+
+

यसकारण प्रियंका र निकले बाध्यतावश अमेरिकाको घर छाड्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १३:३५

काठमाडौं । प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लस एन्जलसस्थित आफ्नो घर छाड्नुपरेको छ । यो बंगला यो जोडीले सन् २०१९ मा करिब दुई करोड डलरमा किनेका थिए ।

खबरअनुसार घरमा पानी चुहावटले क्षति पुर्‍याएपछि उनीहरुले कठिनाइको सामना गर्नुपरेको थियो । जसले गर्दा घरमा ओसिलोपन देखिन थालेको थियो । यस विषयमा उनीहरुले प्रोपर्टी डिलरविरुद्ध मुद्दासमेत दायर गरेका छन् ।

यो घरमा प्रियंका आफ्ना पति निक जोनस र छोरी मालतीसँग बस्दै आएकी थिइन् । यो विलासी घरमा सात शयनकक्ष, नौ बाथरुम,  तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, बलिङ गल्ली, स्पा, स्टीम सावर, जिम र बिलियर्ड कोठा छन् ।

घर बेच्ने व्यक्तिलाई दम्पतीले मुद्दा हालेका छन् । पानी चुहिंदा स्वास्थ्यमा असर पार्ने र स्वास्थ्य बिग्रिन सक्ने उनीहरुले उजुरीमा उल्लेख गरेका छन् । रिपोर्टअनुसार प्रियंका र निकले मे २०२३ मा घर बेच्ने बिक्रेताविरुद्ध मुद्दा हालेका थिए । जबदेखि सम्पत्ति खरिद गरिएको थियो, त्यहाँ स्पा र पुलमा समस्या आउन थालेको थियो । घरको धेरै भागमा लेउ लाग्ने समस्या पनि देखिन्थ्यो । त्यसयता घरको बार्बीक्यू क्षेत्रमा पानी चुहिने समस्या पनि सुरु भएको थियो ।

यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन् । साथै, क्षतिग्रस्त वस्तुको मर्मत खर्च क्षतिपूर्तिको माग गरिएको छ । यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलर लाग्ने बताइन्छ ।

अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन् । चुहावटको समस्या समाधान नभएसम्म उनीहरु अर्को घरमा बस्नेछन् । यद्यपि प्रियंका र निक आफ्नो कामका लागि संसारभर घुमिरहन्छन् । तर दम्पतीको घर लस एन्जलसमा छ, जहाँ उनीहरू दुवै विगत केही वर्षदेखि सँगै बस्दै आएका छन् ।

निक जोनस केही समयअघि आफ्ना दुई दाजु जो र केभिनसँग भारत आएका थिए । उनले मुम्बईको म्युजिकल फेस्टिभल ‘लोल्लापालुजा इण्डिया’मा पनि प्रस्तुति दिएका थिए । प्रदर्शनका क्रममा भारतीय फ्यानले उनलाई स्वागत गर्दै ‘जिजु’को नारा लगाएका थिए । प्रियंका हलिउड फिल्म ‘द ब्लफ’मा देखिनेछिन् । यो फिल्मको छायांकन असारबाट सुरु हुनेछ ।

यसअघि प्रियंकाले हलिउड प्रोजेक्ट ‘बेवाच’, ‘द म्याट्रिक्स रिसरेक्सन्स’ र गत वर्षको रोमान्टिक कमेडी ‘लभ अगेन’मा काम गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?