+
+

ढोरपाटनका मेयर नेपाली पक्राउ नपरी घरजग्गा अर्कालाई सुम्पिन मिल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते २०:१५

२४ माघ, पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले मंगलबार फेरि सम्पत्ति सार्वजनिक गर्दै बचतकर्ताको हिसाब मिलान गर्न तयार रहेको बताएका छन् ।

गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले गत मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए ।

दोस्रो पटक फेरि नेपालीले सम्पत्ति सार्वजनिक गर्दै सहकारीको रकमसमेत मिलाएर बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायतका ठाउँमा घरजग्गा जोडेको तर बचतकर्तालाई फिर्ता गर्ने नगद नभएको बताएका छन् ।

गत मंसिर ५ गते भिडिया र विज्ञप्तिमार्फत मेयर नेपालीले आफू र श्रीमतीको नाममा आफ्नै पैसाले घरजग्गा जोडेको बताएपछि सहकारीको रकम कहाँ छ त त्यसो भए भनेर बचतकर्ताले प्रतिवाद गरेका थिए ।

अहिले बचतकर्तालाई विश्वास दिलाउने गरी सहकारीको रकमबाटसमेत घरजग्गा किनेको र त्यो बचतकर्तालाई सुम्पिन तयार गरेको सार्वजनिक गरेका हुन् ।

उनले दोस्रोपटक सम्पत्ति सार्वजनिक गर्नुको कारण चाहिँ के होला ? पोखरा र बागलुङको समेत इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्की भन्छन्, ‘अघिल्लो पटकको विज्ञप्तिमा यो मेरो निजी सम्पत्ति हो भनेका थिए भने यसपटकको विज्ञप्तिमा सहकारीको बचत रकमबाट समेत किनेको बताएका छन् ।’

मेयर नेपालीले कहाँबाट चलाइरहेका छन् फेसबुक ?

मेयर नेपालीका तर्फबाट बचतकर्तासँग अधिवक्ता नानीबाबु बुढाथोकीले सहजीकरण गरिरहेका छन् । उनले नेपालीलाई हिसाब मिलान गराउने वातावरण बनाइदिन आग्रह गर्दै बुढाथोकीले भनेमुताबिक नै बचतकर्ताले गरिरहेका छन् । पीडितहरुलाई एकीकृत गर्नकै लागि पोखरा र बागलुङका सबै बचतकर्ताको एउटै संयुक्त संघर्ष समिति बनाइएको छ ।

बागलुङमा प्रधान कार्यालय रहेको इमेजले गलकोट र बुर्तिबाङबाट सेवा कार्यालयको नाममा आर्थिक कारोबार गर्दै आएको थियो भने पोखरामा सोही नामको छुट्टै सहकारी दर्ता गराएका थिए । नेपालीको सम्पत्ति बैंकहरुले लिलामी प्रक्रिया अगाडि बढाएपछि त्यो गुम्न नदिनकै लागि भन्दै सञ्चालक समिति नै ब्युँताइएको छ ।

३५ करोडको लागि सवा २ अर्बको सम्पत्ति लिलाम हुन लागेको भन्दै सहकारीकै नाममा सम्पत्ति ल्याउने भन्दै समिति ब्युँताइए पनि अदालतमै मुद्दा विचारधीन रहेको र मुख्य आरोपी फरार नै रहेकाले केही गर्न सक्ने अवस्था भने छैन । नेपालीले सम्पत्ति सुम्पिन चाहान्छु भने पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी छ भने रेडकर्नर नोटिससमेत जारी भइसकेको छ ।

‘उनी पक्राउ नपरी कुनै पनि समस्याको समाधान हुँदैन । अदालतमा उपस्थित त हुनैपर्छ । त्यसपछि अदालतको आदेशबमोजिम अगाडि बढ्ने कुरा हो,’ गण्डकी प्रदेश प्रहरी प्रमुख विकासराज खनालले भने, ‘उनले कहाँबाट कसरी फेसबुक चलाएका छन् भन्ने प्राविधिक जाँच पनि गर्दैछौं । उनको खोजी कार्य छ ।’

देवकुमारका तर्फबाट पीडितहरुसँग समन्वयन गरिरहेका अधिवक्ता नानीबाबुकै रोहबरमा बागलुङमा विशेष साधारण सभा गरी कृष्णबहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति ब्युँताइएको छ भने पोखरामा हरिबहादुर खत्रीको संयोजकत्वमा ब्युँताइएको छ। तर, यो समितिले बचतकर्तासँग समन्वय गर्ने, दबाब दिनेबाहेक अरु काम गर्न सक्ने स्थिति भने छैन ।

