+
+
सहकारी संकट-१७ :

इमेज सहकारीको हिनामिना : तिब्बती श्रीमतीको साइनो लगाएर उठाएका थिए पैसा

अमृत सुवेदी अमृत सुवेदी
२०८० साउन ५ गते १९:५५

५ साउन, पोखरा । सिर्जनचोकस्थित इमेज बचत तथा ऋण सहकारीको ताला लगाइएको गेटमा अँध्यारो अनुहार बनाएर टोलाइरहेकी थिइन्, ४० वर्षीया शान्ति विक । अहिले उनलाई परेको पीडा न खोल्न सकेकी छन् न खुसी मनले कसैसँग बोल्न । ७ वर्ष कुवेत बसेर कमाएको १८ लाख रुपैयाँ इमेज सहकारीमा जम्मा गरेकी थिइन् । श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि सहकारीमा रहेको रकमले छोरी पढाउन र केही उद्यम गरेर खान योजना बुनेकी थिइन् ।

शान्तिका अनुसार सहकारीका म्यानेजर दीपक पौडेलसँग सूर्यदर्शन सहकारीमा चिनजान भएको थियो । उनै पौडेलले इमेज सहकारीमा १६ प्रतिशत ब्याज दिने आश्वासन दिएर पैसा जम्मा गर्न लगाएका थिए । तर सहकारीका अध्यक्ष देवकुमार नेपाली, म्यानेजर पौडेल सार्वधारणले सहकारीमा रकम हिनामिना गरेर फरार भएपछि शान्तिको दैनिकी अशान्त बनेको छ ।

०००

देवकुमारको श्रीमती छेला तिब्वती नागरिक हुन् । उनैमार्फत इमेज सहकारीमा सुरुमै जोडिए, हेमजास्थित तिब्बती शरणार्थी क्याम्पका टासी वाङ्दु । तिब्बती छोरीचेलीले खोलेको सहकारी, त्यसमाथि ब्याज पनि धेरै आउने भएकाले उनले नेपाल बैंकमा रहेको पैसा समेत निकालेर यता जम्मा गरे । छोराछोरीले विदेशबाट पठाएको पैसासमेत त्यहीँ राखे । उनले यसरी करिब ७० लाख रुपैयाँ जम्मा गरेको सहकारीका सञ्चालकहरु फरार भएपछि वाङ्दुलाई निन्द्रै पर्दैन । वाङ्दु भन्छन्, ‘लुकेर हुँदैन, जहाँ भएपनि फर्किएर व्यवहार मिलाइदिनु ।’

टासी वाङ्दु मात्र होइन, हेमजा र पृथ्वीचोकको क्याम्पका धेरै तिब्बतीलाई छेलाले इमेज सहकारीमा जोडेका थिए । ‘छोरीचेलीले भन्यो भनेर जम्मा गरियो । अहिले आएर घर न घाटको होलाजस्तो भयो’ इमेजमा ५० लाख जम्मा गरेका अर्का तिब्बती नाम्डु लामा भन्छन्, ‘भागेर हुँदैन, जहाँ भए पनि आऊ र समस्या समाधान गर । बरु हामी पनि सहयोग गर्छौं ।’

०००

पसलबाट हुने आम्दानी बचत गर्दा साह्रोेगाह्रो पर्दा तुरुन्तै निकाल्न पाइन्छ, १६ प्रतिशत ब्याज पनि आउँछ भनेपछि कोपिला गैरेले इमेज सहकारीमा पैसा जम्मा गर्न थालिन् । उनको करिव १६ लाख रुपैयाँ बचत थियो । पैसा निकालेर जग्गामा लगाउने योजना बनाएकी उनी सहकारी पुगिन्, तर अहिले निकाल्न नमिल्ने भन्दै पर्काए । २/४ दिन पर्खिन भनेको सहकारीका अध्यक्षसहिथ सञ्चालक नै फरार भएको खबर सुनेपछि कोपिलालाई रन्थनाइरहेको छ ।

शान्ति विक, टासी वाङ्दु र कोपिला गैरे मात्र होइनन्, गाँस कटाएर पैसा जम्मा गर्ने नागरिकदेखि ब्याज धेरै पाउने आशामा डिपोजिट गर्ने इमेज सहकारीका बचतकर्ता अहिले आकुलब्याकुल छन् ।

