+
+

समृद्धिको राजमार्ग बन्नसक्छ काठमाडौं-निजगढ द्रुतमार्ग

सेनाले थालेको द्रुतमार्ग निर्माणको काममा आलोचना भन्दा बढी हौसला दिनु आवश्यक छ । समृद्धि भित्र्याउने यो राजमार्ग समयमै सम्पन्न गर्न सके मुलुकले आत्मनिर्भरताको बाटो समाउन सक्छ ।

रिसव गौतम रिसव गौतम
२०८० माघ १७ गते ८:५१

मुलुककै समृद्धिमा बृहत्तर टेवा दिनसक्ने बहुआयामिक महत्वको काठमाडौं-निजगढ फास्ट ट्रयाक (द्रुतमार्ग) निर्माणाधीन छ । नेपाली सेनाले १३ वटा क्लस्टर बनाएर द्रुतमार्ग बनाइरहेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्म यस आयोजनाको भौतिक प्रगति २८.५६ प्रतिशत र वित्तीय प्रगति २९.४४ प्रतिशत पुगेको सेनाले जनाएको छ ।

२०७४ साल वैशाख २१ मा नेपाली सेनाले जिम्मा पाएको राष्ट्रिय गौरवको यो आयोजनाको २०७६ साल भदौ १ गते मात्र डीपीआर स्वीकृत भएको थियो । ७१ किलोमिटर लामो द्रुतमार्गले बागमती र मधेश प्रदेशका गरी चार जिल्लालाई छोएको छ । यसमा तीन वटा सुरुङमार्ग रहनेछन् । नेपाली सेनाका अनुसार हालसम्म सुरुङमार्ग निर्माणतर्फ ६ हजार ४१५ मिटरमध्ये ३ हजार ५९२ मिटर खन्ने काम भएको छ । नेपाली सेनाले नै यही गतिले काम गरे २०८३ को समयसीमा भित्र सम्पन्न हुन नसक्ने तर कम्तीमा गाडी चल्ने बनाउन सकिने बताएको छ ।

जेहोस् द्रुतमार्गको काम हुँदै नभएको भने होइन । तर नाम जस्तै द्रुत काम भएको भने छैन । त्यसमा नेपाली सेना मात्र होइन, नेपाल सरकारका सम्बद्ध सबै निकाय, सार्वजनिक खरिद ऐन, नियम, नियमावली सबै जिम्मेवार छन् । वाषिर्क बजेट मार्फत यस आयोजनाका लागि पर्याप्त रकम विनियोजन हुन नसक्नु, ठेक्का प्रक्रियाका जटिलता, जग्गा अधिग्रहण र आयोजनास्थलमा पर्ने रूख कटानीमा भएका जटिलताका कारण पनि फास्ट ट्रयाकको काममा ढिलासुस्ती भएको हो ।

सबै तप्काबाट जिम्मेवार हिसाबले साथ-सहयोग रहने र काम हुने हो भने यस आयोजनाको निर्माण अबको २-३ वर्ष भित्रै गर्न नसकिने होइन । भारत तथा चीनमा एक-एक वर्षमै स्मार्ट सिटीहरू नै तयार हुन्छन् भने नेपालमा एउटा आयोजना बनाउन धेरै वर्ष लाग्नुपर्ने कारण छैन ।

यसले तराई-मधेशको समृद्धिको ढोका खोल्ने विश्वास छ । पाँच वर्षभित्रै सक्ने गरी नेपाली सेनाले निर्माण र व्यवस्थापनको काम थाले पनि कोरोना महामारी, अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट तथा सार्वजनिक खरिद ऐनका नियमावली सम्बन्धी व्यवस्था अनुसार आयोजनाको भौतिक प्रगति सुस्त हुन गएको नेपाली सेनाको भनाइ छ । तर पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने पुल तथा सुरुङमार्ग निर्माणका काम अघि बढेसँगै यसले गति लिने अपेक्षा छ ।

