+
+

शिल्पीमा शुक्रबारदेखि शहीद गंगालालको जीवनीबारेको नाटक ‘गंगालाल’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १२:११

काठमाडौं । शिल्पी थिएटर बत्तीसपुतलीमा माघ १९ (शुक्रबार)देखि २९ गतेसम्म शहीद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको यो नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो ।

नाटकमा शहीद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । विक्रम संवत् १९९१ देखि १९९७ सम्म राजनीतिक परिवेशमा भएका घटनाक्रम र शहीद गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए ।

नाटकमा धर्मभक्त, शहीद शुक्रराज र शहीद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् । ‘गंगालाललाई फरक पाटोबाट बुझ्न पनि स्कुलका विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारले यो नाटक हेर्नुपर्छ,’ निर्देशक चे भन्छन् ।

शहीद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागिएको यस नाटकलाई माघ १६ गते नाचघरमा प्रथम मञ्चन गरिएको थियो । नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर,  ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन् ।

ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन् । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् ।

निर्देशक शंकरले यसअघि निर्देशन गरेका कोही किन बर्बाद होस्, म्याड म्यान्स डायरी, लुक ब्याक इन एंगर, सेम टाइम नेक्स्ट इयर, उलारजस्ता दर्जन बढी नाटक निकै रुचाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?