कतिपय त सहकारीमा रकम राखेको थिएँ भन्न सक्ने अवस्थामा समेत छैनन् । ‘थोरै रकम उभारेर बचत गरेको हो । घर परिवारलाई भनिएको थिएन,’ एक बचतकर्ताले भनिन्, ‘अब पैसा जम्मा गरेको कुरा खुलाउँदा घरमा झन् अविश्वास हुनसक्छ । म त डिप्रेसनमा जान लागिसकें ।’

इमेज सहकारीका संस्थापक अध्यक्ष तिनै हुन्, जसलाई बागलुङको ढोरपाटन नगरपालिकाका जनताले दुई पटक मेयर जिताएका थिए । तिनै देवकुमारले बागलुङ र पोखरामा इमेज सहकारी सञ्चालन गरेका थिए । तर दुवै सहकारीको करिव २ अर्ब हिनामिना गरेर उनी फरार भएका छन् ।

सूर्यदर्शनमा अध्यक्ष हुन नपाएपछि खोले इमेज

पोखराको सूर्यदर्शन सहकारीमा उपाध्यक्ष भइसकेका देवकुमार अध्यक्ष हुन चाहन्थे । तर सञ्चालक समितिमा आफ्नो नाममा सहमति नजुटेपछि कर्मचारीको टिम नै लिएर सूर्यदर्शनबाट बाहिरिए । त्यो बेला उनलाई साथ दिने व्यक्ति थिए सूर्यदर्शन सहकारीका व्यवस्थापक दीपक पौडेल । दीपकले नै दिएको सुझाव अनुसार देवकुमारले २०६८ सालमा इमेज सहकारी खोले ।

यसले देवकुमारको अध्यक्ष हुने धोकोमात्र पूरा भएन, रातारात धनी बन्ने माध्यम समेत सहकारीलाई बनाए । पोखरामा सहकारी खोलेको अर्को वर्ष उनले बागलुङमा इमेज सहकारी नै नाम राखेर अर्को सहकारी खोलेका थिए । प्रदेश सहकारी रजिस्टार रोशन अर्यालका अनुसार बागलुङमा प्रमुख कार्यालय राखिएको सहकारीले बुर्तिबाङ तथा गलकोटमा सेवा केन्द्र पनि खोलेको थियो ।
तर उनले बागलुङ र पोखराको सहकारीमा जम्मा भएको रकमलाई देवकुमारले दुरुपयोग गर्ने गरेको पाइएको छ ।

६५ करोड कारोबार गर्ने सहकारीले १५ करोड मात्र ऋण लगानी देखिन्छ । ‘सञ्चालक समितिका पदाधिकारी जो सुकै भएपनि आफ्नै कोटको खल्तीमा राखेको पैसा जसरी सहकारीको पैसा चलाएको देखिन्छ,’ पोखरा महानगरका सहकारी शाखा प्रमुख भरतराज पौडेलले भने ।

पोखरा महानगरपालिका, सहकारी शाखा प्रमुख भरत पौडेलका अनुसार पोखरामा सञ्चालक समितिदेखि खातासम्म फर्जी बनाएको पाइएको छ । देवकुमार र दीपकले मिलेरै ५० लाख रुपैयाँभन्दा बढीको बचत रकम सिस्टममै नदेखाइएको पौडेलले बताए । कीर्ते खाता बनाउने र त्यसैबाट कारोबार गर्ने, जुनसुकै बेला मनपरी पैसा निकाल्ने र व्यक्तिगत प्रयोग गर्ने पाइएको हो ।
सहकारीको रकम हिनामिना गरेका देवकुमारले व्यवस्थापक दीपक पौडेलसँग मिलेर कास्कीमा घडेरी किनेका थिए ।

‘सहकारीबाट पैसा निकाल्ने ठाउँ ठाउँमा घडेरी किन्ने गरेको देखिएको छ’ पौडेल भन्छन्, ‘कतिपय बचत सिस्टममै इन्ट्रीसमेत नगरिएको देखिन्छ । ५० लाखभन्दा बढीको बचतै देखिँदैन । जबकि डेढ करोड रुपैयाँसम्म एउटै व्यक्तिले पनि बचत गरेको देखिएको छ ।’

