+
+
समयान्तर :

समाज रूपान्तरणमा ‘सामाजिक आन्दोलन’ले देखाउने बाटो

जुन देशमा समय र आवश्यकता अनुरूपको सामाजिक आन्दोलन चलायमान रहन्छ, त्यस देशको राजनीतिले सही दिशाबोध गरेको हुन्छ ।

मनिकर कार्की मनिकर कार्की
२०८० फागुन ३ गते ८:०३
शहरी गरिबको कुरा सुनाउन भन्दै लुम्बिनीबाट काठमाडौं यात्रामा निस्किएका अभियन्ता ई: ।

सामाजिक अभियन्ता ईःले केही दिनदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट काठमाडौंसम्मको पदयात्रा सुरु गरेका छन् । उनले शहरी क्षेत्रका सडक व्यवसायी, गरिब तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवी समुदायको समस्या सरकारलाई सुनाउने भन्दै सो पदयात्रा सुरु गरेको जनाएका हुन् । अभियन्ता ईःले यसअघि पनि राजधानीका सडक व्यवसायीहरूको पक्षमा प्रदर्शन गरेका थिए । उनले खासगरी मेयर बालेन शाहको महानगर सौन्दर्यकरण अभियानसँगै काठमाडौंका सडक व्यवसायीहरूलाई धरपकड गरी उनीहरूको जायजेथा नै खोसिदिएर बिचल्लीमा पुर्‍याएको प्रति विरोध जनाउँदै पटक-पटक धर्ना र विरोध प्रदर्शन गरेका थिए ।

पछिल्लो समय उनले काठमाडौं महानगरको कार्यालय अगाडि ७७ घन्टा उभिएर विरोध जनाएका थिए । आन्दोलनकै क्रममा सडक व्यवसायीहरूलाई विकल्प दिने विषयमा काठमाडौं महानगरले अभियन्ता ईःसँग सम्झौता गरेको थियो । तर, अहिले पनि त्यो सम्झौता कार्यान्वयन नभएको प्रति ईःको असन्तुष्टि यथावत् छ । गएको स्थानीय निर्वाचनताका विकल्पको खोजी स्वरुप मेयर बालेन शाहलाई नै समर्थन गरेका ईः पछिल्लो समय मेयर शाहको कार्यशैलीबाट सन्तुष्ट देखिंदैनन् । मेयर शाहका गतिविधि प्रचारमुखी र लोकरिझाइँउन्मुख रहेको उनको टिप्पणी छ । त्यसैले उनी महानगरले सडक व्यापारी र श्रमजीवी जनतालाई न्यायोचित व्यवहार नगरेको भन्दै पटक-पटक आन्दोलित छन् ।

ईःले जस्तै बेलाबखत अन्य धेरै सामाजिक अभियन्ताहरूले विभिन्न आन्दोलन गरिनै रहेका हुन्छन् । तर, यस्ता अभियानहरू सधैं निरपेक्ष रूपमा सही साबित भने हुँदैन रहेछ । केही समयअघि स्वयं ईःले नै ललितपुर महानगरपालिकामा तिनै मागहरू राखेर धर्ना बस्न खोज्दा त्यहाँका स्थानीय बासिन्दाहरूले विरोध गरेपछि उनी धर्नाबाट पछि हट्न बाध्य भएका थिए ।

मुख्य कुरा कुनै ठाउँविशेषका स्थानीयवासीको आवश्यकता र प्राथमिकता के हो ? त्यहाँको परिवेश र सन्दर्भ के हो ? त्यसले नै कुनै पनि आन्दोलनको आवश्यकता र औचित्यता प्रष्ट पार्ने गर्दछ । यस्तै सामाजिक अभियानकै कुरा गर्दा पनि धेरै अभियन्ताले आन्दोलनलाई आफ्नो सार्वजनिक छवि र व्यक्तित्व निर्माण गर्ने अवसरका रूपमा पनि प्रयोग गरेको देखिएको छ । अनि त्यही सार्वजनिक छवि भजाएर राजनीतिक लाभ लिने गरेको दृष्टान्त पनि प्रशस्त भेटिन्छ ।

