+
+

म विदेशी नजाने बाटो हिंड्छु : एरिक भ्याली

यज्ञ खत्री यज्ञ खत्री
२०८० फागुन ६ गते १६:४५

६ माघ, सुर्खेत । ‘म नेपालको त्यो बाटो हिंड्छु, जहाँ विदेशी हिंड्दैनन् । म नेपालमा ती कुरा देख्छु जो नेपालीले नै देख्दैनन्,’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्यालीले भने, ‘सानो देश नेपाल विविधताले भरिएको छ । दुनियाँमै नभएको नयाँ र फरकपन नेपालमा भेटिन्छ ।’

विविधताले भरिएको भएर पनि नेपालको महत्व नेपालीले नै बुझन नसकेको भ्यालीको बुझाइ छ । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा वक्ताको रुपमा प्रस्तुत भएका भ्यालीले नेपालको विविधता र बहुआयामिकता अथाह भएको बताए ।

भ्याली तीनै व्यक्ति हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औं संस्करणको दौरानमा सूचीकृत भएको थियो । यसबाहेक द ट्रेल, नेपाल : बियोन्ड द क्लाउड्स, हिमालयन गोल्ड रसजस्ता डकुमेन्ट्री फिल्मका लागि पनि उनी चर्चित छन् ।

यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ । फिल्मले जोडेको साइनोका कारण भ्याली कर्णाली उत्सवमा उपस्थित भएका थिए । डोल्पामा बसेर क्याराभान निर्माण गरेका भ्यालीको नेपाल र कर्णाली यात्रा भने रोचक छ ।

भ्याली १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्तान पुगेका थिए । त्यहाँ घुम्दा घुम्दै उनको भिजा सकिएछ । एकदिन अफगानी सेनाले पक्राउ गरेर जेल हाल्यो ।

‘अफगान आर्मीले मलाई दुईओटा अप्सन दियो घर जान्छस कि ? अन्य छिमेकी मुलुकमा ? तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाए’ भ्यालीले भने, ‘भारतमा नेपालका बारेमा धेरै सुनेँ र यता आएँ । त्यसपछि त तिमीहरुको देशमा माया बस्यो ।’

भ्यालीका अनुसार त्यतिबेलासम्म नेपालमा टुरिजम मात्रै थियो । ‘विदेशीहरुले नेपालमा टुरिजम मात्रै देख्थे । तर मलाई सक्कली नेपाल देख्नु थियो र त कुनै पनि विदेशी नपुगेको ठाउँमा पुगेँ’ उनले भने ।

सक्कली नेपाल देख्ने चाहाकै कारण अरुण, तमोर लगायतका क्षेत्रमा पुगेको भ्याली बताउँछन् । घुम्दा घुम्दै उनी कर्णालीको डोल्पा पुगे । फोटोग्राफी गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउने इच्छा जाग्यो ।

डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो । ‘उनको लुगा, चौरीको दूध, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो । तीनै मान्छेहरुको जनजीवनलाई क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो’, भ्याली भन्छन् ।

‘एउटा सशक्त फिल्म बनाउन के गर्नुपर्ने रहेछ ?’ उत्सवमा भ्यालीलाई प्रश्न गर्ने भूमिकामा रहेका काठमाडौं विश्वविद्यालय सहप्रध्यापक डा. लोचन रिजालले प्रश्न गरे ।

‘फिल्म राम्रो हुनलाई शक्तिशाली कथा हुनुपर्छ । शक्तिशाली कथा भेटाउन गाउँ डुल्नु पर्छ,’ भ्यालीले जवाफमा भने ।

क्याराभान फिल्मको स्क्रिप्टका लागि आफूले तीन वर्ष पढेको उनले बताए । ‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन । त्यस्को मुटुसम्म पुग्नु पर्छ । पावरफूल स्टोरी भेटाएपछि अरु बाटाहरु खुल्दै जान्छन् । सजिलै फिल्म भेटिँदैन् । राम्रो कन्टेन्ट छैन् भने फिल्म नबनाएकै राम्रो हुन्छ,’ उनले चलचित्र निर्मातालाई सुझाव दिए ।

उनले नयाँ पुस्ताका चलचित्र निर्माताहरुलाई कर्णालीका दूरदराजमा घुम्न समेत आग्रह गरे । ‘एउटा विदेशी आएर नेपालका बारेमा फिल्म बनाउँदै गर्दा तपाईंहरु आफनै देशमा किन घुम्नु हुँदैन ?’ उनले प्रश्न गरे ।

९ महिना डोल्पामा बसेर हिउँमा हिँड्दै क्याराभानको सुटिङ्ग गरेको उनले स्मरण गरे । ‘त्यहाँको याक, मान्छे सबै अर्गानिक थिए । आफ्नै दुनियाँका । आफनै सोच, विचारका’ उनले भने, ‘फिल्म निर्मातामा केही पागलपन हुन आवश्यक छ । म त्यस्तै एउटा पागलपन भएको फिल्म निर्देशक हुँ ।’

१९५२ मा फ्रान्समा जन्मिएका भ्याली नेपालमा मात्रै ३० वर्ष बिताएको बताउँछन् । फिल्ममार्फत नेपालको सांस्कृतिक सम्पदालाई संसारभर चिनाएका भ्यालीको नेपाल प्रेम अनौठौं छ । ‘म विदेशी नजाने बाटो हिँड्छु । त्यसले मलाई नयाँपन दिन्छ,’ उनी भन्छन्, ‘दुर्गम क्षेत्रमा पुग्छ, बाटो बिराउँछु, कहिल्यै भोकै सुत्छु, फेरि गन्तव्य त भेटाइनै हाल्छु ।’

पछिल्लो समयमा आफू सूदुरपश्चिमको बझाङ्ग र बाजुरामा पुगेको र अहिले त्यहाँको प्राकृतिक, सांस्कृतिक महत्वका बारेमा लेखिरहेको भ्यालीले बताए । ‘बाजुरा पनि अनौठो छ । त्यहाँको बारेमा बुझ्दै छु । ती कुराहरु लैख्दै छु’ उनले भने ।

भ्याली नेपालीमा आफनो कुरा प्रस्टरुपमा राख्न राख्छन् । उत्सवमा प्रश्नकर्ता रिजालले प्रश्न गरे, ‘नेपाली भाष किन सिक्नु भयो ?’

जवाफमा भ्यालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहुआयामिक संस्कृति बुझिँदैन । दूरदराजमा अंग्रेजी र फ्रान्सेली भाषा बुझ्दैनन् । त्यसो हुँदा नेपाली सिकेँ ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?