+
+

पोखरामा कार्टुनिस्ट वात्स्यायनको ‘वात्स्यायन एन्ड हिज बार्ब्स भोल्युम–२’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १९:०३

३ फागुन, पोखरा । कार्टुनिस्टका बादशाह परिचय बनाएका कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक ‘वात्स्यायन एन्ड हिज बार्ब्स’ विमोचन भएको छ । पोखरामा बिहीबारदेखि सुरु भएको ११ औं नेपाल लिटरेचर फेस्टिभलमा उनको कृति विमोचन भएको हो ।

उक्त कृति पोखरा महानगरका मेयर धनराज आचार्यले विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै उनले वात्स्यायन पोखराका अग्ला शीखर भएको बताए । उनले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताए ।

मेयर आचार्यले पोखरामा साहित्य महोत्सव हुँदै गर्दा आफूले सहपाठीसमेत रहेका स्वर्गीय रवीन्द्र अधिकारीको पनि स्मरण गरे । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्वपर्यटनमन्त्री अधिकारीले पोखरामा लिटरेचर फेस्टिभल ल्याउन महत्वपूर्ण भूमिका निभाएको सम्झिए । ‘यो अहिले पोखरा चिनाउने गौरवको फेस्टिभल भइसकेको छ । यसलाई निरन्तरता दिन पोखरा महानगरले के सहयोग गर्नुपर्ने हो हामी तयार छौं,’ उनले भने ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरेका थिए । उनले दुर्गा बराल पोखराकै लागि एक आदर्श पुरुष भएको सुनाए । ‘पोखरालाई कार्टुनमा मात्रै होइन, पानी रङको सहरका रुपमा चिनाउन पनि महत्वपूर्ण भूमिका निभाउनुभएको छ’, उनले भने ।

वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा शनिबार पोखरामा गत चैतमा वात्स्यायनलाई रथारोहण र नागरिक अभिनन्दन गरिएको थियो । १९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा १३) मा जन्मिएका थिए ।

पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय उनै कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ भित्र्याएका थिए ।

वात्स्यायनले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । दुर्गा बरालबाट कला क्षेत्रमा आफूलाई सम्मानित एउटा नाम ‘वात्स्यायन’ बनाएका उनले जापानबाट ग्राफिक आर्ट र कान्तिपुर मिडियाको कार्टुन सम्पादकका रुपमा काम गरिसकेका छन् । व्यक्तिगत तथा सामूहिक गरी दर्जन बढी चित्रकला, कार्टुन प्रदर्शन गरिसकेका छन् ।

नेपालको सबैभन्दा प्रख्यात प्रवल गोरखा दक्षिण बाहू चौंथो, जगदम्बा श्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जन बढी पुरस्कार प्राप्त गरेका छन् । आफ्नो प्रतिभामार्फत नेपाल समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्दै आएका बरालका कला वीरेन्द्र आर्ट ग्यालरी, काठमाडौं र पोखराका राजदरबार तथा केही अन्तर्राष्ट्रियस्तरका निजी तथा सार्वजनिक रुपमा पनि राखिएको छ । ‘वात्स्यायन एन्ड हिज बार्बस’ यसअघि उनको प्रकाशित कार्टुन संग्रह हो ।

सोही अवसरमा चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ । उक्त प्रर्दशनी पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् । फागुन ७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् भने उद्घाटनमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत प्रवचन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?