तथापि ईःको पछिल्लो अभियान नितान्त एक्लो र गैर-राजनीतिक रहेको उनको दाबी छ । उनी आफू राजनीतिकर्मी नभई, केवल अभियन्ता भएको स्वीकार गर्दछन् । संभवतः नेपालको सामाजिक आन्दोलनको इतिहासमा सबैभन्दा लामो समयसम्म अनशन मार्फत सामाजिक आन्दोलन गर्ने व्यक्तिमा चिकित्सक डा. गोविन्द केसी पर्दछन् । उनले नेपालको मेडिकल शिक्षा सुधारका लागि भन्दै कैयौं पटक अनशन बसिसकेका छन् । उनको अभियानको अवधि जोड्दा डेढ दशक बढी भइसकेको छ ।

अनशनको ताकतमा डा. केसीले पटक-पटक सरकारलाई सम्झौताका लागि बाध्य पारे । विगतमा उनीसँग सबैजसो राजनीतिक दलको नेतृत्वमा बनेका सरकारले सम्झौता गरेको छ । तर, अहिले पनि उनी आफ्ना माग पूरा नभएको भन्दै पुनः आन्दोलन गर्ने कुरा गर्दैछन् । आखिर किन ? किनकि उनको आन्दोलनलाई राजनीतिक दलले स्वामित्व ग्रहण गरेको देखिएन । विगतका सबैजसो सत्ताधारी दलहरूले डा. केसीले उठाएका मागहरूको स्वामित्व लिनुभन्दा उनलाई सम्झौता मार्फत अनशन तोडाउने कार्यनीति अख्तियार गरेका थिए ।

डा. केसीले सुरुआती चरणमा शहर-बजारका सम्पन्न बाबुआमाका छोराछोरीले मात्र हैन, दूरदराजका गरिबका छोराछोरीले पनि चिकित्सा विज्ञान पढ्न पाउनुपर्ने माग गरे । जुन कुरालाई सबैले सहज स्वीकार पनि गरे । उनले मुलुकको स्वास्थ्य क्षेत्रको पुनर्संरचनाकै एजेण्डा उठाएको ठानेर नागरिक तहमा सबैले स्वस्फूर्त समर्थन पनि गरेको देखियो । उनको आन्दोलनले शक्ति पनि आर्जन गर्दै गयो । तर, क्रमशः आन्दोलनको एजेण्डा र दिशामा जोडकोण फरक पर्दै गयो र उनका मागहरूमा पनि अस्पष्टता देखिन थाल्यो । कतिपय सन्दर्भमा त उनको मुख्य माग नै कुनै अमूक व्यक्तिको राजीनामा सम्म हुन पुग्यो ।

साझा उद्देश्य प्राप्ति र सामाजिक परिवर्तनका लागि व्यक्तिहरूले सञ्चालन गर्ने विभिन्न गतिविधिलाई नै सामाजिक अभियान भन्न सकिन्छ । मूलतः कुनै निश्चित समूह, समुदाय वा भेगीय क्षेत्रका मानिसहरूको खास मुद्दा सम्बोधन गर्नका लागि दबाबमूलक रूपमा गरिने व्यक्तिगत वा समूहगत परिचालन सामाजिक आन्दोलन हो

तथापि डा. केसीको नैतिक बलका अगाडि राज्यले सम्झौता पनि गर्‍यो । तर, त्यसको प्रभाव अहिले समग्र चिकित्साशास्त्र अध्ययनमा देखिन थालेको सम्बन्धित क्षेत्रका जानिफकारहरूको भनाइ छ । डा. केसीको आन्दोलनको प्रत्यक्ष मारमा मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं परेको देखिन्छ । उनले मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धित निकायबाट आशयपत्र पाएर पनि अन्तिम स्वीकृति पाएनन् ।