सहकारी समस्या बाहिरिएपछि चैत र वैशाखमा गरी ४ वडा घडेरी बिक्री गरेको पाइएको छ । देवकुमार, उनको श्रीमती छेला, व्यवस्थापक दीपक पौडेलको नामबाट रहेको घडेरी बिक्री गरेको देखिएको सहकारी शाखा प्रमुख पौडेलले जानकारी दिए । पोखरा रत्नचोक, शिवालय चोकमा अझै देव र श्रीमतीको नाममा जग्गा देखिएको छ । पोखरा नयाँ बजारमा पनि देवकुमारको घडेरी देखिएको छ । सिर्जनचोकस्थित कर्मा कम्प्लेक्स पनि देवकुमारकै नाममा छ । इमेज सहकारी पहिले पोखरा न्यूरोडमा थियो । देवकुमारले २०७१ साउन २९ गते सिर्जना चोकको जग्गा किने, त्यही जग्गामा कर्मा कम्प्लेक्स बनाएपछि त्यही भवनमा सरेको छ ।

इमेज सहकारी पोखराका अध्यक्ष चित्रबहादुर भण्डारी छन् । एक महिनाअघि बागलुङमा पक्राउ परेका उनी हिरासतमा छन् । अध्यक्ष देवकुमार, व्यवस्थापक दीपक पौडेलसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी भएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

इमेज सहकारी पीडितले समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । समितिका अध्यक्ष हरिबहादुर खत्रीका अनुसार पोखरामा करिब १ हजार जना बचतकर्ता रहेको अनुमान गरिएको बताए । अहिलेसम्म ३९४ जनाले जाहेरी दिएका छन् भने ६५ करोडभन्दा बढी रकम बचतकर्ताले दाबी गरेका छन् ।

‘हेलिकप्टरमा हिँड्थे, ल्याण्ड गर्ने आफ्नै घरको छत हुन्थ्यो । बागलुङ, पोखरामा ठाउँ ठाउँमा दरबारजस्ता भवन थिए । यस्तो व्यक्ति र सहकारी डुब्ला भन्ने कसैले कल्पना नै गरेनन्,’ संघर्ष समितिका अध्यक्ष खत्री भन्छन्, ‘ढोरपाटन नगरपालिकाका मेयर समेत भएकाले विश्वास गरियो ।’

२०५४ सालबाटै देवकुमारसँग संगत गरेका र सूर्यदर्शन सहकारी हुँदै इमेजसम्म नियालेका ठाकुर सापकोटा सहकारी यो अवस्थामा आउनुमा अध्यक्ष देवकुमार महत्वकांक्षा भएको बताउँछन् । ‘संस्थालाई संस्थाकै रुपमा चलाउनुहोला भन्ने लागेको थियो । तर संस्थालाई व्यक्तिगत स्वार्थमा लगाउनुभयो,’ सापकोटाले भने, ‘अनुत्पादन र व्यक्तिगत जीवनमै धेरै लगानी गर्नुभयो ।’

पैसा तिर्ने सम्झौता गरेर ३ दिनपछि फरार

पछिल्लो समय सहकारीले पैसा नदिएपछि बचतकर्ता पोखरा महानगरको सहकारी शाखामा पुगेका थिए । रकम हिनामिना भएको गुनासो आएपछि महानगरले सहकारीका अध्यक्ष देवकुमारलाई बोलायो ।

गुनासोपछि २८ वैशाखमा पोखरा महानगरमा आएका देवकुमारले बचकर्ताको रकम फिर्ता गर्ने लिखित सहमति गरे । ‘३ दिनभित्र सबै विवरण बुझाउने र बचतकर्ताको सबै हिसाब मिलाउने लिखित सहमति नै गरेका थिए,’ सहकारी शाखा प्रमुख भरतराज पौडेलले भने, ‘जेठ २ गते पनि उनी महानगर पनि आएर केही विवरण दिए । तर पर्सिपल्ट त उनी फरार भएछन् ।’
ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका सहकारी अध्यक्ष देवकुमार ५ जेठदेखि सम्पर्कबिहीन छन् ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट-१४

सहकारी संकट-१५

सहकारी संकट-१६

सहकारी संकट
लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?