+
+

११ महिनादेखि रिक्त कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त

चैते र बर्से धानका लागि किसानलाई मलको अभाव हुन नदिने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १२:३६

१८ माघ, पोखरा । करिब ११ महिनादेखि रिक्त कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् । यसअधिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल सकिएपछि गत सालको फागुनदेखि पद रिक्त थियो ।

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले पोखरेलको नाम सिफारिस गरेको हो । प्रबन्ध सञ्चालकका लागि ९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पोखरेलसहित भोजराज अधिकारी, रामचन्द्र ढकाल गरी तीन जनाको नाम सिफरिस भएको थियो ।

तीन जनामध्येबाट सिवाकोटीको नेतृत्वको बैठकले कायममुकायम प्रबन्ध सञ्चालकको जिम्ममेवारीमा रहेका पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारीको कार्यकाल सकिएलगत्तै समितिले कम्पनीको वरिष्ठ अधिकृत कर्मचारीमध्येबाट समितिले निर्णय गरेर कायममुकायमको जिम्मेवारी दिएको थियो

२०५२ साल जेठ २१ गते पोखरेलले शाखा अधिकृतबाट सेवा सुरु गरेका थिए । कम्पनीको प्रधान कार्यालयसहित मल, बिउबिजन, कृषि चुनलगायत विक्री वितरण गर्ने ४० वटा कार्यालय र एउटा बिउ उत्पादन फर्मसहित ४३ वटा कार्यालय छन् ।

आफू कामु हुँदादेखि नै मलको अभाव हुन नदिएको, किसानलाई लाइनमा बस्नुपर्ने बाध्यता हटाउन लागि परेको बताउँदै नवनियुक्त पोखरेलले अब पनि गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

४ वर्षदेखि कर्मचारी पदपूर्ति प्रक्रिया अवरुद्ध छ । कर्मचारी विनियममा देखिएको समस्याका कारण सर्वोच्चमा मुद्दा पुगेको थियो । कर्मंचारी प्रशासन नियमावली सुधार गरी अब कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन प्रयास गरेको पोखरेलले बताए ।

पोखरेलले अब पनि किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता जनाए । अहिले कम्पनीले ५ हजार ३ सय सहकारीमार्फत मल, बिऊबिजन, कृषि चुन बिक्री वितरण गर्दै आइरहेको छ । अहिले कम्पनीमा युरिया २६ हजार मेटि्रकटन, डिएपी मल १४ हजार मेट्रिक टन मौज्दान रहेको पोखरेलले जानकारी दिए ।

‘यसका अलवा केही मल आउने क्रममै छ । दिनको ८/९ सय केजी मल बिक्री भइरहेको छ,’ पोखरेलको प्रतिवद्धता छ, ‘चैते धान र बर्खे धानका लागि किसानलाई मलको अभाव हुन दिने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?