+
+

अयोध्या : एक आनन्दित यात्रा

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८० माघ २४ गते १७:३७

अयोध्या धार्मिक पर्यटनको एउटा गज्जब गन्तव्य । पछिल्लो समय निर्मित राम मन्दिरले यसलाई अरु सुशोभित बनाएको छ ।

भनिन्छ, भारतको उत्तरप्रदेशमा अवस्थित अयोध्या कुनै बखत कौशल राज्यको राजधानी थियो । त्यहाँ सूर्यवंशी राजा (राम)ले राजकाज चलाउँथे । त्यही अयोध्या अहिले प्राचीन विरासत बोकेर जगमगाएको छ ।

के छ अयोध्यामा ?

सर्यु नदीको छेउमा अयोध्या नगर छ । सानो र चिटिक्क परेको, घरको सडकपट्टिको भित्तामा एउटै रङ लगाएको अनि एकै किसिमको साइनबोर्ड राखिएको मुख्य सडकले सर्युघाट र हनुमानगढी (जहाँ विशाल हनुमान मन्दिर छ) हुँदै राम मन्दिरलाई जोडेको छ ।

करिब दुईदेखि तीन किलोमिटरको बाटोमा नै सर्यु नदीलगायत हनुमानगढ़ी, कनक भवन, दशरथ महल र अहिलेको विशाल राम मन्दिरको दर्शन गर्न सकिन्छ । यसै बाटोमा अयोध्याको कोसेली, प्रसाद आदि किनमेल गर्न सकिन्छ । यसबाहेक अयोध्यामा मणि पर्वत, नागेश्वरनाथ मन्दिर, तुलसी स्मारक भवन आदिको अवलोकन रमाइलो हुन्छ ।

मानसरोवर तालबाट उत्पति भएको सर्यु शारदा नदी हुँदै अयोध्यामा विशाल र शान्त छ । पवित्र नदीका रुपमा पुजिने यो नदी पछि गंगामा मिसिन्छ । यसमा नुहाउनु पनि अयोध्या भ्रमणको एउटा महत्वपूर्ण पक्ष हुन्छ । यसै घाटमा हुने आरती, अनि दैनिक रुपमा हुने धार्मिक कन्सर्ट, संगीतमय पानीको फोहरा (म्युजिकल फाउन्टेन)ले अयोध्याका लतामंगेशकर चौक निकै रमणीय बनेको पाएँ ।

लाखौं मान्छे अटाएको सो घाटमा बस्ने, खाने मात्र होइन, प्रशस्त शौचालय समेतको व्यवस्थापन भएको देख्दा हाम्रा तीर्थस्थलहरुमा शौचका लागि भौतारिनु परेको पनि सम्झिन बाध्य भए ।

उच्च सुरक्षाबीच ठूलो क्षेत्रमा रहेको अहिलेको चर्चित रामललाको राम मन्दिर परिसरमा प्रवेश गर्दा मनमा छुट्टै आनन्द आउने रहेछ । मोबाइल, घडीलगायत धातु, फूल-प्रसाद केही पनि लिएर जान नपाउने यस मन्दिर प्रवेश गर्दा निःशुल्क लकरको व्यवस्था गरिएको छ । हजारौंको संख्यामा रहेको लकरमा सामान राख्दा बहुमुल्य सामानहरु देखाएर उल्लेख गरेर राखिने रहेछ । दुई पटक सुरक्षा जाँचपछि विशाल भवनमा प्रवेश पाइन्छ । चार लाइनमा प्रवेश गरिने मन्दिरभित्र कतै बस्न, उभिन पर्दैन र लाइन बिस्तारै बिस्तारै अगाडि बढिरहेको हुन्छ । न फूल-प्रसाद चढाउनुपर्ने, नछोएर ढोग्नुपर्ने, ३–४ फिट दूरीबाट दर्शन मात्र गर्न पाइने भएकाले खासै समय लाग्दैन ।

धेरै खर्चिलो छैन

अयोध्याको बसाइ धेरै खर्चिलो हुँदैन । होटलहरुमा एक हजारदेखि दुई हजार ५०० भारुसम्ममा कोठा पाइन्छ भने धर्मशालाहरुमा ३०० देखि ६०० सम्ममा कोठा पाइने रहेछ । १० रुपैयाँमा चिया, ३० देखि ६० रुपैयाँमा शाकाहारी मःम, समोसा अनि ७५ देखि १४० सम्ममा खाना पाइन्छ । अयोध्या क्षेत्रमा माछा-मासु पाइँदैन र अधिकांश होटलमा लसुन-प्याज प्रयोग गरिएको हुँदैन ।

कसरी पुग्ने ?

अयोध्या धेरै टाढा छैन नेपालबाट । नेपालको पश्चिम तराईसँग भारत उत्तरप्रदेश जोडिएको छ । त्यसैले पश्चिम तराईबाट निकै नजिक छ । त्यहाँ पुग्न एक मात्र बाटो छैन । भारतसँग जोडिएका सबै नाकाबाट अयोध्यासम्म पुग्न सकिन्छ ।

नेपालको भैरहवाबाट करिब २०० किलोमिटरमा रहेको अयोध्या पुग्न भैरहवाबाट मात्र चार घण्टा लाग्छ । अर्थात् भैरहवाबाट बिहान ४ बजे निस्किए ८ बजे अयोध्या पुगेर, सर्जुमा नुहाएर पनि मध्यान्ह हुनु अगाडि नै राम मन्दिर दर्शन गर्न सकिन्छ ।

यदि फर्किने इच्छा भए गोरखपुरमा गोरखनाथको आरती अवलोकन गर्दै फेरि भैरहवा आउन सकिन्छ । विराटनगर तथा पूर्वबाट अयोध्या जानेहरुका लागि पनि यो मार्ग उत्तम हुने थियो । तर अहिले महेन्द्र राजमार्गको अवस्था यात्रा गर्ने लायक छैन । यो राजमार्ग निर्माणधिन रहेको वर्षौं भयो र अझ कति लाग्छ निश्चित छैन । यो मार्ग जानेहरुले भैरहवामा एक दिन अझै लम्ब्याएर लुम्बिनी पनि भ्रमण गर्न सक्ने थियो ।

महेन्द्र राजमार्ग उपयुक्त नभएकाले विराटनगरबाट जोगबनी हुँदै भारतको राष्ट्रिय राजमार्ग (एनएच) हुँदै हामी करिब १४ घण्टामा अयोध्या पुग्यौं । हुन त विराटनगरबाट कटिहार पुगेर रेलमार्ग र दरभंगा पुगेर हवाईमार्गबाट पनि एक दिनमा नै अयोध्या पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?