मेडिकल कलेजको सम्बन्धन पाउनका लागि उनले सकेजति र सम्भव भएजति सबै काम गरे । सबै शक्तिकेन्द्र धाए मात्र होइन, शक्तिमा रहेका सबैजसो राजनीतिक दलका शीर्ष नेताहरूसँग व्यक्तिगत सम्बन्ध पनि बनाए । सञ्चारमाध्यमसँग कुराकानीका क्रममा उनले आफूले १२ वर्षदेखि सम्बन्धन दिने सहमति भइसकेपछि ८ अर्ब खर्चेर अत्याधुनिक भवन बनाएर काम सुरु गर्छु भन्दा पनि विद्यार्थी पढाउन नपाएको गुनासो गर्दै ‘सरकारले आफूलाई मार्न खोजेको’ आरोप लगाएका थिए ।

उनले मेडिकल कलेज सञ्चालनार्थ ठूलो पूर्वाधार निर्माण गरिसकेको अवस्थामा कलेज चलाउन स्वीकृति नदिनु उनीमाथिको अन्याय त हुँदै हो, राज्यले व्यक्तिको अर्बौंको लगानीलाई यसरी नजरअन्दाज गरी डुबाइदिने नियत पाल्नु किमार्थ सही होइन । यदि व्यक्तिले नियमसंगत काम गरेको छैन, गल्ती गरेको छ भने विद्यमान कानुन अनुसार सजायको भागीदार व्यक्ति स्वयं हुन्छ । राज्य संयन्त्रले विना कुनै स्वार्थ र खराब नियत कानुनसम्मत व्यवहार गरिदिए पुग्छ । तर, अर्बौं लगानी गरी केही गर्न तम्सिएका व्यवसायीहरूलाई यो वा त्यो बहानामा मारमा पार्नु किमार्थ हुँदैन । यसर्थ, दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालन गर्न नदिएर राज्यले अन्याय गरेको सत्य हो । जसका कारण उनी अहिले ‘प्रतिक्रियात्मक राजनीति’ गरिरहेका छन् ।

उनी नेपालको जवाफदेहिताविहीन राज्य संयन्त्रले जन्माएको पात्र मात्रै हुन् । असन्तुष्टि स्वरुप अहिले उनी ‘राजनीतिक उपलब्धि’ उल्ट्याउने प्रतिशोधात्मक अभियानमा लागेका छन् । यद्यपि दुर्गा प्रसाईंको यो प्रतिक्रियात्मक राजनीतिले सही समाधान दिंदैन । उनको राजनीतिक वा अन्य अभीष्ट जेसुकै होस्, तर उनलाई मेडिकल कलेज सञ्चालनका लागि स्वीकृत नदिएर राज्यले ‘अन्याय’ गरेको पक्कै हो । जसको पछाडि डा. गोविन्द केसीको आन्दोलनको पनि योगदान देखिन आउँछ ।

यही सन्दर्भलाई अहिलेको आँखाबाट हेर्दा र बजारमा आएका प्रतिक्रिया सुन्दा अहिले नेपालको मेडिकल शिक्षा चरम बेथितिमा फसेको छ । मेडिकल शिक्षा अध्ययनका लागि विद्यार्थीको संख्या घट्दै गएको छ । कलेजमा सिट खाली रहने तर विद्यार्थी बाहिर पढ्न जाने क्रम बढ्दो छ । झाडीको चरी समाउन खोज्दा, हातको पनि उडे झैं अहिले शहरबजारकेन्द्रित मेडिकल शिक्षालाई विकेन्द्रित गर्न खोज्दा भएका कलेजहरू पनि धराशायी हुने अवस्था सिर्जना भएको छ । यसको जिम्मेवारी कसले लिने ?

