिंहको प्रहार पनि रोकेका थिए ।

मनाङका लागि टाइब्रेकरमा नवौं प्रहार गरेका रणदीपको बल युनेशले रोकेपछि सर्वाधिक ६ पटकको च्याम्पियन मनाङ क्वार्टर फाइनलबाटै घर फर्कियो ।

जावालखेलका प्रशिक्षक नरेश थापाले ३० मिनेटको अतिरिक्त समयमको पनि इन्जुरी टाइममा पहिलो रोजाईँको गोलकिपर अनिश देउलाको स्थानमा युनेशलाई मैदान प्रवेश गराएका थिए । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा अघि बढेपछि युनेश मैदान प्रवेश गरेका थिए ।

त्यतिबेला प्रशिक्षक थापा र किपर युनेशको एउटै सोच थियो पेनाल्टी रोकेर खेल जित्ने ।’मलाई प्रशिक्षकले विश्वास गरेर पठाउनुभयो । जसरी भए पनि हामीले जित्नुपर्छ भन्ने थियो,’ युनेशले खेलपछि अनलाइनखबरसँग भने, ‘मैले ३ वटा पेनाल्टी रोकेर आफ्नो टिमलाई जिताउन सकें । एकदमै खुशी लागेको छ ।’

त्यही तीन पेनाल्टी रोकेका युनेश नै खेलको म्यान अफ दि म्याच घोषित भए । जावलाखेलका प्रशिक्षक नरेश थापाले पनि प्रशिक्षणमा युनेशले राम्रो गरेको देखेर नै उनले रोक्न सक्छ भनेर अन्तिम सममया मैदान पठाएको बताए ।

‘अनिश पनि नराम्रो किपर होइन । तर युनेशले ट्रेनिङहरुमा राम्रो सेभ गरिरहेको हुन्थ्यो । त्यसैले अन्तिम समयमा पेनाल्टी रोक्नकै लागि उनलाई मैदान पठाएको थियौं,’ प्रशिक्षक थापाले अनलाइनखबरसँग भने, ‘त्यसले काम गर्न पनि सक्थ्यो नगर्न पनि सक्थ्यो । आज काम गर्‍यो । हामीले खेल जित्यौं । सफल भयौं ।’

पेनाल्टीसुटआउटमा दुवै टोलीले सुरुमा ५-५ पेनाल्टी प्रहार गर्दा ४-४ गोल भएको थियो । त्यसपछि ४ मध्ये जावालखेलले ३ पेनाल्टी गोलमा परिणत गर्‍यो भने मनाङले दुई पेनाल्टी मात्र गोल गर्‍यो । युनेशले मनाङको पछिल्लो चार मध्ये दुई पेनाल्टी रोके ।

त्यसअघि खेलको ५५औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए र टोली जित नजिक पनि पुगेको थियो । तर ८९औं मिनेटमा मनाङका राजेश परियारले बराबरी गोल फर्काए ।

घरेलु फुटबलमा यसअघि युनेशको खासै नाम सुनिएको थिएन । किनभने उनले उमेर समूहको राष्ट्रिय टिम र जावलाखेल दुवैबाट अहिलेसम्म पहिलो रोजाईँमा खेल्न पाएका छैनन् ।

बारा सिमराका १९ वर्षीय युनेशले जावालखेलका लागि खेल्न थालेको एक वर्ष मात्र भयो । उनले पछिल्लो सिजन शहीद स्मारक ए डिभिजन लिग जावलाखेलबाट खेलेका थिए ।

यस्तै यू-२० राष्ट्रिय टिममा परे पनि उनी वैकल्पिक गोलकिपरको रुपमा हुन्छन् । सन् २०२२ मा भएको साफ यू-१९ च्याम्पियनसिपमा युनेश टिममा थिए तर तेस्रो रोजाईँको किपर थिए । उनी अघि इश्वर गुरुङ र जियारथ शेख थिए । हाल जियारथ यू-१९ राष्ट्रिय टिमको कप्तान छन् र सोमबार जियारथले मनाङको गोलपोष्ट सम्हालेका थिए ।

युनेशले यसअघि रानीपोखरी कर्नर टिम आरसीटीबाट बी डिभिजन लिग खेलेका थिए । जहाँ उनी उत्कृष्ट गोलकिपर बनेका थिए ।

युनेशकै सानदार प्रदर्शनपछि जावलाखेलले आहारारा गोल्डकपमा मनाङ विरुद्ध पहिलो जित पनि निकालेको छ । १२ वर्षपछि खोलो फर्कन्छ भने जस्तै जावलाखेलले १२ वर्षपछि मनाङ विरुद्ध बदला समेत लियो । २०६८ सालमा पहिलो सहभागितामै जावलाखेल आहाराराको फाइनल पुगेको थियो । तर मनाङसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

जावलाखेलले फाइनल प्रवेशका लागि थ्री स्टार क्लबसँग १७ माघमा पहिलो सेमिफाइनल खेल्नेछ । यो ललितपुरे डर्बी खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?