+
+

आकस्मिक अवसरमा चम्किएका चन्दन

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १६ गते २१:४८

१६ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मंगलबार एपीएफ क्लबले सुदूरपश्चिमविरुद्ध ३ विकेटको जित निकाल्दा १५ वर्षे तीव्र गतिका बलर चन्दन राम नायक बने । हाल कक्षा १० मा अध्ययनरत चन्दनले मुलपानी क्रिकेट मैदानमा शानदार डेब्यू गर्दै ५ विकेट लिए ।

म्यान अफ दि म्याच चन्दनको उत्कृष्ट बलिङको मदतमा सुदूरपश्चिमलाई ८७ रनमा अलआउट गरेको एपीएफले मात्र १४.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

एपीएफका उनी सरप्राइज प्याकेज थिए । उनी आफ्नो स्वीङमा विकेट लिँदै सबैको ध्यान तान्न सफल भए ।

इनिङको पहिलो ओभरको अन्तिम बलमा उनले टेक रावतलाई बोल्ड आउट गर्दै डेब्यू विकेट हात पारे । मधेशविरुद्ध १२१ रनको शतकीय इनिङ खेलेका नरेन भट्ट यस प्रतियोगितामा राम्रो लयमा छन् । तर तेस्रो ओभरको तेस्रो बलमा चन्दनको इनस्वीङ बलमा बोल्ड हुँदै उनी पभेलिएन फर्किनु पर्‍यो ।

पाँचौं ओभरको अन्तिम बलमा नेपालबाट यू–१९ खेलेका मिलन बोहरा स्वीङ बलमै शून्यमा बोल्ड भए ।

सातौं ओभरको पहिलो बलमा नेपालबाट खेलिसकेका राजु रिजाल एक रनमै एलबीडब्लू आउट भए । ११ औं ओभरमा खडक बोहरा केही अघि बढेर सट खेल्न खोजे पनि वाइड जादा आसिफ शेखले स्टम्पिङ आउट गरेका थिए ।

पाँच विकेटपछि उनले उक्त मैदानलाई ढोग्नुको साथै चुम्बन गरे । हात जोडेर भगवानलाई पनि धन्यावाद दिए । उनले ड्रिम डेब्यू गर्न सफल भए । उनले ५.४ ओभरमा ३४ रन खर्चेर ५ विकेट पूरा गरेका थिए । पछि ७ ओभर बलिङ गर्दै ५१ रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए ।

पुरनको चोटले दिएको अवसर

विभागीय टिमले जहिल्यै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई प्राथमिकतामा राख्छ । प्रदेशको तुलनामा विभागीय टिममा सेवा सुविधा राम्रो हुने भएकाले राष्ट्रिय खेलाडीहरु पनि सहजै अनुबन्ध हुन्छन् ।

१५ वर्षीय चन्दनसँग अन्तर्राष्ट्रिय होइन, राष्ट्रियको प्रतियोगिताको अनुभव समेत थिएन । त्यसैले एपीएफको टिमबाट खेल्न उनले अहिले कल्पना समेत गरेका थिएनन् ।

तर यो पटक एपीएफ टीममा बलरको संकट एकपछि अर्को आयो । तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलिया लागे, कमलसिंह ऐरी चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भए । त्यसैले एपीएफका ओपनर आसिफ शेखले वीरगञ्जमा तीव्र गतिका बलर रहेकाले नेटमा हेर्न म्यानेजर राजेश श्रेष्ठलाई सुझाए ।

एपीएफ व्यवस्थापनले ११ जनवरीमा उनलाई बोलायो र हिमालय क्रिकेट एकेडेमी कीर्तिपुरमा उनको प्रदर्शन गर्‍यो । ‘हामीसँग समय थिएन । त्यसैले उसले १०/१२ बल फाल्यो । ठीकै ठीकै फालेको जस्तो लाग्यो’ एपीएफका म्यानेजर राजेश श्रेष्ठले भने, ‘तर एकदिन मात्रै क्याम्पमा जोडिएको धेरै ध्यान दिन पाएनौं ।’

एपीएफले उनलाई वैकल्पिक खेलाडीमा भने राख्यो र, काठमाडौंमै बस्न भन्यो । तर यहाँ चिनजानको कोही नभएकाले समस्या भयो, चन्दन घरतिर लागे ।

१८ जनवरीमा कीर्तिपुरमा मधेश प्रदेशविरुद्ध खेल्ने क्रममा अभिनाश बोहोरा घाइते भएपछि एपीएफ तीव्र गतिको बलिङ आक्रामण थप संकटमा पर्‍यो । त्यसैले चन्दनलाई भैरहवामा बोलायो । तर भैरहवामा पनि टिमसँग होटलमा बस्न पाएनन् । बाहिर बाहिर बसे । खेल्ने अवसर पाएनन् । त्यसैले एपीएफको टोली त्यहाँको खेल सकाएर काठमाडौं फर्किँदा उनी भने उतैबाट घरतिर लागे ।

शनिबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा मध्य गतिका अलराउन्डर पुरन बिक दायाँ हातको बुढी औंलामा चोट बोक्न पुगे ।

आइतबार एपीएफले पुरनको स्थानमा उनलाई टोलीमा बोलायो । किनभने टोलीमा तीव्र गतिका बलर अमर सिंह राउटेला मात्रै थिए । बस चढेर सोमबार बिहान काठमाडौं आइपुगे ।

मंगलबार बिहान मुलपानीमा चन्दनले चम्किँलो प्रदर्शन गर्दै सनसनी मच्चाए । ‘पहिलो खेल खेल्दा एकदमै राम्रो लाग्यो’ उनले भने, ‘मेरो जुन बलियो पक्ष थियो, त्यसैमा बलिङ गर्छु भन्ने सोच बनाएको थिएँ । पाँच विकेट लिन पाउँदा खुसी छु ।’

टेनिसबाट ड्युज बलको सुरुवात

पर्साको धोबनी गाउँपालिका आस्वारी वडा नम्बर –२ का जम्मा १६ वर्षका चन्नदले गाउँघरमा टेनिस बलले क्रिकेट खेल्ने गर्दथे । उनले ड्युज बलले खेल्न थालेको दुई वर्ष भयो ।

हाल उनी कक्षा १० मा अध्यनरत छन् । पढ्न वीरगञ्ज आएपछि उनले ड्युज बलको सुरुवात गरेका हुन् । नेपाली क्रिकेट टोलीका दुई ब्याटर आरिफ र आसिफ शेखले वीरगञ्जमा सञ्चालन गरेको नेशनल स्पोर्ट्स एकेडेमीमा उनले सिक्ने गर्दछन् । उनले मधेश प्रदेशको छनोट खेल्न लागेको दुई वर्ष भयो ।

तर बिभागीय टोली एपीएफबाट खेल्न मात्र पाएनन्, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । ‘मधेशको छनोटपछि मलाई लागेको थियो टोलीमा पर्न अझै धेरै मिहिनेत गर्नुपर्छ’ उनले अनलाइनखबरसँग भने, ‘एपीएफबाट मौका पाएपछि राम्रो भएको छ । झन् मिहिनेत गर्छु । आगामी दिनमा नेपालबाट खेल्ने लक्ष्य छ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?