+
+
सडकपेटीमा पीडितको बास :

साहुले घर लुट्यो, सरकारले वाटिकाको बास

न्याय माग्न धर्नामा बसिरहेकाहरू शान्तिवाटिकाबाट लखेटिएपछि चिसो सडकपेटीमै रात काटिरहेका छन् । न्याय माग्ने थलोमा नै निषेध गरिएपछि उनीहरूको न्यायको लडाइँ झन् सकसपूर्ण बनेको छ ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० फागुन ४ गते २१:२१

४ फागुन, काठमाडौं । मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे ।

‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख रुपैयाँ मिटरब्याज साहुसँग ऋण लिएँ ।’ पैसा लिएको एक वर्षपछि २ लाख १० हजार र दुई वर्षपछि थप ३ लाख ९० हजार गरी ६ लाख बुझाएको उनी बताउँछन् ।

तर मिटरब्याज साहुले अझै ऋण रहेको भन्दै आठ कट्ठा जग्गा हडपे । ‘हामी पढे–लेखेको नाइँ, साहुले झुक्याएर जग्गा आफ्नो नाम गरेछन्’ उनले भने, ‘जग्गा माग्दा उल्टै २४ लाख माग्न थाले ।’

साहुविरुद्ध अदालत जान सकेनन् । किनकि मिटरब्याज साहुसँग तमसुक थियो, तर उनीसँग केही थिएन । त्यसैले न्याय पाइने आसमा उनी काठमाडौं आएका थिए । ‘आवाज सुनाउने ठाउँ कतै नभएपछि परिवार बोकेर यहाँ आएँ’, उनले सुनाए ।

काठमाडौं आउँदा उनलाई लागेको थियो, सरकारले समस्या सुनिदेला, मिटरब्याज साहुले हडपेको जग्गा फिर्ता पाइएला । तर जग्गा फिर्ता पाउनुपर्ने माग राखेर वर्ष दिन धर्नामा बस्दा पनि कुनै सुनुवाइ भएको छैन । तैपनि न्याय पाउने झिनो आसमा रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना बसिरहेका थिए ।

तर २३ माघमा महानगर प्रहरीले लछारपछार गर्दै शान्तिवाटिकाबाट बाहिर निकाल्यो । उनीसँगै विभिन्न माग राख्दै धर्नामा बसिरहेका न्याय माग्नेहरू महानगर प्रहरीबाट लखेटिए । ‘भाँडाकुँडा, लत्तपकडा सहित श्रीमती, छोरालाई सडक बाहिर निकाले’ उनले भने, ‘न्याय माग्न आएका हामीलाई अपराधी झैं व्यवहार गरियो ।’

माइतीघरबाट लखेटे, शान्तिवाटिकाबाट पनि लखेटे, अब सडकपेटीबाट पनि लखेटे कहाँ जाने ? के काठमाडौंमा न्याय माग्नेहरूका लागि ठाउँ छैन ? – देवी परियार, मिटरब्याज पीडित

मिटरब्याज साहुले जग्गा फिर्ता नगरेकाले गाउँ फर्कने आँट आएन, जाने अर्को ठाउँ थिएन । त्यसैले शान्तिवाटिका बाहिरको सडकपेटीमा पाल टाँगेर बसिरहेका छन् । ‘अन्यत्र जाउँ, ठाउँ छैन । जाने ठाउँ नभएपछि सडकछेउमै पाल टाँगेर बसिरा‘छौं’ उनले भने, ‘माग पूरा नभएसम्म यहाँबाट जाने कुरा भएन ।’

उनको परिवार अहिले सडकमै सुत्छन् । ‘दिनभर गाडीको आवाजले शान्तिले बस्न पाइँदैन’ उनी भन्छन्, ‘रातभर चिसोले सुत्न सकिंदैन । न्याय माग्दामाग्दै थाकेका हाम्रो दिन र रात बिथोलिएको छ । जसोतसो दिन कटे पनि रात काट्नै सकिंदैन ।’

आफैंमा चिसो सडकपेटी, त्यसमा पनि रातमा झर्ने शीत । ‘पालले रातको शीत छेक्दैन’ सुतिरहेको छोरातर्फ देखाउँदै भने, ‘शीतको चिसोले ऊ बिरामी छ ।’ रातको चिसो सहन नसकेर उनी आफू मात्रै हैन, श्रीमती समेत बिरामी पर्न लागिसकिन् ।

०००

कपिलवस्तुकी आरती गिरी रावल पनि शान्तिवाटिकाको सडकपेटीमै आमरण अनशन बसिरहेकी छन् ।

पति न्यायाधीश भुवन गिरीले बन्धक बनाएर कुटपिट, यौनशोषण र अप्राकृतिक मैथुन गरेको भन्दै २०७९ मंसिर २ मा कपिलवस्तु र काठमाडौंमा मुद्दा हालेकी थिइन् । हाल उनको मुद्दा जिल्ला अदालत कपिलवस्तु र जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

पति न्यायाधीश गिरीलाई कारबाही गर्नुपर्ने भन्दै माग राखेर उनी माघ १ गतेदेखि पुनः शान्तिवाटिकामा अनशन बसिरहेकी थिइन् । उनलाई पनि महानगर प्रहरीले हटायो ।