एकातिर श्रम गर्ने युवा जनशक्तिको पलायन यथावत् थियो, पछिल्लो समय शिक्षा आर्जनका नाउँमा विदेशिने विद्यार्थीको लर्को झनै तीव्र भएको छ । वाषिर्क सवालाख बढी नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेशमा अध्ययनका लागि अनुमति पत्र लिने गरेको तथ्यांक छ । र, ती विद्यार्थीले वैधानिक रूपले विदेश लैजाने रकम गत वर्ष रु.१०० अर्ब नाघेको थियो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ देखि नेपालीले विदेशमा लैजाने कुल भ्रमण व्ययमा शिक्षातर्फको भ्रमण व्यय छुट्याउन थालेको छ, जुन त्यसअघि छुट्याइँदैनथ्यो । किनकि त्यस्तो रकम कुल भ्रमण व्ययको उल्लेखनीय हिस्सा हुँदैनथ्यो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार वर्ष २०७५/७६ मा नेपालीहरूको कुल विदेश भ्रमण व्यय रु.८९ अर्ब ५८ करोड भएको थियो, जसमध्ये शिक्षातर्फको भ्रमण व्यय मात्रै रु.४६ अर्ब ३२ करोड पुगेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा कुल भ्रमण व्यय रु.१४४ अर्ब ४६ करोड पुग्दा शिक्षातर्फको भ्रमण व्यय मात्रै रु.१०० अर्ब ४२ करोड पुगेको थियो । चालु आर्थिक वर्षको ६ महिना अर्थात् गत पुस मसान्तसम्मको तथ्यांक अनुसार कुल भ्रमण व्यय रु.९२ अर्ब ८७ करोड पुगिसकेको छ । जसमा शिक्षातर्फ मात्रै रु.५८ अर्ब ९५ करोड व्यय भएको छ । जबकि सोही अवधिसम्म नेपाल भित्रिएको कुल भ्रमण आय रु.३९ अर्ब ५६ करोड मात्रै रहेको छ । सो अवधिमा शिक्षातर्फको कुल भ्रमण व्यय मात्रै कुल आयभन्दा ४९ प्रतिशतले बढी रहेको छ ।

यस्तो विकराल बन्दै गएको युवा पलायनतालाई कसरी रोक्ने ? यो अहिलेको सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । कम्तीमा भर्खरै उच्च शिक्षा अध्ययन सुरु गर्न आँटेका विद्यार्थीहरू समेतलाई मुलुकमा रोक्न नसक्नु हाम्रो शैक्षिक नीतिको असफलता हो । अनुसन्धानात्मक तहमा अध्ययनका लागि विश्वका राम्रा र उत्कृष्ट विश्वविद्यालयहरूमा जानु ज्ञान आर्जनको क्षेत्रतर्फको सकारात्मक पाटो हुनसक्ला तर, फगत स्नातक तहको अध्ययनका नाउँमा यसरी विदेशिन लर्को लाग्नु किमार्थ उचित होइन ।

झन् अष्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता मुलुकहरू जसले शिक्षा क्षेत्रलाई नै अर्थतन्त्रको मुख्य क्षेत्र बनाइरहेका छन्, ती देशहरूमा स्नातक तहको अध्ययनका लागि नै लाखौं खर्च गरेर भासिनु त घर डढाएर खरानीको मोल खोज्नु जस्तै हो । यसमा राज्यको त्रुटिपूर्ण शैक्षिक नीति त जिम्मेवार छ नै, यस्तो प्रवृत्तिलाई मलजल गर्ने कार्यमा समाज र हामी आफैं पनि अछुतो छैनौं ।

समाजमा निरन्तर रहने ठूला-साना सामाजिक आन्दोलनहरूको निरन्तरताले नै राजनीतिक परिवर्तन सम्भव हुन्छ । तथापि ती आन्दोलनले उठाएका मुद्दाहरू र त्यसले समाजको वैचारिकीसँग निर्माण गर्ने सम्बन्धले राजनीतिक परिवर्तनको दिशा तय गर्दछ

