+
+

‘टोलीमा परेपछि आँसु आयो, बुबासँग बोल्नै सकिनँ’

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ २४ गते २१:०५

२४ माघ, काठमाडौं । नेपालले क्यानडासँग तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्ने क्रिकेट टोली घोषणा गर्दा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल पहिलो पटक परे ।

यसअघि कहिल्यै बन्द प्रशिक्षणमा पनि नपरेका रिजन सिधै राष्ट्रिय टोलीमा पर्दा उनी निकै उत्साहित भएका छन् ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशबाट खेल्दा रिजनले राम्रो प्रभाव छाडेपछि पछिल्लो एक वर्षदेखि नेपाली टिममा पर्दै आएका प्रतिश जिसीको स्थान लिएका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो नाम आएको क्षण रिजनको कहिल्यै नभुल्ने क्षण बनेको छ । ‘यो क्षण बताउन गाह्रो नै हुन्छ । मैले देख्ने बितिक्कै आँखाबाट आँसु झर्‍यो’, उनले भने ।

रिजनले राष्ट्रिय टोलीबाट क्रिकेट खेलेको हेर्ने उनका बुबा राजुको ठूलो धोको थियो । राष्ट्रिय टोलीमा परेको खबर पाउनेबित्तिकै रिजनले बुबालाई फोन गरे । ‘तर म बोल्नै सकिँ, रुँदै कुरा गरेँ । बुबा पनि धेरै भावुक हुनुभयो’, रिजनले सुनाए ।

यस पटकको प्रधानमन्त्री कपमा उनले ९ खेलमा १५ विकेट लिए । सिनियर टोलीका पहिलो रोजाइका बलर सोमपाल कामी (१९) पछि सर्वाधिक विकेट लिने तीव्र गतिका बलरमा रिजन नै परे ।

‘नढाँटी भन्दा मैले नेपाली टोली सोचेको थिइनँ । नेपाल ए मा पर्छु भन्नेमा मलाई विश्वास थियो । भगवानको कृपाले एउटा पूरा भयो । धेरै खुसी छु’, उनी भन्छन् ।

सन् २०२१ को एभरेष्ट प्रिमियर लिग (ईपीएल) रिजनले ललितपुर प्याट्रियट्सबाट खेलेका थिए । भैरहवा ग्ल्याडियटर्सविरुद्धको खेलमा ओपनर बंगलादेशी खेलाडी तमिम इकबाललाई १४ रनमा आउट गरेका थिए । त्यो समय उनले लिएको सर्वाधिक ठूलो विकेट थियो ।

‘त्यो विकेटले मेरो करिअरमा धेरै फरक पार्‍यो । इकबाल टेस्ट राष्ट्रको एकदमै ठूला ब्याटर हुन् । ईपीएल मेरो लागि ठूलो स्टेज थियो’, उनले भने ।

रिजनको बाल्यकाल

हेटौंडाका २४ वर्षका रिजनका बाबु राजु खेलकुद भनेपछि हुरुक्कै हुन्थे । बुबा र उनका साथीहरु घर नजिकै प्लटिङको जग्गामा कहिले फुटबल त कहिले क्रकेट खेल्थे । सानोमा रिजन पनि राजुसँगै खेल हेर्न जान्थे ।

स्कुल जान थालेपछि उनले क्रिकेट खेल्न थाले । तर माथिल्लो कक्षामा पुगेपछि शिक्षकहरुले पढाइ बिग्रने भन्दै क्रिकेट खेल्न दिएनन् । २०७० सालमा एसएलसी दिएपछिका बिदामा भने उनले मज्जाले क्रिकेट खेले । त्यो बिदाको तीन महिनामा उनले बलिङमा नै मिहिनेत गरे ।

यू–१६ मा च्याम्पियनबाट यात्रा

सन् २०१४ मा यु–१६ को राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा मकवानपुरले पाएको एउटा कोटामा रिजन छानिए । प्रशिक्षणमा राम्रो गरेपछि प्रशिक्षक वसन्त शाहीले उनलाई नेपालको यू–१६ टोलीमा राखे । थाइल्यान्डमा नेपालले एसीसी यू–१६ को उपाधि जित्दा उनले दुई खेल खेल्ने अवसर पाएका थिए ।

