+
+

वाफ वुमन्स च्याम्पियनससिप जित्ने नेपालको लक्ष्य

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन ४ गते १६:०५

४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।

१० प्रतियोगिताको फाइनल पुगे पनि उपविजेतामै अड्किएको नेपाल सामु वाफ वुमन्स च्याम्पियनसिप जित्दै उपाधि खडेरी तोड्ने अवसर आएको छ ।

साउदी अरेबियामा फेब्रुअरी १९ देखि सुरु हुने उक्त प्रतियोगिता जित्ने लक्ष्य रहेको नेपाली टिमका कप्तान एन्जिला तुम्बापो सुब्बा र मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।

‘हामीले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनौं। यस पटक वाफ च्याम्पियनसिप जित्ने अवसर छ र हामी च्याम्पियन बन्ने लक्ष्यका साथ नै जाँदैछौं,’ शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको बिदाइ गरेपछि एन्जिलाले पत्रकारहरुसँग भनिन् ।

नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचै पटक उपविजेता बनेको थियो । दक्षिण एसियाली खेलकुद सागमा तीन पटक तथा सन् २०१९ मा भएको वुमन्स गोल्डकप कप र नादेज्दा कपमा पनि फाइनल पुग्दै उपविजेताममै समेटिएको थियो ।

नेपाललाई सधैं उपविजेताको ट्याग लाग्दै आएकोले पनि यस पटक उपाधिको खडेरी तोड्ने अवसर छ । एसियाकै सबैभन्दा कमजोर क्षेत्रको रुपमा रहेको पश्चिम एसियामा गएर नेपालले प्रतियोगिता खेल्दैछ र त्यहाँ खेल्ने धेरै टिमहरुको वरीयता नेपालको भन्दा तल छ ।

प्रतियोगितामा आयोजक साउदी अरेबियासहित ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको यो आठौं संस्करण हो । यसअघि भएका ७ मध्ये ५ पटक उपाधि जितेको जोर्डन र ग्वाम नेपालभन्दा वरीयतामा माथि छन् र दुवै टिम आयोजक साउदीसँगै समूह ए मा छन् ।

नेपाल रहेको समूह बी मा इराक, सिरिया र प्यालेस्टाइन छन् । फिफाको पछिल्लो वरीयता अनुसार नेपाल १०५औं स्थानमा छन् । यस्तै प्यालेस्टाइन १३६औं, सिरिया १६० वरीयतामा छ भने इराकको वरीयता छैन ।

अर्को समूहमा रहेका जोर्डन ७४औं, ग्वाम ९३औं, लेवानोन १३४औं र साउदी १७५औं स्थानमा छ ।

पहिलो पटक महिला टिमको जिम्मेवारी सम्हालेका राजेन्द्र तामाङले प्रतियोगिताको लागि छोटो समयको तयारी हुनका बावजुत पनि लक्ष्य भने च्याम्पियन बन्ने नै रहेको बताए । ‘हरेक प्रतियोगिता खेल्दा लक्ष्य भनेकै च्याम्पियन बन्ने नै हुन्छ । वाफमा पनि हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो’, तामाङले भने ।

पहिलो पटक यो प्रतियोगिता खेल्न लागेकोले विपक्षी टिमबारे धेरै थाहा नभएको उनले बताए । ‘हामीले पहिलो पटक खेल्दैछौं, वरीयतामा तल नै भए पनि विपक्षीबारे धेरै थाहा छैन । हाम्रो समूहमा रहेको प्यालेस्टाइनको युवा टिमको भिडियो हेरेका थियौं। अर्को समूहमा रहेका जोर्डन राम्रो टिम छ । साउदीले पनि राम्रो खेलिरहेको छ ।’

भारतीय लिग खेल्दा फाइदा

नेपालको २३ सदस्यीय टोलीमा रहेका धेरै खेलाडीसँग भारतीय लिग खेलेको अनुभव छ । गत सिजन ६ र यस सिजन ६ खेलाडीले भारतीय लिगको अनुभव लिएका छन् । त्यसमा दुवै सिजन लिग खेल्ने कप्तान एन्जिला मात्र हुन् ।

नेपालका ११ खेलाडीसँग भारतको लिग खेलेको अनुभव छ । तर अहिले टिममा लिग खेलेका मध्ये ९ खेलाडी मात्र छन् । यसअघि १९औं एसियाडमा कप्तान रहेकी रेनुका नगरकोटे र सरु लिम्बु भने अहिले टिममा छैनन् ।

यस सिजन कप्तान एन्जिलासहित गीता राना अमृता जैशी, रश्मीकुमारी घिसिङ, प्रिती राई र दिपा शाही बीचमै लिग छाडेर नेपालका लागि खेल्न आएका छन् ।

यसै सिजन इजरायल र फ्रान्सको लिग खेल्दै इतिहास रचेकी सावित्रा भण्डारी साम्बाले अघिल्लो सिजन भारतीय लिग खेलेकी थिइन् ।

भारतमा लिग खेल्दा नेपाली खेलाडीलाई धेरै फाइदा पुगेको कप्तान एन्जिलाले बताइन् । ‘गत सिजन भन्दा अहिले भारतीय लिग धेरै राम्रो भइसकेको छ । स्तर पनि बढेको छ । हाम्रो खेलाडीले त्यहाँ खेल्दा धेरै फाइदा पुगेको छ’, उनले भनिन् ।

नेपाली टिममा यस पटक तीन नयाँ खेलाडी छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका डिफेण्डर सविना चौधरी तथा मिडफिल्डर सरस्वती हमाल र चन्द्रा भण्डारीलाई पनि अन्तर्राष्ट्रिय एक्सपोजरको मौका हुनेछ । तीनै खेलाडीमा राम्रो सम्भावना रहेको प्रशिक्षक तामाङले बताए ।

