+
+

सिनियर क्रिकेटमा देवको दमदार पुनरागमन

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ २७ गते २१:३१

२७ माघ, काठमाडौं । २०२२ मार्च २५ मा युवा ब्याटर देव खनालले नेपाली क्रिकेट टोलीमा त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए । दुर्भाग्य पपुवा न्युगिनीविरुद्ध डेब्यूमै उनी शून्यमा आउट भएका थिए । तर अर्को दिन देवले पपुवा न्युगिनीविरुद्ध ७२ रनको इनिङ खेल्दै आफ्नो क्षमता प्रमाणित गरे ।

त्यो समय देवले नेपालका एक सर्वाधिक सफल ब्याटर ज्ञानेन्द्र मल्लको स्थान लिएका थिए । देवले खेल्ने कभर ड्राइभ सटलाई वर्तमान समयका दुई सुपरस्टार बाबर आजम र विराट कोहलीसँग पनि तुलना गर्ने गरिन्छ । त्यसपछि उनी नेपालको पहिलो रोजाइमा पर्न थाले । २०२२ जुनमा घरेलु टोली अमेरिकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

तर २०२२ जुलाईमा स्कटल्यान्ड भ्रमण नै देवको अन्तिम बन्यो । त्यसपछि सिनियर टोलीमा फर्किने अवसर पाएनन् । जुलाईमा एसीसी इमर्जिङ टिम्स एसिया कपमा उनी टोलीमा फर्किएका थिए । युएई ए सँग २४ र भारतसँग १५ रनमा आउट भएका थिए ।

पछिल्लो एक वर्षमा नेपाललाई यू–१९ विश्वकपमा पुर्याउन र विश्वकपमा सुपर सिक्समा पुर्याउन देवले सानदार ब्याटिङ गरेका थिए । उनी यू–१९ नेपालबाट तीन शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा दुई साताअघि अफगानिस्तानसँग ५८ रनको कप्तानी इनिङ खेल्दै सुपर सिक्स सपना नेपालको साकार पारेका थिए ।

रोहित पौडेल र देव खनाल क्रिजमा ।

शनिबार आरिफ शेखलाई विश्राम दिँदै नेपालले क्यानडाविरुद्ध दोस्रो ओडीआईमा देवलाई मौका दियो । त्यो मौका चौका हान्दै दमदार पुनरागमन गरे । सातौं ओभरको तेस्रो बलमा विस्फोटक ब्याटिङ गरेका अनिल शाह ५० रनमा एलबीडब्लू आउट भएपछि देव चौथो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका थिए ।

नेपालका कप्तान रोहित पौडेल सुुरुवात देखिनै संघर्ष गरेका थिए । तर देवले अर्को एन्डबाट रन जोड्न सुरु गरे । १६ औं ओभरको दोस्रो बलमा हर्ष ठाकेरलाई चौका हान्दै नेपालको बाउन्ड्री खडेरीमा ब्रेक लगाए ।

१८ औं ओभरको दोस्रो बलमा लङअनमा स्टेपआउट गर्दै सुन्दर छक्का हाने । २१ औं ओभरको पहिलो बलमा शाहिद अहमदजाईलाई लङअनमा छक्का हाने । अनिल आउट भएपछि त्यो छक्काले त्रिवि क्रिकेट मैदानमा दर्शकको उत्साह पुनः फर्किएको थियो ।

एक बलपछि जीवनदान पाएका थिए । ठूलो सट खेल्ने धुनमा टप एज लागेर गएको हाइ बल क्यानडाका फिल्डर ईश्वरजोत सोहीले ३४ रनमा छोड्न पुगेका थिए ।

३४ औं ओभरको पाँचौं बलमा भने देव हर्श ठाकेरबाट कट एण्ड बोल्ड आउट हुन पुगे । देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको एक उत्कृष्ट इनिङ खेले ।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १५० रनको साझेदारी गरेका थिए । त्यसैको सहयोगमा नेपालले २८६ रनको लक्ष्य ४५.१ ओभरमै ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

देवले खेलमा देखाएको धैर्यता, जिम्मेवारी र सर्टहरु तारिफ योग्य थिए । ‘अनिल दाइले विष्फोटक सुरुवात दिइ सक्नुभएको थियो । मैले हतार गरेर विकेट फाल्दा टिममा दबाब आउनेमा म स्पष्ट थिएँ । रोहित दाइले सम्झाएको हुँदा सजिलो भयो’, देवले भने ।

‘मैले आफूलाई फेरि ३० रनमा आउट भएँ भनेर भित्र भित्र त्यही भनेको थिए । भाग्यले त्यो क्याच छुट्न पुग्यो । त्यसपछि रोहित दाइले सम्झाउनु भयो । बाहिरबाट पनि म्यासेज आयो’, जीवनदान पाउँदाको क्षण सम्झदै देवले भने ।

पछिल्लो एक वर्षमा देवले यू–१९ मा कप्तानी गरेसँगै झनै परिपक्व बनाएका छन् । त्यो देवले पनि स्वीकार गर्दछन् ।

‘पक्कै पनि हो । त्यो भूमिका भनेको एकदमै महत्वपूर्ण हो । एउटा व्यक्तिको रुपमा पनि विकास भएको छु जस्तो लाग्छ मलाई । खेल त फरक पार्ट भयो । कप्तानीले धेरै कुरा सिकाएको छ । को ब्याटर कसरी खेल्छ । कति बेला के गर्न सकिन्छ ती कुराहरु विस्तारै आउँदैछ’, उनले भने ।

एक समय रोहित र देव दुबैले शतक हान्ने संकेत देखाएका थिए । तर दुबैले खेलमा शतक पूरा गर्न सकेनन् । देव ७६ र रोहित ८७ रनमा आउट भएका थिए ।

‘७० मा पुगेपछि शतकतिर अलिकित ध्यान थियो । यो अवसरलाई सदुपयोग गरेर जसरी हुन्छ आफ्नो पहिलो शतक सम्म लगेर जाउँ भन्ने थियो । तर दुर्भाग्य भएन । तर राम्रो सोच र लयमा छु । आउने खेलहरुमा म त्यो गर्छृु जस्तो लाग्छ मलाई’, देवले शतकबारे भने ।

पछिल्लो समय नेपाली क्रिकेटमा देवलाई तेस्रो नम्बरको ब्याटरको रुपमा हेरिएको छ । तर जहाँ खेलेपनि देशको लागि सोच्ने देव बताउँछन् ।

‘जहाँ मौका पाएपनि त्यो नम्बर थ्री होस् वा फोर । त्यो भूमिकामा आफूलाई जसरी पनि ढाल्ने हो । जहाँ खेलेपनि देशको कसरी राम्रो गरिन्छ त्यो सोच्ने हो’, देवले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?