+
+
साहित्य :

घर

नवीन प्राचीन नवीन प्राचीन
२०८० मंसिर ३० गते १८:२८

केही कविताका किताब ल्याएको छु। केही उदास हरफ पल्टन्छन्। घाम मुलुकमै छुटेको छ, अझै धेरै महिना पर्खनुपर्छ उसको अनुहार देख्न। दिनहरु दिनदिनै छोटिंदै छन्। म जीवनका बारे लेख्न बसेको छैन। तर पनि दिनहरु त दिनदिनै छोटिने नै हुन्।

घाम केही महिनापछि घनघोर रिस अनुहारमा पोतेर आइपुग्छ अचानक। वाक्क लाग्दो लामो न लामो यात्राले अनुहार रातो पारेर भएभरको रिस पोख्छ घर बसुन्जेल र हिंडी पनि हाल्छ। बल्ल बल्ल वर्षौँमा छुट्टी पाएको लाहुरेले गुनासो, हतार र रिसमै आफ्नो छुट्टी सके जस्तो। या भर्खरै मैले बल्ल बल्ल पाँच वर्षमा ५५ दिनको छुट्टी मनाउदाँको मेरो हालत जस्तो। ऊ हुर्रिएर आउँछ र हुर्रिएरै फर्कन्छ।

मलाई घामको खुब न्यास्रो लाग्छ यो मुलुकमा। ज्यान तातुन्जेल घाममा बस्नु सबैभन्दा बढी तिर्सना लाग्ने कुरा हो मलाई यहाँ। वर्षको ६ महिना जति हिउँ भेटिने र बाँकी रहेका ३ महिना हिउँ पर्ने र पग्लने तयारीमा बिताउँछ यहाँको मौसम। ढिलो गरी उज्यालो हुनु, बस् रात भन्दा अलि उज्यालो-उज्यालो हुनु (घाम लाग्नु हैन) र अलिक धेरै उज्यालो हुनै लाग्दा फेरि अँध्यारो हुनु। यसरी बित्छन् वर्षका नौ महिना।

मैले थाहै नपाई (या भनौं सबैभन्दा बढी थाहा पाएर) ६० महिना बिताइसकेछु यो भूगोलमा। यसरी नै त बित्ने होला जीवन, हत्केलामा मुट्ठी पार्न खोजेको बालुवा जस्तो।

जम्मा जम्मी दिउँसोको ४ बजेको हो, तर उज्यालो अघि सिरक ओढेर सुतिसकेको छ। क्रिसमसको तयारीमा घरहरु चम्किला बत्तीले सजाइएका छन्। तर मान्छेहरु कि त्यो झिलिमिली किन्ने पैसा भेला पार्न मजदूरी गर्दैछन् कि सोफामा पल्टेर आफ्नो प्रिय कुनै टिभी शो हेर्दैछन्। यहाँ बस् बत्तीको झिलीमिली छ।

****

६० महिनापछि मुलुक फर्केर तिहार मनाउँदै गर्दा मलाई परदेशको क्रिसमसको झल्को आयो। दाजुभाइ शहरको तिहार हेर्न निस्केका छौं।  शहर उज्यालो छ, लोडसेडिङ छैन। घरहरु उज्याला बत्तीले सजाइएका छन्।

तर मान्छे ? मान्छे कि त्यो उज्यालो किन्न अनुहारभरि अँध्यारो पोतेर मरुभूमिमा पसिना बगाउँदै छन्, या घामको अनुहार देख्न क्यालेण्डरमा चिनो लगाउँदै छन्। यहाँ पनि छ त बस् बत्तीको झिलीमिली।

धत्तेरी ! एउटा मान्छेले के के पोको पारेर लैजाँदो रहेछ घरबाट ?

****

अँ म कविताका कुरा गर्दै थिएँ। यो घामले बसाइ सरेको भूगोलमा कविताका न्याना हत्केला समाएर आफ्नो हृदयमा थोरै भए पनि उज्यालो जोगाउँ भन्ने लाग्छ।

उसो त कविता बाहेक पनि केही किताब ल्याएको छु— कथा, उपन्यास, नाटक, संस्मरण। मौसम उस्तो भएर हो या सबैतिरका हृदय ओस्सिएका हुन्, या म नै यति धेरै गह्रुङ्गो भएको छु। सबै उस्तै नै लाग्छन्। हृदयमा अझै भार थप्न मन छैन।

न्यानो जाउलो जस्ता हरफहरु खोजिरहेछ हृदय। भेटिने छाँटकाँट छैन।

****

साँच्ची म घर बाहिर ननिस्केको कति दिन भयो ? खुल्ला हावामा सास नफेरेको ? आ होस्, बाहिर हावा कहाँ छ र ? बस् स्याँठ छ।

खासमा बाहिर कहाँ छ ? मेरो वरपर त कोसौंसम्म पृथ्वीले एउटा बाक्लो न बाक्लो कम्बल ओढेर आफ्नो जीउ तताउने असफल प्रयास गर्दैछ। र यो प्रयास धेरै लामो हुनेवाला छ।