नेपालले साफ च्याम्पियनसिप, एसियन कप छनोट, ओलम्पिक छनोट जस्ता नियमित प्रतियोगिता खेल्दै आएको र यो फरक किसिमको प्रतियोगिता खेल्न लागेको एन्फा अध्यक्ष पंकज नेम्वाङले बताए । यसले महिला टिमलाई थप एक्सपोजर प्राप्त हुने उनले बताए ।

भारतमा लिग खेलेर आएका खेलाडी र फ्रेन्च लिग खेलिरहेका सावित्रा भण्डारी टिममा हुँदा त्यसले अझ फाइदा पुग्ने नेम्वाङले बताए ।

साम्बा विपक्षीलाई डराउने हतियार

इए गुइगाम्पबाट फ्रान्सको शीर्ष श्रेणीको लिग खेलिरहेकी सावित्रा भण्डारी साम्बा टिममा हुँदा पनि नेपाललाई धेरै फाइदा हुने प्रशिक्षक र कप्तानले बताए ।

‘सावित्रा टिममा हुँदा हामीलाई धेरै फाइदा हुन्छ । नेपाली टिममा फ्रेन्च लिग खेलेको खेलाडी छ भन्दा विपक्षीलाई पनि अली डर हुन्छ’, प्रशिक्षक तामाङले भने ।

प्रशिक्षक तामाङले सावित्रालाई कुनै निश्चित भूमिका दिनु भन्दा पनि स्वतन्त्र भएर खेल्न दिनुपर्ने बताए । ‘मैले बुझे अनुसार उनलाई स्वतन्त्र भएर खेल्न दिनुपर्छ । फ्रान्स पनि उनलाई त्यसरी नै खेल्न दिएको छ । मैले त्यहाँको भिडियोहरु हेर्दा उसले सेन्टरसम्म झरेर बल खोस्ने र गोलका लागि समेत प्रयास गर्ने गरेको देखियो । त्यसैले उसले खेल्ने अट्याकिङ थर्डमा हो त्यहाँ स्वतन्त्र भएर खेल्न दिनुपर्छ ।’

फ्रान्समा रहेकी सावित्रा उतैबाट साउदी अरेबियामा नेपाली टिमसँग समावेश हुने प्रशिक्षक तामाङले जानकारी दिए । उनले सेमिफाइनलसम्मको खेल मात्र खेल्न पाउनेछिन् ।

सावित्रा सम्मिलित टिमको खेल मार्च २ मा एलओएससी लिलसँग छ । वाफ च्याम्पियनसिपको फाइनल खेल फेब्रुअरी २९ मा तय छ । नेपाल फाइनल पुगेमा सावित्राले फाइनल खेलेर त्यो खेलमा पुग्न नभ्याउने भएकोले उनले फाइनल गुमाउनेछिन् ।

साउदी लिग खेल्ने सम्भावना

वाफ वुमन्स च्याम्पियनसिप खेल्दा नेपालको लागि अर्को फाइदा पनि हुनेछ । पछिल्लो समय साउदीले पुरुष फुटबलमा दिल खोलेर लगानी गरेको छ । त्यहाँ लिग खेल्न क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा साडियो माने, नेमार जस्ता खेलाडीहरु युरोप छाडेर आएका छन् ।

पुरुषमा जसतं महिला फुटबलको लिगमा पनि साउदीले लगानी गरिरहेको छ । सन् २०२२ देखि साउदी अरेबिया फुटबल महासंघले साउदी वुमन्स प्रिमियर लिगको सुरुवात गरेको छ ।

पहिलो संस्करणमा ८ टिमको सहभागिता थियो र त्यसको उपाधि अल नासेरले जितेको थियो । जहाँ ब्राजिलदेखि युरोपियन राष्ट्र अनी साउथ एसियाका भुटानी खेलाडीले समेत खेलेका थिए ।

यस पटक पाकिस्तानका खेलाडीले पनि त्यहाँ लिग खेल्दैछन् ।

वाफ च्याम्पियनसिपमा प्रदर्शन गरेको आधारमा नेपाली खेलाडीले पनि त्यहाँको लिगमा अवसर पाउन सक्ने नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले बताए । ‘साउदीले अहिले महिला फुटबल लिग पनि गरिरहेको छ ।

हामीलाई त्यहाँ खेल्न बोलाउनुको कारण उनीहरुले हाम्रो खेलाडीहरुको खेल हेर्नेछन् र राम्रो खेलाडीहरुलाई त्यहाँको लिगमा खेल्ने अवसर दिन सक्ने सम्भावना छ । त्यसैले पनि हाम्रो लागि यो प्रतियोगिता महत्वपूर्ण छ ।’

साउदी लिगको दोस्रो सिजन चलिरहेको छ । डबल राउण्ड रोविन लिगमा हुने यस लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालको खेलतालिका

समूह बी मा रहेको नेपालले फेब्रुअरी २० मा सिरियासँग खेल्दै वाफ च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ ।

यस्तै यस्तै नेपालले फेब्रुअरी २२ मा ईराक र फेब्रुअरी २४ मा प्यालेस्टाइनसँग खेल्नेछ ।

समूह ए मा आयोजक साउदी अरेबिया, ग्वाम, लेबानोन र जोर्डन छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना रानामगर, उषा नाथ

रक्षक : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी

मिडफिल्डर : अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्रा भण्डारी

फरवार्डः सविता रानामगर, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, अमिसा कार्की ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?