+
+

माओवादी कोशीको निष्कर्ष  : कांग्रेसबाट निरन्तर धोका भयो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १८:४०

१२ माघ, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशले गठबन्धनमा नेपाली कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको छ ।

राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि बसेको प्रदेश कमिटी बैठकले कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको हो ।

बैठकले कांग्रेससँग सहकार्यका विषयमा पनि गम्भीर समिक्षा गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् ।

शुक्रबार बसेको पार्टीको छैटौं पूर्ण बैठकले कांग्रेसबाट धोका भएको निष्कर्ष निकाल्दै सहकार्यका लागि गम्भीर समिक्षा गर्नु पर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्क नेम्वाङ मिक्सोले बताए ।

‘निर्वाचनमा मुलत कांग्रेसबाट धोका भएको निष्कर्ष निकालियो,’ उनले भने,‘ यो गठबन्धनको निरन्तरता र सहकार्यका लागि गम्भीर चुनौती रहेको र आगामी सहयात्राका लागि केन्द्रसँग समन्वय गरेर निर्णय गर्ने निर्णय भयो ।’

सुनिल शर्माको चर्चा

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा सहभागि सदस्यहरुले कांग्रेसबाट निरन्तर धोका भएको र धोका खाएर सहकार्य गर्न नुहने मत राखेका थिए ।

बैठकमा कांग्रेस सांसद डाक्टर शुनिल शर्माको भूमिकाका बारेमा पनि चर्चा भयो । कांग्रेस भित्रको एउटा समूहले शर्मालाई प्रयोग गरेर कांग्रेसको भोट एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई हालेको नेताहरुको दाबी थियो ।

कांग्रेस सांसद तथा मेडिकल व्यावसायी शर्मा नक्कली सर्टीफिकेट प्रकरणमा पक्राउ परेर छुटेलगतै गठबन्धन विरोधी अभिव्यक्ती दिएर हिडिरहेका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारको आलोचना गरिरहेका शर्मा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका विरुद्ध परिचालित भएको माओवादी केन्द्रका नेताहरुले बैठकमा बताएका थिए ।

स्थानीय तहको निर्वाचनदेखि नै सहकार्यको विरुद्धमा उभिएको समूहले अहिले पनि कांग्रेस भित्र खेलेर  धोका दिएको नेताहरुको तर्क थियो । ‘कांग्रेसको एउटा समूहले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा गठबन्धन विरुद्ध उभियो, त्यहीँ समूहले गठबन्धनका विरुद्ध केदार कार्कीलाई मुख्यमन्त्री बनायो,’ बैठकमा सहभागि एक नेताले भने,‘ केदारलाई मुख्यमन्त्री बनाउँदा गठबन्धन भत्काउने उदेश्य थियो, तर सफल भएन, त्यहीँ समूह अहिले पनि हाबी भयो, माओवादीलाई हराउन सफल भयो ।’

बाहिर डाक्टर शुनिल शर्मा देखिए पनि परिचालन गर्ने टिम नै रहेको नेताहरुको दाबी थियो । कांग्रेस भित्रको गठबन्धन विरोधी समूहले माओवादी उम्मेदवार कार्कीसँगै कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पनि हराउन खोजेको बैठकमा  नेताहरुले ब्रिफिङ गरेका थिए ।

कांग्रेसबाट सिटौलाको भोट पनि क्रस भएको बताएका नेताहरुले एमालेका केही सांसदले मतदान गरेका कारण सिटौला विजयी भएको तर्क गरेका थिए ।

बैठकमा सहभागी माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बालेले पूर्व सूचना पाएर रोक्ने प्रयास गर्दा गर्दै क्षति भएको बताए । गठबन्धन विरोधी समूह संगठित रुपमा देखिएका कारण निर्वाचनमा पराजय भोगेको उनको भनाइ थियो ।

बैठकमा बोल्ने प्रदेशका नेताहरुले स्थानीय तह निर्वाचनदेखि पटक पटक कांग्रेसबाट धोका पाएको बताउँदै सहकार्य तोड्नुपर्ने तर्क गरेका थिए ।

कांग्रेसकै कारण स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचनमा निराशाजनक नतिजा आएको र प्रदेशमा निरन्तर धोका पाएको गुनासो गरेका थिए । कांग्रेसकै लागि पार्टीले पाएको सभामुख छाड्नु परेको, प्रदेश सरकारको नेतृत्व छाड्नु परेको र राष्ट्रिय सभा निर्वाचनमा पनि हार्नु परेकाले सहकार्यमा बारेमा सोच्नु पर्ने नेताहरुको भनाई थियो ।

कांग्रेससँगको सहकार्य तोड्नु पर्ने तर्क राखेका सहभागिलाई पार्टीका सचिव तथा प्रदेश इञ्चार्ज चक्रपाणी खनाल बलदेवले गठबन्धन तोड्दैमा निकास ननिस्कने जवाफ दिए । उनले गठबन्धनलाई जोगाएर लैजानु पर्ने बताए ।

‘गठबन्धन तोड्नु अहिलेको निकास होइन, केन्द्रबाट भागवण्डाको निर्णय भएका कारण यसको समीक्षा केन्द्रमा हुन्छ,’ उनले भनेका थिए,‘ गठबन्धन दलबीच पनि गम्भीर समीक्षा हुन्छ ।’ प्रदेश तहमा पनि गठबन्धनको बैठकले गम्भीर समीक्षा गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?