मुलुककै ठूलो शहर तथा केन्द्रीय राजधानी काठमाडौंलाई मधेशसँग करिब सवा घण्टामै जोड्ने फास्ट ट्रयाक निर्माण भएमा प्रचुर लाभ लिन सकिन्छ । कृषि उत्पादनको लागि उर्वर मानिएको तराईका बारा, पर्सा, रौतहट, सिरहा, सर्लाही, धनुषासम्मका जिल्लाहरूले काठमाडौंलाई सहजै आफ्नो बजार बनाउन सक्छन् ।

खासगरी विकास निर्माण भनेको अत्याधुनिक सडक, बिजुली, खानेपानी तथा टेलिकम्युनिकेसन जस्ता अत्यावश्यक पूर्वाधारहरूको क्षेत्रमा हुने प्रगति नै हो । निश्चय नै त्यसले अनेकन् अवसर सिर्जना गर्छन् । बजारविहीनहरूलाई बजार सिर्जना गर्छ । अनेक समस्या झेलिरहेका काठमाडौं, ललितपुर जस्ता शहरहरूलाई समस्याबाट निदान गर्छ ।

देशकै मुहार बदल्न सक्ने र मुलुककै आधा जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस आयोजनाले सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

यस आयोजना निर्माणका लागि पछिल्लो परिमार्जित डीपीआर अनुसार २ खर्ब ११ अर्ब ९३ करोड रकम लागत लाग्नेछ । जसमध्ये हालसम्म यस आयोजनामा ५२ अर्ब ८६ करोड खर्च भइसकेको छ ।

काठमाडौंकेन्द्रित विकासलाई यसै आयोजनाहरू मार्फत तराईसम्म पुर्‍याउन सकिन्छ । जसले गर्दा रोजगारी र आयआर्जनका नयाँ-नयाँ सम्भावना खुल्छन् । हरेक हिसाबले यी आयोजना मुलुकका लागि फलदायी छन् । त्यसैले द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दुवै आयोजना शीघ्र निर्माण गर्नु राज्यको दायित्व हो

नेपाली सेनाका अनुसार यस आयोजनमा ८७ वटा पुल पर्छन् । ती पुलहरूको कुल लम्बाइ करिब १० किलोमिटर जति हुन्छ । खासगरी पुलहरू निर्माणको कामले नै यस आयोजनामा धेरैजसो समय खर्च हुने देखिन्छ । धेरैजसो पहाडी भूभागले गर्दा राजमार्गहरू निर्माणको क्रममा केही जटिलता अवश्य हुन्छन् ।

समृद्धिको मार्ग किन हो फास्ट ट्रयाक ?

सरकारले आवश्यक तयारी र योजनाबद्ध रूपमा अगाडि नबढाएको कारण राष्ट्रिय गौरवको यस आयोजनामा ढिलासुस्ती भएको हो । तर नेपाललाई नयाँ बनाउन र विकासको स्वरुप बदल्न काठमाडौं-निजगढ फास्ट ट्रयाक उच्च प्रभावकारी आयोजना रहेको भन्नेमा सबै सहमत छन् । अन्य आयोजनाहरूको तुलनामा लाभ-हानिको हिसाबले पनि यो आयोजना अत्यधिक लाभदायी छ । धेरै जनसंख्या लाभप्रद हुने कारण पनि यसको महत्व अहम् छ ।

खासगरी फास्ट ट्रयाक काठमाडौंको महँगी, अभाव, असुरक्षा व्यवस्थापन गर्न, जनसांख्यिक स्थानान्तरण, फलफूल तथा तरकारीमा आत्मनिर्भरता, अवसरहरूको फैलावट र विकेन्द्रीकरण लगायत कारणले यो आयोजना महत्वपूर्ण छ । फास्ट ट्रयाकले काठमाडौं उपत्यकाका ६० लाखभन्दा बढी मानिसका लागि महत्वपूर्ण सरोकार र सम्बन्ध राख्छ । तिनको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्दछ ।