आखिर जुनसुकै संकायमा किन नहोस्, स्नातक तहको पढाइ लगभग संसारभर उस्तै हुन थालेको छ । नेपालमा पनि स्नातक तहको पढाइलाई राम्रै मान्नुपर्दछ । हो, हाम्रो पाठ्यक्रम अभ्यास र सीपभन्दा पनि सैद्धान्तिक ज्ञानमा आधारित छ । यसलाई समयानुकूल हुने गरी परिमार्जन गरी आकर्षक बनाउनु जरूरी छ । तथापि स्नातक तहको अध्ययनकै लागि आफ्नो जायजेथा नै बेचबिखन गरेर भर्खरै किशोरावस्था पार गरेका छोराछोरीलाई विदेशिन प्रोत्साहित गर्नु चैं समाजका लागि पनि अत्यन्तै घातक हो ।

हाम्रा युवाहरूले विदेशमा गएर स्नातक पढाइ गर्दैमा संसारकै सर्वोत्कृट बनेर उच्च ओहोदामा पुग्ने हैनन् । आखिर हाम्रा युवाहरूले विदेशमा गएर गर्ने त उही शारीरिक श्रम नै त हो । जुन कामलाई यही समाजले यहाँ काम ठान्दैन । त्यसैले विदेशिएर भविष्य उज्ज्वल हुन्छ भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यो नै त्रुटिपूर्ण छ । अब यसलाई बदल्न जागरणमुखी सामाजिक अभियानहरू चल्नु आवश्यक हुन्छ ।

किनकि सामाजिक अभियानहरू जसरी स्वस्फूर्त रूपमा अघि बढ्छन्, सम्भवतः समाज पनि उति नै चलायमान हुन्छ । तर, ती आन्दोलनको उद्देश्य र गन्तव्य भने स्पष्ट हुनुपर्दछ । यदि आन्दोलन बरालियो भने त्यसले समाजलाई नै बरालिदिन्छ ।

सामाजिक अभियानहरूले बृहत् संरचनात्मक परिवर्तनमा भन्दा पनि मुद्दाकेन्द्रित विषयलाई उजागर गर्ने भएकोले त्यो केही हदसम्म स्पष्ट पनि हुन्छ । यसर्थ, सामाजिक आन्दोलनले आधारमा केही योगदान त गरेको हुन्छ तर, उपरीसंरचनामा कुनै फेरबदल ल्याउँदैन । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता सार्वजनिक विषयहरूमा केन्द्रित रहेर गरिने दबाबमूलक प्रदर्शन नै सामाजिक अभियानका दृष्टान्त हुन् ।

तथापि सामाजिक अभियानका क्रममा उठेको मुद्दाको बैठानको स्वरुप भने त्यो पूर्व आकलन गर्न सकिंदैन । ती मुद्दाहरूलाई राजनीतिक दलले ग्रहण गरेको खण्डमा त्यो स्थापित हुन पनि सक्छ । तर, त्यसलाई राजनीतिक स्वामित्व प्राप्त भएन भने कालान्तरमा ती मुद्दाहरू निष्प्रभावी हुनसक्छन् ।

वेष्टर्न सिड्नी युनिभर्सिटीका प्राध्यापक पाउल जेम्सले सामाजिक अभियानका केही आधारभूत अवस्थाहरूलाई प्रस्तुत गरेका छन् । उनका अनुसार कुनै पनि सामाजिक अभियानका लागि सबैभन्दा पहिले साझा पहिचानको सिर्जना अपरिहार्य रहन्छ । त्यसपछि समूहमा आवद्ध व्यक्तिहरूबीच साझा मानकको विकास एवम् विद्यमान अवस्थाबाट परिवर्तनको अपेक्षा जरूरी हुन्छ । अर्थात् अभियन्ताहरूमा स्टाटस् क्यो मा परिवर्तन गर्ने प्रयत्न हुनु जरूरी हुन्छ ।

यसर्थ, साझा उद्देश्य प्राप्ति र सामाजिक परिवर्तनका लागि व्यक्तिहरूले सञ्चालन गर्ने विभिन्न गतिविधिलाई नै सामाजिक अभियान भन्न सकिन्छ । मूलतः कुनै निश्चित समूह, समुदाय वा भेगीय क्षेत्रका मानिसहरूको खास मुद्दा सम्बोधन गर्नका लागि दबाबमूलक रूपमा गरिने व्यक्तिगत वा समूहगत परिचालन सामाजिक आन्दोलन हो ।

