+
+

‘महिला समाज र सम्पत्तिबाट बहिष्कृत भए’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १७:२३

७ फागुन, सुर्खेत । ‘समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरु भएको स्थानलाई समाज भनिन्छ,’ दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, ‘तर हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैङ्गिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।’

महिलालाई, आमा, छोरी, बुहारी, श्रीमती वा दिदी बहिनीको परिचय त दिइयो । तर सिंगो मानवका रुपमा आफ्नो पहिचान बनाउनका लागि महिलाले अझै पनि संघर्ष गर्नु पर्ने अवस्थो छ । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा महिला अधिकारकर्मी सुनारले सुनाइन्, ‘हामी अझै पनि परिवार, समाज र राज्यस्तरबाट दबिनु परेको छ ।’

कर्णाली उत्सवको तेस्रो दिन सोमबार ‘समाज र संघर्ष’ सत्रमा मञ्जुले महिला र जातीय विभेदबारे बोलिन् । मञ्जुसँगै थिए, अधिकारकर्मी ममता नगाल, पवित्रा शाही र टीका बुढाथोकीले समाजमा महिलाले गरेको संघर्षबारे मन्थन गरे । आफना दुःख, भोगाइ र संघर्षबारे खुलेर छलफल गरे ।

राजनीतिक तवरबाट अहिले पनि महिला अधिकार, महिला सशक्तिकरण, समानता र समताको विषयमा जतिसुकै चर्का भाषण गरे पनि कर्णालीका महिला अहिले पनि चुलाचौकाभन्दा माथि उठ्न नसकेको मञ्जुले बताइन् ।

३० वर्षदेखि दलित महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी सुनारले भन्छिन्, ‘आफनै परिवारभित्र विभेद छ । आफनै छोरा र छोरीलाई त फरक व्यवहार गरिन्छ । दलित महिलाहरुले त झनै विभेदभीत्र विभेद खेप्नु परेको छ ।’

पोथी बासेको सुहाउँदैन भन्ने समाजमा अधिकारको आवाज उठाउन सहज नभएको उनी बताउँछिन् । ‘२०५० सालमा शिक्षिका भएर एउटा गाउँमा पढाउन गएँ । त्यो समाजले मलाई कोठा दिएन । मेरो शिक्षा चल्थ्यो तर मलाई बस्ने ठाउँ थिएन्,’ उनले भनिन्, ‘अधिकारका आवाज उठाउँदा अनेकौ विभेद र लाल्छान भोगेकी छु ।’

अर्की अधिकारकर्मी ममता नगालले दुई वर्ष अगाडि मात्रै एउटा पूजामा जाँदा विधवाले पकाएको रोटी चल्दैन भन्दै बाहिर पठाइएको तितो अनुभव सुनाइन् । ‘यो समाज बाहिर एउटा बोल्छ । घरभित्र अर्कै व्यवहार पर्छ । परिवर्तनका चर्का आवाज बोल्नेहरुनै विभेदको कारक हुन्,’ उनले भनिन्, ‘कर्णालीमा चरम विभेद छ । अपमान छ । भए नभएका सामाजिक विभेदका बन्धनहरु छन् । त्यही बन्धनमा हामी बाँधिएका छौं । हामीलाई समाजले स्वीकार्दैन, हाम्रो सम्पत्तिमा समेत अधिकार छैन् ।’

सानै उमेरमा विवाह गरेकी ममताको श्रीमान सशत्र प्रहरी थिए । माओवादी द्वन्द्वका बेला उनका श्रीमान मारिए । ‘त्यो समाजले मलाई किरिया गर्न समेत दिएन । म गाउँमा न्याय नपाएर, एउटा दूधे वालक च्यापेर यो सपनाको शहर वीरेन्द्रनगरमा आएको हुँ’ उनले भनिन्, ‘मलाई थाहा छ, यो समाजले एउटी महिलामाथि लाञ्छना लगाउन सक्छ । कति विभेद गर्न सक्छ ।’

सुर्खेतमा आएपछि ममताले अर्को संघर्ष गरिन् । आफू जस्तै १६–१७ वर्षीया एकल महिलाहरुलाई संगठित गरेर अधिकारका लागि आवाज उठाँउन थालिन् । द्वन्द्व प्रभावित महिलाको न्यायका लागि लड्न थालिन् । राष्ट्रिय महिला सञ्जाल, सुर्खेतकी अध्यक्ष समेत रहेकी ममता भन्छिन्, ‘हामी बसेको घर, हाम्रो नाममा छैन् । एकाध महिला पढेलेखेका होलान्, जागिर खाएका होलान् । आफनो बोली प्रष्टरुपमा राख्न सक्छन् होला । तर ८० प्रतिशत भन्दा बढि महिला चुलोचौकोभन्दा माथि उठ्न सकिरहेका छैनन् । समाज र सम्पत्तिबाट बहिष्कृत छन् ।’

समाज महिलाहरु स्थापित हुन र आफनो मर्यादा कायम गर्न छुटै संघर्ष गर्नुपरेको महिला अधिकारकर्मी पवित्रा शाही बताउँछिन् । ‘एउटी महिला पूर्ण मान्छे भएर बाँच्न पाएको अवस्था छैन । उ परिवारबाट दमित हुन्छे । सामाजिक बन्धनमा बाँधिन्छे,’ उनले भनिन्, ‘कर्णालीको समाज अहिले पनि छोरीको बिउ रोप्न चाहाँदैनौं । छोरी गर्भमै मारिन्छिन् । यो हाम्रो वाध्यता हो ।’

शक्ति, सत्ता र पहुँचबाट रहेकाहरुले नै महिला माथी दमन गर्ने गरेको उनले बताईन् । ‘जहाँ सत्ता र शक्ति हावी हुन्छ, त्यहाँ अन्याय, अत्याचार, विभेद, विसंगति र विकृति हुन्छ’ उनले भनिन्, ‘त्यसैले हामी सभ्य समाज बनाउँनलाई समानता कायम गर्नु पर्छ । मेरो जिवनको संघर्ष नै महिला र पुरुषमा समान्ता ल्याउनु हो ।’

अर्की अधिकारकर्मी टिका बुढाथोकी कर्णालीको समाजले अहिले पनि छोरालाई बोडिङ्ग र छोरीलाई सरकारी विद्यालय पढाउने गरेको बताइन् । ‘महिला र पुरुषको विभेद प्रत्येक घर घरमा छ । त्यो यो समाजको उपज हो । चुलोचौकोबाट उठेर यो स्टेजमा आइपुगेका छौं’ उनले भनिन्, ‘हामीले प्रत्येक पाइला पाइलामा विभेद भोगेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?