+
+

नयाँ दलमाथि पूर्णबहादुरको निशाना– गौरवपूर्ण इतिहास न भविष्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते ८:०४

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विविध विषम परिस्थिति र चुनौतीहरूका कारण देश अपेक्षाकृत प्रगतिको बाटोमा नरहँदा  आम नागरिकमा निराशा बढेको निष्कर्ष निकालेका छन् । त्यही निराशाको जगमा लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको ठहर छ ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न उपसभापति खड्काले ६४ पृष्ठको नीति प्रतिवेदन तयार गरेका छन् । पार्टीको बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठकमा खड्काले उक्त प्रतिवेदन पेस गरेका छन् ।

खड्काको सोही प्रतिवेदनमा देशले विकास, समुन्नति, स्थिरता र प्रगतिको बाटो पक्रिसक्नु पर्ने भए पनि त्यसो हुन नसकेको उल्लेख छ । ‘देशमा द्रुत आर्थिक विकासको अभाव छ । आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ । परिस्थिति अप्ठ्यारो, चुनौती र समस्यारत रहेको उल्लेख गर्दै खड्काले यसबाट पार लगाउन कांग्रेस सक्षम रहेको दाबीसमेत गरेका छन् ।

नागरिकमा निराशा बढ्नुमा गृहिणीको अप्ठ्यारो, तन्नेरीको छटपटी, शैक्षिक बेरोजगारी, उद्योगधन्दा तथा कलकारखानाको अवरोध, आर्थिक सकस, सामाजिक रूपान्तरणको अलमलजस्ता कारण रहेको खड्काले व्याख्या गरेका छन् । ‘आम नागरिकमा निराशा बढ्दो छ । नागरिकमा उत्पन्न यस्ता निराशा चिर्दै जनतामा आशा र भरोशा कायम गरी समृद्ध मुलुक निर्माण गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ,’ प्रतिवेदनमा भनिएको छ ।

निराशाको व्यापार

राष्ट्रिय स्वतन्त्र पार्टी र राजसंस्थावादी दलको नाम नलिई खड्काले ती दलले निराशा बढाएको आरोप लगाएका छन् । आम नागरिकको निराशाको जगमा टेकेर ‘लोकरिझ्याइँ गर्ने र पुनरुत्थानवादी’ प्रवृत्ति हाबी हुन खोजेको खड्काको आरोप छ । समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न गर्नुको सट्टा ती शक्तिले थप निराशा बढाउने व्यापार गरिरहेको खड्काको विश्लेषण छ । लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानवादीको स्वर बढेको खड्काको निष्कर्ष छ ।

ती दलको चरित्र समेत प्रतिवेदनमा खड्काले उल्लेख गरेका छन् । दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रष्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नुलाई खड्काले लोकरिझ्याइँको संज्ञा दिएका छन् । ‘लोकरिझ्याइँ गर्नेहरूको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन,’ नयाँ दलप्रति उनले भनेका छन्, ‘न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्र प्रतिको प्रतिवद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै । यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको व्यापार गर्न प्रयत्नशील छन् ।’

लोकरिझ्याइँ गर्ने दलले परिवर्तन उल्टाएर एकाधिकार र अधिनायकवाद खोजेको खड्काले आरोप लगाएका छन् । ‘अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र विरोधी  हुन् । उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको बोध छ, न जिम्मेवारी,’ खड्काले प्रतिवेदनमा लेखेका छन्, ‘भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा जनमत तयार पारेर तिनीहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयासमा छन् ।’

राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टिमा पुनरुत्थानवादी शक्ति सल्बलाएको खड्काको निचोड छ । नागरिकका समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू देखिएको खड्काले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो । इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन । पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, केवल अर्थहीन कुचेष्टा मात्रै हो,’ प्रतिवेदनमा भनिएको छ ।

वर्तमान निर्वाचन प्रणालीले एक दलको बहुमत पुग्न असम्भव रहेको ठहर गर्दै गठबन्धन गर्नुपरेको खड्काले वाध्यता सुनाएका छन् । अस्थिरता निम्तिन सक्ने खतराले गठबन्धन गरिएको उनको निचोड छ । ‘सरकार गठनका लागि गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता भएको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

संविधानलाई थप समृद्ध र स्वीकार्य बनाउने नेतृत्व कांग्रेसले नै लिने खड्काको दाबी छ । संविधान गतिशील दस्तावेज रहेको बताउँदै खड्काले संविधानका आधारभूत विशेषता तथा अहरणीय प्रावधानलाई अक्षुण्ण राख्दै थप प्रभावकारी बनाउन कांग्रेस उदार रहेको खड्काले लेखेका छन् ।

६४ पृष्ठको प्रतिवेदनमा खड्काले विगतका विषयलाई बढी प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?