+
+

विश्वचर्चित ब्याण्ड ‘बिटल्स’लाई लिएर चार फिल्म बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १४:०९

काठमाडौं । विश्वचर्चित सांगीतिक समूह ‘बिटल्स’लाई लिएर हलिउड फिल्म निर्माण हुने भएको छ । ब्याण्ड सदस्यहरु जोन, पौल, जर्ज र रिङ्गोको दृष्टिकोणको कथावस्तुमा आधारित रहेर बन्ने फिल्मलाई साम मेन्डेसले निर्देशन गर्ने भेराइटी म्यागजिनले जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार ती सदस्यले फिल्ममा इतिहासको महान् सांगीतिक समूह र १९७० को चर्चित ब्रेकअपबारे समेत बताउने भएका छन् । पल म्याकार्टनी, रिङ्गो स्टार, स्वर्गीय जोन लेनन र जर्ज ह्यारिसनका परिवारले फिल्मको स्क्रिप्ट लेख्न जीवन कथा र संगीत अधिकार समेत प्रदान गरेका छन् ।

‘म सर्वकालीन लोकप्रिय ब्याण्डको कथा सुनाउन पाउँदा आफूलाई सम्मानित महसुस गर्छु । फिल्ममा हाम्रो कथा के हो भन्ने कुरा बताउने यात्रालाई समेत चुनौती दिन चाहन्छु,’ अमेरिकन ब्युटी, युद्धबारेको फिल्म ‘१९१७’ र जेम्स बण्ड फिल्महरु ‘स्काइफल’ र ‘स्पेक्टर’का निर्माता मेन्डेसले विज्ञप्तिमा भनेका छन् ।

चार श्रृंखलासम्म बन्ने यो फिल्मको निर्माणमा सोनी पिक्चर्सले लगानी गर्नेछ । सन् २०२७ मा रिलिज लक्ष्य राखिएको यो फिल्मको विश्वव्यापी वितरण अधिकार पनि सोनीसँग हुनेछ । रिलिज योजनाबारे पछि जानकारी दिइने भएको छ । सोनीले फिल्मको यो योजनालाई नयाँ र अभूतपूर्व हुनसक्ने बताएको छ ।

एकै वर्षमा चारवटा फिल्मलाई रिलिज गर्नु पक्कै पनि जोखिमपूर्ण काम हो । पछिल्लो समय बक्स अफिसमा सांगीतिक फिल्मको लोकप्रियतामा वृद्धि भइरहेको देखिन्छ । टेलर स्वीफ्टको ‘इरास टुर’, बज लुरम्यानको ‘एल्भिस’, प्यारामाउण्टको ‘बब मार्ली : वान लभ’ले सोचेभन्दा बढी कमाइ गरे ।

गायिका टेलरको ‘इरास टुर’को अग्रिम टिकट बिक्रीले त हलिउडका बहुचर्चित फ्रेन्चाइजी फिल्मलाई समेत पछि छाड्यो । सांगीतिक किम्वदन्तीमा आधारित धेरै फिल्म हलिउडमा बन्ने क्रममा छन् । एन्टोइन फुक्वाले पप सम्राट माइकल ज्याक्सनको जीवनलाई कथानक फिल्ममा रुपान्तरण गर्दैछिन् ।

एमी वाइनहाउसले ‘ब्याक टु ब्ल्याक’ र राइड्ली स्कटले ‘बि गिज’को उदयबारे फिल्म बनाउने सोच बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?