+
+

अपराध गर्ने उद्योगीलाई कारबाही गर्न थाल्यो कि वक्तव्यबाजी हुन्छ : गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १२:५८

१९ माघ, पाोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन् । कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने वक्तव्यबाजी र दबाब सुरु हुने उनले बताए ।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको छ ।

त्यसको भोलिपल्ट गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन नसकिने बताएका हुन् । पोखरामा शुक्रबारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए ।

‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर’ गृहमन्त्री श्रेष्ठले भने, ‘उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ । हामीले कर तिर्‍या’छौं, उद्योग व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’

निजी क्षेत्रको सहयोग विना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने आफूहरुले बुझेको बताए । तर कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो । उने भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्नँ । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्नँ ।

श्रेष्ठले अघि भने, ‘यसप्रकारको दबाब र हस्तक्षेप भइरहने हो भने हामीले हाम्रो देशलाई फेर्न पनि सकिन्नँ । त्यसैकारण म राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरु दृढतापूवर्कक उभिनुस् ।’

उनले अवान्छित हस्तक्षेपबाट भयभीत नहुन आग्रह गरे । सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, किर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठले दाबी गरे ।

‘आज हामी जुन अवस्थामा छौं, कुनै हालतमा यथास्थितिमा राख्न सकिन्नँ । यत्रो सम्भावना हुँदाहुँदै हामीले हाम्रो देश किन पछाडि पर्‍यो ?’ श्रेष्ठले भने, ‘आज ३० लाखभन्दा बढी नेपाली युवा अदक्ष मजदुरका रुपमा खाडी मुलुक र मलेसियामा छन् । यस्तो स्थिति किन उत्पन्न भइरह्यो ? आत्मसमीक्षा गर्नुपर्ने बेला छ ।’

सुशासनको अभाव एउटा समस्या भएको उनले बताए । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गरिएन भने समृद्धिले फड्को मार्न नसक्ने श्रेष्ठले बताए ।

सुशासन समृद्धिको अभियानका निम्ति पूर्व शर्त भएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘हामी नै ठूलाबडा पहुँच भएका, पैसा भएकाहरुकै वरिपरि हुन्छौं भने हामीले यो लोकतन्त्रबाट जनताले अपेक्षा गरेको कर्तव्य पूरा नगरेको ठहरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?