घरमा छोरी छे अढाई वर्ष पुग्न लागेकी, उसलाई घरभित्र बस्नु कस्तो सकस हुन्छ। मलाई भने महिनौंसम्म बाहिर निस्किनु नपरे हुन्थ्यो जस्तो भएको छ। बस् तातो पानी पिउनु, उसका बालसुलभ हर्कत हेर्नु, या दिनभर सुतिरहनु। अल्छीका सबै हद पार गर्नु।

उहिले हामी बुबालाई कतै बाहिर घुम्न निस्कौँ न भन्दा तिमीहरु सबै जाओ म एक्लै घर रुँघेर बस्छु भन्नुहुन्थ्यो। अचेल मलाई त्यस्तै हुन्छ। घरमै बसिरहुँ, कहीं नजाउँ। कतै ननिस्कुँ। यसको ठिक विपरित सानी छोरीलाई एक मिनेट पनि घरभित्र बस्न नपरे हुन्थ्यो जस्तो हुन्छ। म बुझ्न सक्छु।

केही अघिसम्म म घरमा एकछिन पनि हुन्नथें। बस् निदाउन आइपुग्थें। बा–आमाको काख जस्तो हुन्थ्यो घर। मनलाग्दा घुस्रियो, अरु बेला मनमर्जी। म जहाँ पुगे पनि त्यो काख त्यहीं छ भन्ने ढुक्कले वर्षौँ घर छोड्ने हिम्मत दिने होला। यसपटक पनि ५५ दिनमा मुस्किलले ५ दिन दिनभरि घर बसेँ होला बा–आमा सँग।

तर जब परदेश फर्किएँ, घाम देशमै छुट्यो, घर छोड्ने जाँगर घरमै छुट्यो। एउटा गहिरो आलस्य अचानक शरीर र मनमा टाँसिएको छ। ‘घर’ छोडेर बाहिर जाने जाँगर एकपित्को पनि छैन। सायद घर, घरमै छुट्यो।

****

हामी सानो छँदा बुबाआमा साँझसम्म पनि जस्तोसुकै चिसो, अँध्यारो, झरी भए पनि घाँसका ठूला ठूला बोझा बोकेर घर फर्कनुहुन्थ्यो। बिजुली नभएको गाउँमा ओस्सिएका गुइँठा र दाउरा भेला पारेर छामछाम छुमछुम गर्दै खाना बसाउनुहुन्थ्यो। खाना पाक्दासम्म हामी निदाइसकेका हुन्थ्यौं।  निद्रामै कसो कसो खाना खाएर फेरि निदाउँथ्यौँ। सायद हाम्री छोरीले पनि ठूली भएर आफ्ना आमा–बाका बारे सम्झने कुरा यस्तै हुन्छन् होला।

त्यहाँ अँगेनाका धुवाँ नहोलान्, घाँसका बोझा नहोलान् तर उसका बा–आमाका काँधको भार त उसै महसुस हुँदो हो उसलाई। जीवनको पिरो धुवाँले रसाएका हाम्रा आँखा कहाँ लुक्लान् र उसका आँखा सामु ?

****

फोनमा नोटिफिकेशन बज्यो। अब तैँले यसरी नै घर बसिरहिस् भने छिटै घरले तँलाई घर निकाला गर्छ भन्यो बैंकको अप्लिकेशनले।

ठिक छ, सायद सबैले आफ्नो घर बनाउन/जोगाउन घर बाहिर निस्कनै पर्दो हो। घर छोड्नै पर्दो हो। तर एक पटक घर बाहिर निस्किसकेपछि न कहिल्यै नयाँ घर भेटिन्छ, जसलाई ढुक्कले छोडेर मनलाग्दा फर्कन सकियोस् र त्यो सधैं उस्तै होस्। न पुरानो घर- घर रहन्छ। नयाँ ‘घर’ले अपरिचित जस्तो गर्छ, पुरानो घरले पाहुना।

छोरी तिमीलाई घर बाहिर जान कत्ति रहर लाग्छ। किनकि तिमी एकछिनमा फर्कंदा काख जस्तो तिम्रो घर जहाँको तहीं हुन्छ। तर यस्तो सधैँ हुन्न रहेछ छोरी। एकदिन यस्तो आउँदो रहेछ, तिमी बरु निसास्सिन तयार हुँदो रहेछौ, घरले किचिएर मर्न तयार हुँदो रहेछौ, तर घर बसिरहन पुग्नु कत्रो विलासिता हो भन्ने गहिरो गरी महसुस गर्दो रहेछौ।

तिमीले कुनै दिन यो पढ्यौ भने तिम्रो बाले त्यतिबेला समाचारमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र प्यालेस्टिनीहरुले घरमै बसिरहन गरिरहेको संघर्ष देखिरहेको थियो भन्ने थाहा पाउनु।

छोरी, मान्छेले जम्माजम्मी चाहने भनेको घरमै बसिरहन रहेछ। यत्तिका लागि ऊ जीवनभर घर छोड्न समेत तयार हुँदोरहेछ। तिमी आफैं घरबाहिर निस्कन सक्ने भएपछि कुनै दिन तिमीले कतै घुम्न जाउँ न भनौली र म भनौंला– तिमीहरु जाओ, म घरमै बस्छु।

त्यतिबेला मलाई घरमै बसिरहन दिनु ल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?