+
+

घोडचढीका खेलाडी प्रशिक्षण लिन कतारतिर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १९:००

२६ माघ, काठमाडौं। नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले नेपाली घोडसवार खेलाडीहरूलाई विशेष प्रशिक्षणका लागि कतार पठाएको छ ।

कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा विशेष प्रशिक्षणको व्यवस्था मिलाइदिएको संघका अध्यक्ष रवि राजकर्णिकारले जनाएका छन् ।

नेपाली घोडसवार खेलाडीको सीप र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न टेवा मिल्ने उनले बताए । कतार इक्वेस्ट्रियन फेडेरेसनका अध्यक्ष बदर मोहम्मद अल दारविस र महासचिव शेख अहमदको विशेष सहयोग र सहकार्यमा प्रशिक्षणको अवसर मिलेको राजकर्णिकारले बताए ।

पहिलो चरणको प्रशिक्षण फेबु्रअरीदेखि सुरु हुनेछ । त्यसमा ५ खेलाडीको सहभागिता रहनेछ । कतार जाने टोलीमा इक्वेस्ट्रियन खेलाडीहरू गोविन्दबहादुर खड्का, जगदीश घिसिङ, रामकृष्ण अधिकारी, रामहरि खड्का र निरोज केसी रहेका छन् ।

दोस्रो चरणको प्रशिक्षण अप्रिलमा सुरु हुनेछ । त्यसमा थप ५ नेपाली खेलाडीले सहभागिता जनाउने छन् । कतारबाट प्राप्त यस प्रशिक्षणबाट आगामी दिनमा हुने एसियाली खेलकुदको सहभागितालाई लक्ष्य राखिएको अध्यक्ष राजकर्णिकारले बताए ।

नेपाली टोलीलाई नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले बिदाइ गरे । राजदूत अन्सारीले द्विपक्षीय प्रयासले नेपाल र कतारबीचको सम्बन्धलाई प्रगाढ बनाउने मात्र नभई खेलाडीले सिक्ने मौका पाउने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी बिदाइ गर्दै नेपालको घोडचढी खेलको विकासमा यस्तो प्रशिक्षणले कोसेढुंगा साबित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?