 
																			२७ असार, काठमाडौं । चितवनका सुरजलाल तिवारीले पशुपति सेभिङ एण्ड क्रेडिटमा राखेको बचत र त्यसको ब्याज गरेर १ करोड २६ लाख रुपैयाँ पुगेको थियो ।
सहकारी संकटमा परेको थाहा पाएपछि मुद्दती निक्षेपका रूपमा जम्मा गरेको रकम फिर्ता माग्दै तिवारी धेरैपटक सहकारी धाए, तर पैसा पाएनन् ।
सहकारीले एउटा अफर भने गर्यो, ‘सहकारीले जग्गा दिन्छ, रकम थप गर्नुहोस् !’ सहकारीमा भएको रकम डुबाउनु भन्दा बरु जग्गा लिए केही होला भन्ने ठानेर अफरबारे थप जिज्ञासा राखे । सहकारीले चितवनको पिठुवामा रहेको ५ कट्ठा जग्गा पास गरिदिने बतायो । जग्गाको मूल्य २ करोड ६० लाख रुपैयाँ तोक्यो र, तिवारीलाई एक करोड ३४ लाख रुपैयाँ थप गर्न भन्यो ।
चितवनकै बासिन्दा उनलाई थाहा थियो, त्यो जग्गा सहकारीले मूल्य राखे जस्तो महँगो होइन । तर डुबेको पैसा उठ्ने आशमा जग्गा लिन सहमत भए । ‘१० वटा घडेरी निस्किने जग्गा लिंदा डुब्ने जोखिममा रहेको पैसा उत्रिने आशमा सहकारीको प्रस्तावमा सहमति जनाएँ’ तिवारीले भने, ‘तर जग्गा त कौडीको भाउको रहेछ । बचतको पैसा उठाउन खोज्दा खल्तीको पनि डुब्यो ।’
काठमाडौंका डिल्लीप्रसाद तिमल्सिना पनि पशुपति सहकारीबाट ठगिएका अर्का पीडित बचतकर्ता हुन् । सहकारीमा बचत गरेको २० लाख रुपैयाँ लिन उनी लामो समय धाए । तर सहकारीले रकम फिर्ता गर्ने सुरसारै गरेन । अनेक बहाना बनाएर झुलाएको सहकारीले अन्तिममा बचत रकममा थप गरेर जग्गा लिन अफर गर्यो । थप ३० लाख दिए चितवनमा १८ धुर जग्गा पास गरिदिने र त्यसमा प्लटिङ पनि गरिदिने आश्वासन दिए ।
तिमल्सिनाले ३० लाख ऋण गरेर सहकारीमा बुझाए । जग्गा पास गर्नुअघि त्यो जग्गाको प्लटिङ गर्ने तथा बिजुली, खानेपानी जोड्ने भनेर बिचौलिया सुदेशबाबु बानियाँले थप १५ लाख मागे । ‘२०७८ फागुन १२ गते सहकारीले फिक्स्ड बचतको कागज खोसेर जग्गा दिने समझदारी भयो । लालपुर्जा पनि आयो’ उनी भन्छन्, ‘पछि गएर जग्गा हेर्दा त अनकन्टार ठाउँमा पो रहेछ ।’

