+
+

दर्शक बढेपछि शिल्पीले थप्यो नाटक ‘गंगालाल’को मञ्चन अवधि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १२:४१

काठमाडौं । दर्शकको मागपछि शिल्पी थिएटरले मञ्चन भइरहेको नाटक ‘गंगालाल’को समय थपेको छ । यो नाटक अब फागुन ५ गतेसम्म मञ्चन हुने शिल्पीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो नाटक माघ १९ गतेदेखि मञ्चन सुरु भएको थियो । नाटकमा दर्शक बढेकाले मञ्चनको समय लम्बाइएको नाटक निर्देशक तथा लेखक चे शंकरले बताए । शहीद गंगालाल श्रेष्ठको जीवनमा आधारित यो नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हो ।

नाटकमा शहीद गंगालाललाई क्रान्तिकारी मात्र नभई पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । १९९१ सालदेखि १९९७ सम्म नेपाली राजनीतिमा भएका घटनाक्रम र गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए ।

यो नाटकमा शहीद धर्मभक्त, शुक्रराज र दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिएका छन् । गंगालाललाई भिन्न दृष्टिकोणबाट बुझ्न पनि विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारले यो नाटक हेर्नुपर्ने निर्देश शंकर बताउँछन् ।

नाटकमा निर्भिक, शकु शाह, इनारा बानु, दीपक पछल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी,  निरज दाहाल, विश्वास मानन्धर,  ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन् । निर्देशक शंकरले यसअघि निर्देशन गरेका ‘कोही किन बर्बाद होस्, म्याड म्यान्स डायरी, लुक ब्याक इन एंगर, सेम टाइम नेक्स्ट इयर, उलार नाटक पनि रुचाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?