विश्व विख्यात विकासविद्हरूले पूर्वाधार निर्माण नै विकासको पहिलो शर्त हो भन्ने गरेका छन् । त्यो वास्तविकता हो । नेपालमा भने यथोचित पूर्वाधार विकास नै हुनसकेको अवस्था छैन । यदि तराई, पहाड र हिमाल बीचको अन्योन्याश्रति सम्बन्धलाई व्यवस्थित गर्ने र ठूला पूर्वाधार निर्माणमा अग्रसरता लिने हो भने नेपालको विकास धेरै रफ्तारको विषय हुँदैन । नेपालको दीर्घकालीन विकासको लागि बहुआयामिक महत्वका ठूला सडकको निर्माण अति आवश्यक छ । त्यसमा पनि घना जनसंख्याले घेरिएको काठमाडौंसँग सीधै जोडिने फास्ट ट्रयाक जस्तो आयोजनाको ठूलो महत्व रहन्छ । काठमाडौंमा हाल महँगी, अभाव र अराजकता व्याप्त छ । यसो हुनुमा छिटो-छरितो दूरीको सडक अभावले ठूलो भूमिका खेलेको छ ।

धेरैजसो मान्छेहरू सुविधाको लागि नै काठमाडौं उपत्यकामा नै थुपि्रएका छन् । फास्ट ट्रयाक जस्त्ाो छोटो दूरीमै तराईसँग जोडिने पूर्वाधार निर्माण भएमा राजधानीको जनघनत्व घट्न सक्छ । साथसाथै राजधानीको धेरै समस्याको निदान हुनसक्छ ।

जस्तो काठमाडौंलाई लामो समयदेखि जोड्दै आएको मुग्लिन सडकखण्ड (२६२ किमि) छ । यसको तुलनामा काठमाडौं-निजगढ फास्ट ट्रयाक १९१ किमि छोटो, गुणस्तरीय र सीधा हुनेछ । जसले मुग्लिन सडक खण्डद्वारा काठमाडौं उपत्यकामा आयात-निर्यात हुने वस्तुहरू भन्दा फास्ट ट्रयाकबाट आयात-निर्यात हुने वस्तुहरू स्वतः धेरै सस्ता, ताजा हुनेछन् ।

एशियाली विकास बैंक र विश्व बैंकको अध्ययनहरूले पनि फास्ट ट्रयाकको प्रयोगबाट नेपालले वाषिर्क ५ अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ बचत गर्ने देखिएको छ ।

फास्ट ट्रयाक प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आधारस्तम्भ समेत हो । यी दुवै आयोजना एकअर्कामा अन्तरसम्बन्धित छन् । यी आयोजनाहरूले इन्धन र फोहोरमैला समस्या हल गर्न धेरै हदसम्म योगदान दिनेछन् ।

अर्को काठमाडौंकेन्द्रित विकासलाई यसै आयोजनाहरू मार्फत तराईसम्म पुर्‍याउन सकिन्छ । जसले गर्दा रोजगारी र आयआर्जनका नयाँ-नयाँ सम्भावना खुल्छन् । हरेक हिसाबले यी आयोजना मुलुकका लागि फलदायी छन् । त्यसैले द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल दुवै आयोजना शीघ्र निर्माण गर्नु राज्यको दायित्व हो ।

सेनाले थालेको द्रुतमार्ग निर्माणको काममा आलोचना भन्दा बढी हौसला दिनु आवश्यक छ । द्रुतमार्ग निर्माणमा अघि बढेको सेनालाई सरकार, स्थानीय निकाय, जनता सबैले सहयोग गर्नु जरूरी छ । समृद्धि भित्र्याउने यो राजमार्ग समयमै सम्पन्न गर्न सके देश र जनताले निकै राहत पाउन सक्छन् । मुलुकले कृषिमा आत्मनिर्भरताको बाटो समाउन सक्छ ।

(गौतम आर्थिक विश्लेषक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?