+
+

भैरहवाको टाइगर प्यालेसले तिर्‍यो क्यासिनो बक्यौता ५० करोड, सञ्चालन बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते ८:५७

१८ माघ, काठमाडौं । रुपन्देही भैरहवामा सञ्चालित पाँचतारे होटल टाइगर वान (प्यालेस) मा विगतमा सञ्चालित क्यासिनोको बक्यौता होटलले नै तिरेको छ ।

होटलले क्यासिनोको बक्यौता भुक्तानी गरेसँगै अब टाइगर प्यालेसमा क्यासिनो पुनः सञ्चालनको बाटो खुलेको छ ।

पर्यटन विभागका निर्देशक कालिबहादुर भुजेलका अनुसार टाइगर प्यालेसमा सञ्चालित क्यासिनोले तिर्न बाँकी २२ करोड ६० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेको छ ।

साथै, बैंक ग्यारेन्टीवापत २५ करोड ९० लाख रुपैयाँ तिरेको छ । बक्यौता भुक्तानी र बैंक ग्यारेन्टीसमेत जोड्दा टाइगर प्यालेसले एक साथ करिब ५० करोड तिरेको उनले जानकारी दिए ।

भैरहवाको टाइगर प्यालेस र काठमाडौंको सांग्रिला होटलमा एकै कम्पनी एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । सांग्रिला होटल अहिले पुनर्निर्माण क्रममा छ ।

एसएचएल म्यानेजमेन्ट कम्पनी नै आफूहरूले खरिद गरेको र दुवै होटलको बक्यौता भुक्तानी गरेको टाइगर प्यालेसका सञ्चालक बुद्धिसागर सुवेदीले बताए ।

‘भैरहवाको होटलको बक्यौता पूरै भुक्तानी ग¥यौं, सांग्रिलाको बक्यौता भने बैंक ग्यारेन्टीका रूपमा भुक्तानी गरेका छौं,’ उनले भने ।

बक्यौता तिरेपछि अब यो होटलले क्यासिनो चलाउन पाउने छ । सोहीअनुसार होटललाई क्यासिनो चलाउन दिने लाइसेन्स समेत नवीकरण गरिएको विभाग निर्देशक भुजेलले बताए ।

सरकारले क्यासिनोको बक्यौता लामो समयसम्म नउठेपछि होटललाई जिम्मेवार बनाउँदै बक्यौता नतिरेसम्म दर्ता नवीकरण नगर्ने नीति लिएको छ । सोहीकारण होटलले क्यासिनोको बक्यौता भुक्तानी गरेको भुजेलले जानकारी दिए ।

टाइगर प्यालेस अहिले नयाँ व्यवस्थापनले किनेर चलाइरहेको छ । एसएचएलबाट नेपालमा लगानी भएको यो होटललाई हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरी सञ्चालनमा ल्याएको हो । तिलोत्तमा–११ कोटिहवामा सञ्चालित यस होटलमा १ सय २ कोठा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?