+
+

‘मिसन ८१’ भन्दै नौबिसेमा फिल्मको कथा लेख्‍दैछन् ‘सक्किगो नि’का कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १२:५०

काठमाडौं । लोकप्रिय टिभी श्रृंखला ‘सक्किगो नि’ समूहले कथानक फिल्म निर्माण गर्दैछ । केही महिनादेखि यसको पटकथा लेखन कार्य जारी छ । यस्तोमा ‘मिसन ८१’ भन्दै स्क्रिप्टलाई टुंग्याउन कलाकार धादिङको नौबिसेमा भेला भएका छन् ।

दुई सातादेखि सिरियल कलाकारहरु कुमार कट्टेल ‘जिग्री ब्रो’, दीपक आचार्य ‘काकु’ र हरिश निरौला ‘कक्रोच’ नौबिसेको एक रिसोर्टमा बसेर स्क्रिप्ट लेखिरहेका छन् । कुमार र दीपकले फेसबुकमा स्टाटस लेख्दै ‘मिसन ८१’ मा आफूहरु लागेको उल्लेख गरेका छन् ।

यसको अर्थ, २०८१ सालमा फिल्म रिलिज गर्ने उनीहरुको तयारी छ । केही दिनमा कास्ट एण्ड क्रू सार्वजनिक गर्ने उनीहरुको भनाइ छ । नौबिसेको स्क्रिप्ट लेखन टोलीमा अभिनेता गजित विष्ट पनि जोडिएका छन् । यो फिल्ममा विष्ट पनि संलग्न रहेको अनुमान गरिएको छ ।

कलाकार सागर लम्साल ‘बले’ले गत साता अनलाइनखबरसँगको कुराकानीमा स्क्रिप्टलाई चाँडै पूर्णता दिन लागिएको बताएका थिए । केही कलाकार फाइनल भइसकेको भन्दै उनले विस्तृत औपचारिकरुपमा जानकारी दिइने बताए ।

चलेको टेलिभिजन श्रृंखलाको समूह फिल्म निर्माणमा लागेको यो पहिलोपटक होइन । यसअघि चर्चित सिरिज ‘तीतो सत्य’बाट दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले ‘छ एकान छ’ हुँदै ‘छक्कापञ्जा’ बनाए । सन्तोष पन्त र रमा थपलियाले ‘हिजोआजका कुरा’ बनाए ।

मेरी बास्सैबाट धुर्मुस सुन्तली लगायत पनि फिल्मसँग जोडिएका छन् । उनीहरुले पछिल्लो पटक ‘सेन्टी भाइरस’ फिल्म बनाए । जितु नेपाल, केदार घिमिरे, रवि डंगोल पनि सिरियलबाटै स्थापित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?