+
+

पल्सर स्पोर्ट्स अवार्ड : चार विधाको शीर्ष ३ मनोनयनमा को-को परे ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १५:१०

२६ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको चार विधाको शीर्ष ३ मनोनयन सार्वजनिक गरेको छ ।

नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित स्पोर्ट्स अवार्डका लागि मञ्चले शुक्रबार वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षका लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक गरेको छ ।

अवार्ड समारोह यही माघ २८ गते होटल याक एण्ड यतिमा हुँदैछ । शीर्ष तीनमा एथ्लेटिक्स, क्रिकेटको वर्चस्व छ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका दिपक अधिकारी र क्रिकेटका रोहित पौडेल र आसिफ शेख मनोनयनमा परेका छन् ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा पनि एथ्लेटिक्सकै राजपुरा पछाई र पुष्पा भण्डारीसँगै बास्केटबलकी अनुशा मल्ल छन् ।

वर्षका उत्कृष्ट खेलाडी युवा खेलाडीमा क्रिकेटका देव खनाल, बक्सिङकी सुष्मा तामाङ र एथ्लेटिक्सकी राममाया बुढा मनोनयनमा छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्स चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् ।

यसअघि मञ्चले यी चार विधामा शीर्ष ८ को प्रारम्भिक मनोनयन सार्वजनिक गरेको थियो । यसपटक नयाँ प्रयोग गर्दै मञ्चले सुरुमा शीर्ष ८ र त्यसपछि शीर्ष ३ को मनोनयन सार्वजनिक गरेको हो ।

विभिन्न ९ विधामा वितरण गरिने अवार्डका पिपुल्स च्वाइसका लागि यसअघि नै ५ खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लेट सम्मान स्पेशल अवार्ड र एसियन जर्नालिस्ट अवार्ड भने अवार्ड समारोहमै घोषणा गरिनेछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक अनी पिपुल्स च्वाइस गरी पाँच विधाका विजेताले पल्सर मोटरबाइक प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार पाउनेछन् ।

स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा हजारा हुलासचन्द एन्ड कम्पनी तथा सह-प्रायोजक र सहयोगीमा ई-सेवा, केन्सी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यति, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिस, रोयल सिगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई-ड्राइन नेपाल, राष्ट्रिय खेलकुद परिषद् ( राखेप र नेपाल ओलम्पिक कमिटी छन् ।

चार विधाका शीर्ष तीनमा परेका खेलाडी

वर्षका उत्कृष्ट खेलाडी महिला

अनुशा मल्ल (बास्केटबल)
– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी
– नेपालले खेलेको तीनमध्ये दुइ खेलमा नेपालको तर्फबाट उच्च स्कोर गर्ने खेलाडी
– नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल

पुष्पा भण्डारी (एथलेटिक्स)
– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य
– सहारा हाफ म्याराथन स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत
– मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत

राजपुरा पछाई (एथलेटिक्स)
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत
– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण
– नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण
– राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत

वर्षका उत्कृष्ट पुरुष खेलाडी

आसिफ शेख (क्रिकेट)
–वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाउन सफल खेलाडी
–विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ्स
–एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउन सफल खेलाडी

दीपक अधिकारी (एथलेटिक्स)
–एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण, घरेलु प्रतियोगितामा ४ स्वर्ण र १ रजत
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
–नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
–दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण
–कान्तिपुर हाफ म्याराथनमा रजत

रोहित पौडेल (क्रिकेट)
– नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) जोगाउँदाका कप्तान
–वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ४ अर्धशतकसहित ६ सय ७९ रन बनाउन सफल
–स्कटल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको योगदान

वर्षका उत्कृष्ट युवा खेलाडी
देव खनाल (क्रिकेट)
– नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल
– ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १ सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता

राममाया बुढा (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि)
– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता
– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत
– देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत
– दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत
– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण

सुष्मा तामाङ (बक्सिङ)
– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित  ।
– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट
– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी

वर्षका उत्कृष्ट प्रशिक्षक

चन्द्र गुरुङ (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य
–बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जित्दाका प्रशिक्षक

दीपक महर्जन (बक्सिङ)
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।
–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।

 जगत टमाटा (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक
– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल आईसीसी विश्वकप क्रिकेटमा पुग्न सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?