+
+

उत्पादनमूलकतर्फको कोरियन भाषा परीक्षा आउँदो पुससम्म चल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते २२:०६

७ फागुन, काठमाडौं । सन् २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षा सुरु भएको छ । परीक्षामा १ लाख ६३ हजार ६३५ जना परीक्षार्थी सामेल हुँदैछन् ।
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाकाअनुसार तीन चरणमा परीक्षा हुनेछ । पहिलो चरणमा आज सोमबारदेखि सुरु भएको परीक्षा आगामी २४ चैतसम्म चल्ने छ ।

दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म सञ्चालन हुनेछ । परीक्षा यूबीटी भवन भैंसेपाटीमा कोरियाको एचआरडी कोरियाको प्रत्यक्ष निगरानीमा दैनिक पाँच सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ । प्रत्येक सिफ्टमा २०० जनाको दरले एक दिनमा एक हजार जनाको परीक्षा ट्याब (कम्प्युटर)मा सञ्चालन हुनेछ ।

‘आफ्नो परीक्षा कुन दिन र कुन सिफ्टमा पर्छ सो कुरा थाहा पाउन ईपीएस कोरिया शाखाको वेबसाइटमा गई एकिन गर्नु पर्नेछ,’ शाखाले निकालेको सूचनामा भनिएको छ,‘परीक्षा सञ्चालन हुनु भन्दा कम्तीमा १ घण्टा अगाडि बायोमेट्रिक भेरिफिकेसनको लागि परीक्षा केन्द्रमा अनिवार्य रुपमा पुग्नु पर्ने छ ।’

त्यसपछि परीक्षा सञ्चालन हुनुभन्दा ३० मिनेट अगाडि परीक्षा सञ्चालन सम्वन्धी जानकारीमूलक कक्षा सञ्चालन हुने शाखाले जानकारी दिएको छ । शाखाका अनुसार आफ्नो परीक्षा सञ्चालन हुने दिनको एक दिन अगाडि ईपीएस कोरिया शाखा ग्वार्कोमा बायोमट्रिक फिंगरप्रिन्ट रजिष्ट्रेसन गर्नु पर्नेछ ।

‘परीक्षामा सहभागी हुन सक्कल पासपोर्ट र प्रवेश पत्र आवश्यक पर्ने हुँदा उक्त कागजातहरु अनिवार्य रुपमा आफ्नो साथमा लिई तोकिएको समय र मितिमा परीक्षामा सहभागी हुन सम्पूर्ण परीक्षार्थीहरुमा अनुरोध गरिन्छ,’ शाखाले सूचनामा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?