‘उहाँ आउनुहुन्न, प्रहरीले पक्राउ गर्दैन । अब के गर्ने ? अब अघिल्लो पटक मेरो निजी सम्पत्ति हो भनेका थिए, सहकारीको सम्पत्ति कहाँ छ त्यसो भए भनेर त्यसको प्रतिवाद गर्यौं । सम्पत्ति शुद्धीकरणले पनि सम्पत्ति कहाँ छ भनेर खोज्न थालेपछि बचतकर्ताको रकम र केही ऋण लिएर जोडेको बताएका छन् ।

उनले बचतकर्ताको रकम यहीँ छ भन्नमात्रै खोजेको हो यसपटक,’ इमेज सहकारीका पीडितहरुको संयुक्त संघर्ष समितिका संयोजक कार्कीले भने ।

यसअघि नेपालीलाई कसरी झिकाउन र सहजीकरण गर्न सकिन्छ भनेर प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा राजनीतिक दल, प्रहरी प्रशासनसहितको छलफल गरिएको कार्कीले बताए । तर, उनी कुनै पनि हालतमा आउनैपर्ने निश्कर्ष निकालिएको उनको भनाइ थियो ।

‘नेपाली कहाँ छन् भन्ने नै थाहा छैन, उनकै वकिलले पनि ह्वाट्सअपमा कुरा हुन्छ, मलाई पनि थाहा छैन कहाँ छन् भन्छन्,’ कार्कीले भने, ‘सहकारी ब्युँताउनेदेखि बैंकलाई पत्र लेखेर लिलामी रोक्न आग्रह गर्नेसम्मको काम गरेका छौं, अब उहाँलाई सहज बनाइदिने काम राज्यको हो ।’

मन्त्रिपरिषदको बैठकले अन्य आर्थिक लेनदेनसरह सरकारी वकिलको कार्यालयमार्फत मिलाउन पाउने निर्णय गरेकाले केही सहज पनि हुन सक्ने बचतकर्ताको आशा छ । तर, त्यसका लागि भने देवकुमार नखुली सम्भावना नरहने प्रदेश प्रहरी प्रमुख खनालले बताए ।

बरु उनी कुन देशमा छन्, त्यहाँको प्रमाणित कागजात पठाएर आफ्नो जग्गाजमिन सहकारी वा सरकारका नाममा सुम्पिन्छु भन्ने हो भने पनि सम्भावना रहन सक्ने देखिएको कार्कीले बताए । ‘उनी नेपालमै नभएको अनुमान गरिएको छ, जुन देशमा छौं त्यहाँको प्रमाणित गरेर कागजात पठाऊ, हामी यहाँ हिसाब मिलाउँछौं भन्दा पनि गर्दैनन्,’ कार्कीले भने, ‘वक्तव्यबाजी गरेरमात्रै त के हुने हो र ? सहकारीको बचत रकम जसै देखाउनुपर्ने भएपछि त्यसैबाट यी सम्पत्ति किनेको हुँ भनेर मंगलबार स्वीकार गरे, त्यही हो ।’

नेपाली पक्राउ परेपछि कसरी प्रक्रिया अगाडि बढ्छ भन्ने कुरा अदालतको आदेशमा भर पर्ने प्रदेश प्रहरी प्रमुख खनालको भनाइ छ । राष्ट्रिय सहकारी बैंकबाट २५ करोड, गरिमा र ग्लोबलबाट सहकारीले १० लाख गरी ३५ लाख रुपैयाँ ऋण लिएकोले सम्पत्ति लिलामीको प्रक्रिया अगाडि बढाएपछि बचतकर्ता संगठित भएर विशेष साधारण सभामार्फत संस्था ब्युँताएको उनीहरुको भनाइ छ ।

बैंकहरुले २ अर्बको सम्पत्ति ३५ करोडका लागि लिलामी निकालेपछि नेपालीका तर्फबाट वकिल गएर बचतकर्तालाई भेटेका थिए । त्यहीअनुसार ६ महिनाभित्र सबै सहकारीको हिसाब मिलाउने भन्दै बैंकहरुलाई पत्र नै लेखेर आग्रह गरिको दिलबहादुरले बताए । बागलुङको इमेज सहकारी गण्डकी प्रदेश मातहत छ भने पोखराको सहकारी महानगर मातहतकोे छ ।

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?