+
+

बाल मनोविज्ञानमा आधारित सर्ट फिल्म ‘किबोर्ड’को विशेष प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १४:३७

काठमाडौं । आचार्य गोपाल निर्देशित बाल मनोविज्ञानमा आधारित सर्ट फिल्म ‘किबोर्ड’को विशेष प्रदर्शनी भएको छ । क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको नेपाल प्रज्ञा प्रतिष्ठानमा बाल पुस्तक प्रदर्शनी-२०८० को क्रममा विशेष प्रदर्शनी गरिएको हो ।

फिल्ममा आमाबुवाको सम्बन्ध विच्छेद हुँदा बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ । फिल्मका प्रमुख पात्र जियान संगीतमा रुचि राख्छन् । उनी विद्यालयमा हुने गायन प्रतिस्पर्धामा भाग लिन्छन् । निरन्तर संगीत सिक्छन्, किबोर्डमा रमाउछन् तर घरमा बुवाआमाको बेमेलले उनी विचलित भएका हुन्छन् ।

अभिभावकको खटपटले संगीतमा विलक्षण प्रतिभा भएका जियानको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्छ । त्यसपछि उनको सांगीतिक जीवन कसरी अगाडि बढ्छ ? निर्देशक आचार्य गोपालले फिल्ममा प्रस्तुत गरेका छन् । यस फिल्मलाई अब अन्तराष्ट्रिय फिल्म महोत्सव र स्कुलहरुमा प्रदर्शन गर्नेसमेत निर्देशक आचार्यले बताए ।

बुवाआमाको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने गरेको प्रभावलाई बालकथाको माध्यमबाट उजागर गरेको फिल्मका लेखक विजयराज आचार्यले बताए ।

क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको फिल्म सन्देश आचार्य र कौशलकुमार भट्टराईले निर्माण गरेका हुन् । आफू एक शैक्षिक अभियन्ता पनि भएकाले पनि कथाबाट प्रभावित भएर फिल्म निर्माण गरेको सन्देश आचार्यले बताए ।

फिल्ममा आलोक चौरेली, कृष्ण भक्त महर्जन र रश्मी भट्टको अभिनय रहेको छ । फिल्मलाई सुजय गौतमले छायांकन गरेका हुन् । फिल्ममा दिवस धितालको सम्पादन र टेकेन्द्र नेपालीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?