+
+

पल्सर स्पोर्टस अवार्डका वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १९:२३
मनोनयनमा परेका पुरुष खेलाडीहरु ।

२१ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

माघ २८ गते हुने २० औं संस्करणका लागि मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीमा उत्कृष्ट ८–८ जनाको मनोनयन सार्वजनिक गरेको हो ।

स्पोर्ट्स अवार्डका लागि मञ्चले विगतमा उत्कृष्ट ५ मात्र मनोनयन गर्ने गरेकोमा यसपालि उत्कृष्ट ८ को मनोनयन सार्वजनिक गरिनेछ । वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा खेलाडीहरूलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले ८ जना खेलाडी मनोनयन गरिएको मञ्चले स्पष्ट पारेको छ ।

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई अवार्डका लागि मनोनयन गरेको मञ्चले जानकारी गराएको छ । उत्कृष्ट वर्ष पुरुषतर्फ क्रिकेट र एथ्लेटिक्सका २/२ खेलाडी रहेका छन् । त्यस्तै भलिबल, पौडी, गल्फ र बुद्धिचालबाट १÷१ जना मनोनयनमा परेका छन् ।

महिलातर्फ एथ्लेटिक्सका खेलाडीको वर्चस्व र छ । फुटबल, बास्केटबल, पौडी र जुडोबाट पनि खेलाडी मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा हुने र अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।

मनोनयनमा परेका खेलाडी र उनीहरुको उपलब्धि :

आसिफ शेख (क्रिकेट)
–वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाउन सफल खेलाडी
– विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ्स
– एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउन सफल खेलाडी

दीपक अधिकारी (एथलेटिक्स)
एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण, घरेलु प्रतियोगितामा ३ स्वर्ण र १ रजत
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमीमा स्वर्ण
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
–नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
–दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण
–कान्तिपुर हाफ म्याराथनमा रजत

मुकेश पाल (एथलेटिक्स)
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमि दौडमा कांस्य
– राष्ट्रिय एथलेटिक्समा पुरुष १५ सय मिटरमा स्वर्ण र ३ हजार मिटरमा रजत
– नवौं राष्ट्रिय खेलकुदमा पुरुष १५०० मिटर दौडमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा कांस्य
– जेसिज हाफ म्याराथनमा स्वर्ण

मानबहादुर श्रेष्ठ (भलिबल)
– बंगलादेशको ढाकामा सम्पन्न काभा मेन्स बिच भलिबलमा दिल सुनार जोडीसँग मिलेर रजत पदक
– बिच भलिबलमा रजत जित्ने टिमका कप्तान,
– राष्ट्रिय भलिबल टोली तथा त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान,
– पुरुषतर्फ बंगलादेश र माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्दा सदस्य

नासिर याहा हुसेन (पौडी)
– नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ७ स्वर्ण २ रजत र १ कांस्य जित्न सफल
– पुरुष १०० मिटर बटरफ्लाई, १५०० मिटर फ्रिस्टायल, २०० मिटर फ्रिस्टायल, ४०० मिटर फ्रिस्टायल, २०० मिटर मिड्ले, ४ गुणा १०० मिटर मिक्स रिले र ४ गुणा १०० मिटर रिले इभेन्टमा स्वर्ण
– १०० मिटर ब्रेस्ट स्ट्रोकमा रजत र १०० मिटर फ्रिस्टायलमा रजत, ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा कांस्य

रोहित पौडेल (क्रिकेट)
– नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) जोगाउँदाका कप्तान
–वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ४ अर्धशतकसहित ६ सय ७९ रन बनाउन सफल
–आयरल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको अर्धशतक

रुपेश जैसवाल (बुद्धिचाल)
– छत्तीसगढ चिफ मिनिस्टर ट्रफी अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर चेसमा विदेशी इभेन्टमा रजत
– भारतको चेन्नईमा भएको ४४ औँ फिडे चेस ओलम्पियाडमा नेपालको तर्फबाट उच्चतम अङ्क हासिल गर्ने खेलाडी (१०÷६)
– नयाँ दिल्लीमा भएको एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपको ब्लिट्जमा ९३ खेलाडीमध्ये ११ औं स्थानमा रहन सफल
– नवौँ राष्ट्रिय खेलकुदमा ¥यापिड र ब्लिट्जतर्फ दोहोरो स्वर्ण र क्लासिकलमा रजत
– आधा दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सफल

सुवास तामाङ (गल्फ)
– नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई टिम च्याम्पियन बनाउन सफल खेलाडी ।
– बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा व्यक्तिगततर्फ रजत जित्न सफल
– नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगतमा स्वर्ण जित्न सफल । टिममा आर्मीबाट कांस्य पदक जित्न सफल

महिलातर्फका मनोनित खेलाडीहरु

अमिशा कार्की (फुटबल)
– साफ महिला च्याम्पियनसिपमा रजत जित्न सफल
– साफ महिला च्याम्पियनसिपमा २ गोल गर्न सफल
– साफ यू–२० महिला फुटबलको उपविजेता । ४ गोल गर्दै संयुक्त सर्वाधिक गोलकर्ता ट्रफी जित्न सफल
– नवौं राष्ट्रिय खेलकुदमा आर्मीबाट कांस्य जित्न सफल

अनुशा मल्ल (बास्केटबल)
– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी
– नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल

डुवाना लामा (पौडी)
– नवौं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण र १ रजत जित्न सफल
– त्रिभुवन आर्मी क्लबबाट खेल्दै सर्ट कोर्समा ५ राष्ट्रिय कीर्तिमान बनाउन सफल
– २०० मिटर इन्डिभिजुअल मिड्ले, ५० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रेस्टस्ट्रोक, ८०० मिटर फ्रिस्टाइल रिले, ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्टस्ट्रोक र मिक्स ४०० मिटर रिलेमा स्वर्ण तथा ५० मिटर बटरफ्लाइमा रजत

जयरानी थारु (एथलेटिक्स)
– नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ५ स्वर्ण, सहभागी सबै विधामा विजेता
– १०० मिटर हर्डल्स, ४०० मिटर हर्डल्स र लङजम्पमा राष्ट्रिय कीर्तिमान ।
– ४४औं राष्ट्रिय एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमानसहित चार स्वर्ण र एक रजत । उत्कृष्ट खेलाडी घोषित ।

पुनम श्रेष्ठ (जुडो)
– बिस्केक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कांस्य विजेता
– महिला ७० केजीमुनि तौल समूहमा किर्गिस्तानकी गुल्नुरलाई रिपिचेजमा हराएर कांस्य जित्न सफल ।
– नवौं राष्ट्रिय खेलकुदमा महिला ७० केजी तौल समूहमा स्वर्ण

पुष्पा भण्डारी (एथलेटिक्स)
– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य
– सहारा हाफ म्याराथन स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत
– मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत

राजपुरा पछाई (एथलेटिक्स)
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत
– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण
– नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण
– राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत

श्रेवी महर्जन (ट्रायथलन)
– एसियन कप ट्रायथलन तथा दक्षिण एसियन कप ट्रायथलनमा दक्षिण एसियालीतर्फ रजत
– नवौं राष्ट्रिय खेलकुदमा महिला स्प्रिन्टतर्फ रजत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?