+
+

यू-१९ क्रिकेटरलाई क्यानले दियो एक वर्षअघिको पुरस्कार, सरकारले कहिले ?

नमिता दाहाल नमिता दाहाल
२०८० माघ २३ गते १९:१८

२३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एक वर्षअघि यू–१९ क्रिकेट टिमका लागि घोषणा गरेको नगद पुरस्कार प्रदान गरेको छ । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको पुगेर घर फर्केको भोलिपल्ट खेलाडीले नगद पुरस्कार पाएका हुन् ।

पोहोर फागुनमा नेपाल यू–१९ विश्वकपमा छनोट भए लगत्तै सरकारले जनही ३ लाख रुपैयाँ र क्यानले जनही १ लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेका थिए । घोषणाको एक वर्षसम्म पनि नगद पुरस्कार नपाउँदा खेलाडीले आश नै मारिसकेका छन् ।

‘क्यानको त आयो अब सरकारको पनि छिट्टै आए हामीलाई सहज हुने थियो’, यू–१९ क्रिकेट टिमका स्पिनर सुवास भण्डारीले बताए । उनले क्यानबाट आएको रकमले पनि निकै राहत दिलाएको बताए ।

क्यानको पुरस्कार हात पारेर आशावादी बने पनि यी खेलाडीले सरकारको पुरस्कार भने तत्काल हात पार्ने छैनन् । रकम अभाव भएकैले खेलाडीलाई घोषित पुरस्कार दिन नसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

खेलाडीका लागि पुरस्कार माग गरेर पटक पटक पत्र पठाए पनि अर्थमन्त्रालयबाट गत हप्तामात्रै पुरस्कार दिने रकम नरहेको भन्दै लिखित रुपमा खेलकुद मन्त्रालयमा जानकारी आएको छ । ‘अर्थले बजेटको कमीले गर्दा पुरस्कार रकम अहिले उपलब्ध गराउन नसक्ने भन्दै अर्को आर्थिक वर्षको बजेटमा समावेश गर्न लिखित पत्र प्राप्त भएको छ’, मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले बताए ।

यू-१९ मात्र होइन, सिनियर खेलाडीले पनि पाएनन् पुरस्कार

पोहोर फेब्रुअरी र मार्चमा भएकाअन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय क्रिकेट टिमले एक दिवसीय मान्यता जोगाउँदै विश्वकप छनोट र एसिया कपमा समेत स्थान बनाउँदा हरेक पटक सरकारले नगद पुरस्कार घोषणा गरेको थियो ।

आईसीसी वर्ल्ड कप लिग २ क्रिकेटका ३ वटा सिरिजको प्रति सिरिज ३ लाख रुपैयाँका दरले ९ लाख रुपैयाँ, प्रधानमन्त्रीले घोषणा गरेको थप २ लाख र नेपालले एसीसी प्रिमियर कप जित्दै एसिया कप क्रिकेटमा छनोट भएपछिको ६ लाख गरी कुल १७ लाख रुपैयाँ घोषणा गरेको थियो ।

त्यो सबै रकम क्रिकेट खेलाडीले पाउन बाँकी छ । सिनियर टिमलाई क्रिकेटको अभिभावकीय संस्था क्यानले घोषणा गरेको रकम पनि दिन सकेको छैन ।

यू–१९ क्रिकेटरलाई जस्तै राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई पनि यो आर्थिक वर्षमा पुरस्कार दिन नसक्ने खेलकुद मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता रेग्मीले भने, ‘अर्थबाट नै अहिले हामी रकम निकासा गर्न सक्दैनौं भनिसकेपछि हामीसाग पनि खेलाडीलाई दिने अर्को जवाफ छैन ।’

खेलाडीले पुरस्कार पाउन अब अर्को आर्थिक वर्ष नै कुर्नुपर्ने उनी बताउँछन् । ‘अब खेलाडीको पैसा हामीले अर्को आर्थिक वर्षको बजेट नआइ दिन सक्ने अवस्था रहेन ।’

राष्ट्रिय खेलकुद परिषद पनि खेलाडीलाई समयमै पैसा दिन नसक्दा निकै निराश रहेको राखेप शाखा प्रमुख चन्द्र राईले बताए । ‘माथिबाट बजेट नआएर रोकिएका हौं । हामीलाई पनि खेलाडीको पैसा दिन नपाउँदा निकै दुःख लागेको छ’, उनले भने ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?