काठमाडौंकी शोभा खड्गीको परिवारले पशुपति सहकारीमा ३८ लाख रुपैयाँ राखेको थियो । पटक-पटक पैसा फिर्ता माग्दा नदिएको सहकारीले जग्गा लिन प्रस्ताव गर्यो । खड्गी परिवारले १९ लाख रुपैयाँ थपेर ५९ लाखमा जग्गा लिए ।
जग्गा कहाँनेर हो, खड्गी परिवारलाई थाहा छैन । ‘नगद डुब्ने भयो, बरु जग्गा भए पनि लिउँ भन्ने भएपछि हामीले जग्गा पास गरेका हौं’ खड्गीले अनलाइनखबरसँग भनिन्, ‘अझै सहकारीबाट केही रकम उठाउन बाँकी छ ।’
सुरजलाल, डिल्लीप्रसाद र शोभा प्रतिनिधि पात्र मात्र हुन्, पशुपति सहकारीका धेरै बचतकर्ता यसरी नै ठगिएका छन् । सहकारीका अध्यक्ष सीबी (चन्द्रबहादुर) लामाले बचतकर्ताको रकम दुरुपयोग गरेर व्यक्ति र कम्पनीको नाममा जग्गा खरिद गर्ने र महँगोमा फेरि बचतकर्तालाई भिडाएको पाइएको छ ।
बचतकर्ताको रकम दुरुपयोग गरी अर्बौंको जग्गा
काभ्रेका सीबी लामाले कान्तिपुर सहकारी चलाइरहेकै बेला केहीपछि २०५५ सालमा पशुपति बचत तथा ऋण सहकारी खोलेका थिए । कान्तिपुरमा आफू अध्यक्ष थिए, पशुपतिमा श्रीमतीलाई अध्यक्ष बनाएका थिए । २०७४ सालमा एकै परिवारको व्यक्ति दुई सहकारीको सञ्चालक बन्न नपाउने नियम आयो । त्यसपछि लामाले कान्तिपुरको अध्यक्ष छोडे र पशुपतिको अध्यक्ष भए ।
कुल निक्षेप करिब १ अर्ब ७२ करोड पुगेको पशुपति सहकारीलाई लामाले निजी कम्पनी जस्तो जथाभावी सञ्चालन गरे । उनले बचतकर्ताको निक्षेप रकम दुरुपयोग गरी आफू सहितका विभिन्न व्यक्ति तथा कम्पनीका नाममा जग्गा किनेको पाइएको छ । त्यति मात्रै होइन, उनले व्यक्तिगत लगानीमा विभिन्न कम्पनी खोली त्यस मार्फत पनि सहकारीको बचत रकम दुरुपयोग गरेको खुलेको छ ।
ललितपुरको भैंसेपाटी र लामाटार, काभ्रेको धुलिखेल र भकुण्डेबेंसी, चितवनको मेघौली तथा रूपन्देहीको बसौली नगरपालिकामा जग्गा रहेको पशुपति सहकारीले बताएको छ । तर यो कुनै पनि जग्गा सहकारीको नाममा छैन ।
ललितपुर र काभ्रेमा रहेको जग्गा संस्थाका अध्यक्ष सीबी लामा, बहादुर लामा तथा पुष्पराज कोइरालाको नाममा देखिन्छ । चितवनको जग्गा सफल चितवन प्रालि र बसौलीमा रहेको जग्गा डायमण्ड इँटा तथा टायल कारखानाको नाममा छ ।
यसबाहेक ललितपुरको बुङ्मती र भक्तपुरको नलिञ्चोक, बाराको निजगढ, चितवनको रत्ननगर र गौतमनगर, बुटवल लगायत स्थानमा पनि जग्गा रहेको पशुपतिका अध्यक्ष लामाले स्वीकार गरेका छन् । तर यो पनि व्यक्तिकै नाममा छ ।
फेरि बचतकर्तासँगै असुल्ने दाउ
आफ्नो निक्षेप फिर्ता नपाएको भनेर बचतकर्ताले उजुरी दिएपछि सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीबी लामालाई पटक-पटक बोलाएको थियो । तर पीडितलाई सम्बोधन नगरेपछि विभागले २९ फागुनमा पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको थियो । तर मन्त्रालयले अहिलेसम्म सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छैन ।
पछिल्लो पटक सहकारी विभागले अध्यक्ष लामा सहित सञ्चालक समितिमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ ।
त्यही बेला लामाले भने बचतकर्तालाई जग्गा दिने भन्दै ५० प्रतिशत कर्जा सुविधा सहित जग्गा बिक्री गर्ने कार्ययोजना अघि सारेका छन् । जसमा आफ्नो निक्षेप फिर्ता मागिरहेका बचतकर्ता थप ठगिने जोखिम देखिन्छ । किनकि उनले सस्तोमा किनेको जग्गाको चर्को मूल्य राखेका छन् र, बचतकर्ताले जग्गा लिंदा कम्तीमा २५ प्रतिशत नगद थप गर्नुपर्ने शर्त राखेका छन् ।
जस्तो, गोदावरी नगरपालिका-९ बुङ्मतीको जग्गाका लागि सहकारीले प्रतिआना ३० लाख मूल्य तोकेको छ । र, बचतकर्ताले यो जग्गा लिने हो भने प्रतिआनामा १८ लाख निक्षेपबाट कटाउन पाउनेछन् भने बाँकी १२ लाख नगद नै बुझाउनुपर्नेछ ।
यसैगरी चितवनको रत्ननगर-१४ भानुचोकमा १० धुरको घडेरीका लागि ४५ लाख रुपैयाँ मूल्य राखिएको छ । यो जग्गा किन्ने बचतकर्ताले २३ लाख आफ्नो निक्षेपबाट कटाउन पाउने छन् भने २२ लाख रुपैयाँ नगद थप गर्नुपर्नेछ ।
यसरी राखिएको मूल्यका आधारमा सबै जग्गाबाट मात्र ९ अर्ब रुपैयाँ पुर्याउन खोजेको उनले पशुपति सहकारीले उपलब्ध गराएको विवरणबाट देखिन्छ ।

