+
+

महिला फुटबल टिमकी गोलरक्षक एन्जिलाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १२:०९

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को छायांकन सोमबारदेखि इलामको आइतबारेमा सुरु भएको छ ।

मिलन चाम्सको निर्देशन रहने यो मल्टिस्टारर फिल्ममा अञ्जिला पात्रको भूमिका चाहिं एन्जिलाले नै गर्दैछिन् । यसका लागि उनले अभिनेत्री सिर्जना सुब्बासँग चार महिना अभिनय कला सिकेकी थिइन् ।

एन्जिलाकै जन्मथलो भएकाले सो गाउँबाटै छायांकन थालिएको निर्देशक चाम्सले अनलाइनखबरलाई बताए । फिल्ममा एन्जिलाको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा प्रस्तुत गरिनेछ । ‘एन्जिला त प्रतिनिधि पात्र मात्र हुन् । यो सबै खेलाडीको कथा हो,’ चाम्सले भने ।

चाम्सले यसलाई बायोपिकभन्दा पनि वास्तविक जीवनमा आधारित फिल्म बताएका छन् । यसलाई स्पोर्ट्स ड्रामा समेत भन्न सकिन्छ । फिल्ममा एन्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङको समेत अभिनय छ ।

पहिलो दिन सोमबार माओत्से र सिर्जनाको दृश्यसँगै छायांकन सुरु भएको छ । दयाहाङ र मिरुनाले मंगलबारदेखि सेट ज्वाइन गर्नेछन् भने एन्जिलाले तीन चार दिनमा छायांकन थाल्नेछिन् । फिल्मलाई इलाम, झापा र काठमाडौंमा खिच्ने तयारी छ । इलाममा २६ दिन र काठमाडौंमा १९ दिनको छायांकन तालिका तय छ ।

आगामी चैत वा वैशाखमा फिल्म रिलिज गर्ने लक्ष्य राखिएको छ । मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई प्रेमकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन् । विनोद अग्रवाल, राजेश बागादिया सहनिर्माता छन् । चाम्स निर्देशित ‘गोर्खा वारिअर’ प्रदर्शन तयारीमा छ भने ‘वर एण्ड वधु’ निर्माणाधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?