बहराइन र फाइनलमा मलेसियाविरुद्ध १–१ विकेट लिए । ‘म त्यो बेला १५ वर्षको थिएँ । धेरै नै रमाएको थिएँ । उपाधि जित्दा खुसी छुट्टै थियो’, उनी भन्छन्, ‘मलाई त्यो बेला सुपर पावर भएको मान्छे जस्तो फिलिङ्स आएको थियो ।’
यू–१९ क्रिकेटमा एक खेल मात्रै

नेपालको यू–१९ टोलीमा पर्न रिजनले धेरै संघर्ष र प्रतीक्षा गरे । सन् २०१४ मा यू–१९ को क्षेत्रीय प्रतियोगिता तत्कालीन क्षेत्र नम्बर २ बाट खेल्दा खासै राम्रो प्रदर्शन गर्न सकेनन् र टोलीमा पर्न सकेनन् । यू–१९ विश्वकपपछि धेरै खेलाडीले टोली छाडे र उनी सन् २०१६ मा मकवानपुरको कोटाबाट टोलीमा स्थान बनाए ।

सन् २०१७ को जुलाइमा सिंगापुरमा भएको यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने टोलीमा भने रिजनले खेल्न पाए ।

उनले मलेसियाविरुद्ध ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिएका थिए । उनले खेल्ने मौका पाएको त्यही एक मात्रै खेल थियो ।

दुई वर्ष मैदान बाहिर

यू–१९ विश्वकप छनोट खेलेपछि उनलाई ब्याकपेन सुरु भयो । प्रशिक्षणमा जान नसक्ने भएपछि आफ्नो नाम फिर्ता लिएका थिए ।

यो समस्या उनले धेरै डाक्टरलाई देखाए, फिजियोथेरापी गराए, तर डेढ वर्षसम्म सुधार भएन । भारतको मेदान्त अस्पतालमा उपचार गराएपछि बल्ल् उनलाई ठीक भयो । ब्याक पेनका कारण सन् २०१७ देखि २०१९ सम्म मैदान बाहिर बस्नुपरेको रिजन बताउँछन् ।

२०२१ पछि घरेलु क्रिकेटमा पुनरागमन

२०२१ को प्रधानमन्त्री कपमा उनी बागमतीको वैकल्पिक खेलाडीमा थिए । पारस खड्का टी–टेन क्रिकेट खेल्न युएई गएपछि बागमतीको टोलीमा परेका थिए ।

टोलीमा रामनरेश गिरी, दीपेश श्रेष्ठ र नन्दन यादव जस्ता अनुभवी बलर हुँदा खेल्ने मौका पाएनन् । तर सिक्ने अवसर भने धेरै पाए ।

सन् २०२१ मा भएको टी–२० प्रधानमन्त्री कपमा ५ खेलमा ७ विकेट लिएका थिए । त्यसै वर्ष भएको ईपीएलमा ५ खेलमा ४ विकेट लिएका थिए ।

२०२२ को प्रधानमन्त्री कपमा २ खेलमा १ विकेट लिएका थिए । २०२३ जनवरीमा भएको नेपाल टी–२० लिगमा विराटनगरबाट ५ खेलमा १ विकेट लिए । विकेट लिन नसके पनि राम्रो प्रभाव भने छाडेका थिए ।

तर यस पटकको प्रधानमन्त्री कपमा उच्च प्रदर्शनका साथ सिनियर टोलीमा स्थान बनाए ।

हेटौंडामा क्रिकेटको खासै राम्रो पूर्वाधार छैन । बागमतीबाट खेलिसकेका ब्याटर सुमन सुनुवार र उनले दिनभर अभ्यास गर्थे । यसरी नियमित अभ्यास गरेपछि खेलमा सुधार हुँदै गएको रिजन बताउँछन् ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?