ललितपुर, काभ्रे, चितवनको मेघौली, रूपन्देहीको बसौलीको जग्गाको मूल्य २ अर्ब १३ करोड ८२ लाख राखिएको छ । त्यसका अतिरिक्त लामाले सहकारी विभागमा उपलब्ध गराएको थप जग्गामध्ये काठमाडौंको दक्षिणकालीस्थित सौखेलमा १० रोपनी ३ आना जग्गाको मूल्य ४८ करोड ९० लाख रुपैयाँ राखिएको छ ।
ललितपुरको गोदावरी नगरपालिका ९ मा २५ रोपनी, काभ्रेको धुलिखेलमा द्वारिकाज रिसोर्टसँगै ३९ रोपनी ९ आना र चितवनकै रत्ननगरमा १ बिघा १० कट्ठा जग्गा रहेको छ । यसको मूल्य क्रमशः ७२ करोड, १ अर्ब ३१ करोड र २७ करोड रहेको लामाले विभागमा बुझाएको विवरणमा उल्लेख छ ।
रत्ननगरमै २६ करोड ६० लाख मूल्य पर्ने १ बिघा १८ कट्ठा र गौतमनगरमा ४९ करोड २० लाख मूल्य पर्ने ९ बिघा जग्गा रहेको उनको दाबी छ । बाराको निजगढमा २० बिघा जग्गाको ६४ करोड र बुटवलको ५ बिघा जग्गाको मूल्य करिब ६० करोड रुपैयाँ रहेको लामाले बताएका छन् । ललितपुरको बुङ्मती र भक्तपुरको नलिञ्चोकमा २२/२२ रोपनी जग्गा छ, जसको मूल्य आनाको २५ लाख राखिएको छ । पशुपति सहकारी र लामाले दिएको विवरण हेर्दा जग्गाबाट मात्र सवा ९ अर्ब हिसाब देखाइएको छ ।
जबकि पशुपति सहकारीमा १ अर्ब ७२ करोड रुपैयाँ मात्र बचत संकलन भएको थियो । उनले कान्तिपुर सहकारीको स्रोत पनि दुरुपयोग गरेको कान्तिपुर स्रोतले जानकारी दियो । लामाले भने कान्तिपुर सहकारीबाट ऋण लिएको दाबी गरे । ‘कान्तिपुरको निक्षेप फिर्ता गर्न मैले ३५ करोडको जग्गा दिइसकें, बाँकी ऋण पनि तिर्दैछु’ २० करोडभन्दा धेरै ऋण बाँकी रहेको भन्दै उनले भने ।
बचतकर्ताहरू भने लामाले आफूहरूले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग गरेर जग्गा किनेको र त्यही जग्गा महँगोमा भिडाएर थप रकम उठाउन खोजेको बताउँछन् ।
जग्गा खरिदमा आफूहरूबाट थप रकम असुल्न सहकारीले नै बिचौलिया प्रवेश गराएको पीडितहरूको आरोप छ । सहकारीले दिने जग्गामा पैसा थपेपछि पनि जग्गा पास र प्लटिङका लागि भन्दै प्रति घडेरी १०-१० लाख रुपैयाँ मागिएको छ । जग्गामा पानी, बिजुली र ढल तथा सडक पुर्याउने भन्दै रकम माग गरिएको थियो । यसका लागि सहकारीले सुदेश बानियाँलाई बिचौलियाका रूपमा खडा गरेको चितवनमा जग्गा लिएका बचतकर्ता तिवारी बताउँछन् ।
‘पाँच कट्ठा जमिनलाई २ करोड ६० लाख पर्दैनथ्यो । बत्ती, पानी, ढल लगायत सुविधा दिने भनेकाले भोलि कुनै समयमा मूल्यवान् हुने आशमा सहमति जनाएँ’ उनले भने, ‘तर सहकारीले खडा गरेका बिचौलिया बानियाँले जग्गा पास गर्नका लागि प्रति टुक्रा थप १० लाख चाहिने भन्दै अड्को थापे ।’
सहकारी भाग्ला भन्ने डर भएकाले रकम बुझाएर पास गरेको उनले सुनाए । ‘अहिले आएर बुझ्दा त हामी तेहरो ठगियौं’ तिवारी भन्छन्, ‘पहिलो एक करोड २६ लाख उठाउन २ करोड २४ लाख खर्च भयो । पहिले दिन्छु भने भन्दा कम जग्गा पाइयो । अनि, पाएको जग्गाको अहिलेको मूल्य लागत भन्दा निकै कम छ ।’

