+
+

भारतीय नागरिकको फ्लाटमा भेटियो सुनका गहना र पैसाको थुप्रो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते २२:०३

१ फागुन, पोखरा । पोखराकै पुरानो सुनचाँदी बजारका रुपमा चिनिएको मोहोरिया टोलमा अवैध सुन ल्याएर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पायो । त्यही सूचनाका आधारमा सोमबार प्रहरी पोखरा–२ मोहोरिया टोलको कविन्द्रप्रसाद श्रेष्ठको घर पुग्यो ।

प्रहरी पुग्दा १०/१२ जनाले सुनका गहना बनाउने काम गरिरहेका थिए । प्रहरीलेसोधखोज गर्दा स्रोत खुलेन । बरु पोखरामा बसेर सुनचाँदीको गहना बनाउने काम गर्दै आएका भारतीय नागरिक सुरजित भौमिकले फ्ल्याट भाडामा लिएर काम गराउने गरेको खुल्यो ।

शंका लागेपछि प्रहरीले अन्य कोठामा खोजतलाज गल्यो । त्यसक्रममा अर्को कोठामा सुन र पैसा फेला पारेको छ । तयार भएका गरगहना, काँचो सुन गरी ६ केजी ६९ ग्राम सुन, ६ केजी नै चाँदी र ६२ लाख ८१ हजार रुपैयाँ नगद फेला पारेको हो ।

प्राप्त सुनको स्रोत नखुलेपछि प्रहरीले भौमिकलाई पक्राउ गरेको छ । उनैले १२÷१५ जना कालिगढ राखेर सुनका गरगहना बनाउने गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । एसपी थापाले भने, ‘सूचनाका आधारमा छापा मार्दा सुनैसुन र पैसा फेला प¥यो । नगद झोलामा राखिएको थियो ।’

भौमिकको साथबाट हिसाबकिताब गरिएको डायरी, विभिन्न बैंकका १३ वटा चेक पनि फेला परेको छ । करिब ६० लाख रुपैयाँको चेकमात्रै फेला परेको थापाले बताए । ७३ सालदेखिका चेक प्राप्त भएकले यसबाट पनि थप तथ्य पत्ता लगाउन सकिने प्रहरकिो विश्वास छ ।

प्रहरीले मंगलबार सुनको परीक्षण गरेको थियो भने विभिन्न पत्थर, लाहा, क्रिस्टल हटाएर सुनको जोखेको थियो । ‘भोलि राजश्व अनुसन्धान विभागमा पठाउँछौं, विभागले थप अनुसन्धान गर्ने छ,’ थापाले भने ।

पोखराकै सुन व्यवसायीले अवैध रुपमा पोखरा ल्याएको सुन भौमिकलाई गहना बनाउन दिइएको हुनसक्ने प्रहरीको अनुमान छ । राजश्व छलेर पोखरा ल्याउने र भौमिकलाई गहना बनाउन दिने गरेको हुन सक्ने र अरु पनि यसमा जोडिए प्रक्राउ गरिने थापाले बताए ।

यो पोखरामा भेटिएको ठूलो परिणामको सुन हो । झोलामा राखिएको नगदै पनि एकमुष्ठ भेटिएकाले यहाँबाट अवैध कारोबार लामो समयदेखि हुँदै आएको हुन सक्ने प्रहरीको अनुमान छ । भौमिक पक्राउ परेपछि प्रहरीले यहाँका व्यवसायीमाथि पनि नजर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?