सामाजिक आन्दोलनले कुनै विषयमा सामाजिक सचेतना र जागरण फैलाउने पनि काम गरेको हुन्छ । जस्तैः सन् १९९० को अन्त्यतिर एचआईभी/एड्स रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ गाउँघरतिर सो रोगबारे विभिन्न जागरणमुखी सामाजिक अभियानहरू सञ्चालित थिए ।

सामाजिक आन्दोलनले बृहत् राजनीतिक परिवर्तनको भ्रूण तयार गरेको हुन्छ । राजनीतिशास्त्री भास्कर गौतमले पनि विभिन्न साना-ठूला सामाजिक आन्दोलनहरूको जगमा नै ठूलो परिवर्तन वा क्रान्ति सम्पन्न हुने भएकाले सामाजिक रूपान्तरणका लागि सामाजिक आन्दोलनको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिएका छन् ।

सञ्चारमाध्यममा प्रकाशित एक अन्तर्वार्तामा उनी भन्छन्- ‘आन्दोलनको आकार वा भूगोल सानो होस् वा ठूलो, संघर्षहरू विलाएर जाने भन्ने हुँदैन । संघर्ष भन्ने वित्तिकै त्यहाँ विद्रोह भएको, स्थापित थिति विरुद्ध आवाज उठेको, विभेदपूर्ण नियम भत्काउन खोजेको, सामूहिक सामथ्र्यको खोजी भएको र न्यायमूलक थिति कल्पना गरेको हुन्छ । यी सबै आन्दोलनहरूको भूमिका कहाँ हुन्छ भने, हामीले बुझ्ने गरेको ठूला विद्रोह वा आन्दोलनमा । धेरै साना आन्दोलनहरूको जगमा ठूला आन्दोलनहरू उभिने भएकाले साना आन्दोलनहरूको भूमिकालाई अवमूल्यन गर्न मिल्दैन । तात्विक निष्कर्षमा नपुग्दैमा विभेद विरुद्धको संघर्ष असफल हुँदैन, त्यहाँ न्यायको भ्रूण हुन्छ ।’

सामाजिक अभियानहरूले राजनीतिलाई समेत उचित ढंगले दिशाबोध गर्न सक्छ । तर, त्यस्तो ल्याकत र ताकत आफैं उत्पन्न हुँदैन । समाजले खोजेको र समाजलाई सही मार्ग दर्शन गर्न सक्ने मुद्दाहरूको पहिचान र त्यसलाई समाजमा स्थापित गर्न सामाजिक अभियान आवश्यक रहन्छ । आखिर सामाजिक अभियानकै विस्तृत स्वरुप राजनीतिक अभियान हो ।

राजनीतिले उपरीसंरचनामा परिवर्तन गर्न सक्ने ल्याकत राख्दछ । तर, राजनीतिक विचार, दृष्टिकोण र मुद्दाहरूको पहिचान भने बृहत् सामाजिक आन्दोलनका मुद्दाहरूबाट नै हुने गर्दछ । यसर्थ, जुन देशमा समय र आवश्यकता अनुरूपको सामाजिक आन्दोलन चलायमान रहन्छ, त्यस देशको राजनीतिले सही दिशाबोध गरेको हुन्छ ।

समाजमा निरन्तर रहने ठूला-साना सामाजिक आन्दोलनहरूको निरन्तरताले नै राजनीतिक परिवर्तन सम्भव हुन्छ । तथापि ती आन्दोलनले उठाएका मुद्दाहरू र त्यसले समाजको वैचारिकीसँग निर्माण गर्ने सम्बन्धले राजनीतिक परिवर्तनको दिशा तय गर्दछ । त्यसैले सामाजिक आन्दोलनको निरन्तरता वा क्रमभङ्गताले नै राजनीतिक परिवर्तन र त्यसले निर्माण गर्ने नयाँ मूल्यमान्यता र संस्कृतिको महत्वबोध दर्शाउँदछ ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?