अर्का पीडित डिल्लीप्रसाद तिमल्सिना पनि २० लाख रुपैयाँ उठाउन थप ३५ लाख रुपैयाँ खर्चिएर लिएको जग्गाको बजार भाउ मुस्किलले २७ लाख रहेको बताउँछन् ।
टाँडीबाट साढे ३ किलोमिटर दूरीमा पर्ने जंगलको छेउको जग्गाको भाउ प्रतिधुर एक लाखदेखि डेढ लाखसम्म मात्रै रहेको थाहा पाएको भन्दै उनले आफूहरू ठगिएको दुःखेसो गरे । ‘हामीलाई पशुपति सेभिङ एण्ड क्रेडिटले दिनदहाडै ठग्यो’ उनले भने, ‘बचत उठाउन गरेको लगानी पनि जोखिममा पर्यो । हामीलाई न्याय चाहियो ।’
तर पशुपति सहकारीले भने आफूलाई अनुकूल हुने गरी लिखितम गराएको पाइएको छ । ‘सहकारीको फिक्स डिपोजिटमा राखिएको बचतमा रकम थप गरी जग्गा लिन राजी भएको र यसबापत संस्थालाई हानि-नोक्सानी गर्ने, गाह्रो-अप्ठ्यारो, उजुर-बाजुर गरिने छैन भन्ने’ व्यहोराको लिखितम गराइएको छ ।
सहकारी संकट-१
सहकारी संकट-२
सहकारी संकट-३
सहकारी संकट-४
सहकारी संकट-५
सहकारी संकट-६
सहकारी संकट-७
सहकारी संकट-८
सहकारी संकट-९
सहकारी संकट-१०
सहकारी संकट-११
सहकारी संकट-१२
सहकारी संकट-१३
 
                









 
                     
                                     
                                         
                                 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4