+
+

सुदूरपश्चिमलाई हराएपछि एपीएफको फाइनल सम्भावना कायम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १२:५७

१६ माघ, काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि ३ विकेटको कठिन जित हात पार्दै फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायम राखेको छ ।

जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

एपीएफको जितमा सन्दीप जोराले १५ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए । लोकेश बम ६, आसिफ शेख १५, सुमित महर्जन र रोहित पौडेल ४–४ रनमा आउट भए । भुवन कार्की १४ र प्रदीप ऐरी १२ रनमा आउट भए ।

सुदूरपश्चिमका दीपक चन्दले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अल आउट भएको थियो ।

सुदूरपश्चिमका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहेका थिए ।

आफ्नो करिअरकै पहिलो राष्ट्रिय स्तरको खेल खेलेका चन्दले सुदूरपश्चिमको शीर्ष र मध्यक्रम ध्वस्त पारेका थिए । उनले ओपनर टेक रावतलाई शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट गरे ।

खड्क बोहरालाई २४ रनमा आउट गराए । कप्तान राजु रिजाललाई ५ रनमा एलबीडब्लू आउट गरेका थिए । सुदूरपश्चिमका शीर्ष पाँच ब्याटर सबै चन्दनको बलमा आउट भएका थिए ।

त्यसपछि भुवन कार्की र रोहित पौडेलले विकेट लिँदै सस्तैमा अल आउट गरेका हुन् । शेर मल्ल ५, नरेन साउद, दीपक चन्द र भोजराज भट्टले खाता खोल्न सकेनन् ।

एपीएफले चन्दनलाई पुरन बिकको स्थानमा आज डेब्यू दिएको थियो । एपीएफको जितमा चन्दन रामले ७ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ६.२ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए ।

रोहितकुमार पौडेलले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । पुलिस ७ खेलमा १४ अंकका साथ फाइनलमा पुगेको छ ।

एपीएफ ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ । एपीएफले बुधबार कर्णालीसँग टियुमा खेल्नेछ । एपीएफ अन्तिम खेलमा विजयी भएमा १२ अंकमा पुग्नेछ । तर त्यो १२ अंक भने फाइनल खेल्न पर्याप्त हुने छैन । अन्य टोलीको नतिजामा भर पर्नुपर्छ ।

आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । आर्मी उक्त खेलमा पराजित भएमा मात्रै एपीएफ १२ अंकमा नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बाँकी छ ।

आर्मी विजयी हुँदा भने एपीएफको फाइनल खेल्ने सम्भावना समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?