‘माइतीघरमा निषेध गरेपछि न्याय माग्न यहाँ आएर धर्ना बसें’ उनले भनिन्, ‘यहाँबाट पनि लखेटियो ।’ शान्तिवाटिकाबाट महानगरले लखेटेपछि अहिले उनी पनि सडकपेटीमै छिन् । दिनभर उनी सडकपेटीमै धर्ना दिएर बस्छिन्, राति त्यहीं पालमा सुत्छिन् ।

भोकै अनशन बसिरहेकी उनको शरीरमा तागत छैन । त्यसमाथि चिसो सडकपेटीमा रात कटाउनु पर्दा बिरामी नै हुन आँटिन् उनी । ‘रातभर कठ्यांग्रिएर सुत्नै सकिंदैन’ भासिएको स्वरमा उनले भनिन्, ‘राति परेको शीतले टाउको फुट्ला झैं दुख्छ ।’ शान्तिवाटिकाबाट लखेटेपछि उनको न्याय प्राप्तिको लडाइँ झन् सकसपूर्ण बनेको छ ।

श्रीमान् न्यायाधीश हुन् । शक्तिकै आडमा उनीमाथि कारबाही नभएको गिरीको बुझाइ छ । अहिले त राज्यले नै पीडितलाई निषेध गरेर आवाज थुन्न खोजेको उनले बताइन् । ‘कोही नभए पनि हाम्रो लागि बोल्ने ठाउँसम्म थियो’ उनले भनिन्, ‘अहिले त त्यो पनि खोसेर पीडितलाई कमजोर बनाउन खोजियो ।’

०००

जनकपुरधामकी आरती साहको परिवार पनि निरन्तर धर्नामा छ । दाइजोको निहुँमा छोरी आरती साहको हत्या गरिएको भन्दै उनकी आमा निर्मलादेवी, बुबा विनोद, भाइ प्रेम र बहिनी मनीषा साह गत असार २ गते काठमाडौं आएका थिए ।

सरकारको यस्तो व्यवहारले राजनीतिक व्यवस्थामाथि नागरिकको विश्वास हराउँदै जान्छ, निराशा बढाउँछ र त्यो निराशा एक ठाउँमा पुगेर विस्फोट हुन्छ- सञ्जिव उप्रेती, नागरिक अभियान्ता

९ महिनायता निरन्तर धर्नामा बसिरहेका उनीहरू न्याय खोज्न नधाएको ठाउँ छैन । सुरुमा माइतीघरमा धर्ना बसे, सरकारले गत कात्तिकमा माइतीघरमण्डल लगायत क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरू हटाइए । त्यसपछि आरतीको परिवारले शान्तिवाटिकामा धर्ना दिंदै आएका थिए ।

त्यहाँबाट पनि हटाइएपछि आरतीको परिवार पनि सडकपेटीमै धर्ना दिइरहेका छन् । ‘हामीले न्याय माग्न नगएको कुनै ठाउँ छैन’ न्याय दिनुको साटो धर्ना बसेको ठाउँबाट पनि हटाएर पटक–पटक आफूहरूमाथि ज्यादती गरिएको भन्दै प्रेमले भने, ‘जहाँ गए पनि हामीलाई लखेट्ने, दुःख दिने काम मात्र भयो ।’

शान्तिवाटिकाको गेटमा भने काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ताला झुन्ड्याएको छ । रौतहटका मिटरब्याज पीडित गुमा धामी, कपिलवस्तुकी आरती गिरी र जनकपुरधामकी आरती साहको परिवार मात्र होइन, शान्तिवाटिकाबाट हटाएका करिब ३० जना सडक छेउमै बसिरहेका छन् ।

उनीहरूलाई डर छ– कतै महानगरले यहाँबाट पनि हटाउने त होइन ?

‘माइतीघरबाट लखेटेर यहाँ आयौं, शान्तिवाटिकाबाट पनि लखेटेपछि सडकपेटीमा बसिरहेका छौं’ मिटरब्याज पीडित देवी परियार भन्छिन्, ‘सडकपेटीबाट पनि लखेटे कहाँ जाने ? के काठमाडौंमा न्याय माग्नेहरूका लागि ठाउँ छैन ?’

नागरिक आन्दोलनका सञ्जीव उप्रेती पनि नागरिकलाई आफ्नो आवाज राख्ने ठाउँ दिनुपर्ने बताउँछन् । ‘माइतीघरबाट लखेट्दै रत्नपार्क पुर्‍याए, त्यहाँबाट पनि लखेटे । अब कहाँ पठाउँछन् थाहा छैन’ गरिबले न्याय खोज्न कहाँ जाने भन्ने प्रश्न जन्मिएको भन्दै उनले भने, ‘अब जनतासँग के बाँकी छ ? ’

राजतन्त्र विरुद्ध लडेकाहरु पनि शक्तिमा गएपछि राजतन्त्रकालीन व्यवहार र सोच देखिनु दुःखद भएको उनले बताए ।

नेतृत्वमा शक्तिको दम्भ देखिएको भन्दै उनले भने,  ‘सरकारको यो व्यवहारले एकातिर राज्यको अधिनायकवादी चरित्र विस्तार हुन्छ भने अर्कोतिर अहिलेको राजनीतिक व्यवस्थामाथि नै नागरिकको विश्वास हराउँदै जान्छ र निराशा बढाउँछ । यो निराशा एक ठाउँमा पुगेर विस्फोट हुन्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?