+
+

यो साता हाइड्रोपावरमा ‘स्टप लस’ चल्दा उच्च गिरावट, २ कम्पनीले उचाले उत्पादन समूह

१० प्रतिशतभन्दा धेरै घटेका सबै ८ कम्पनी हाइड्रोपावर समूहका 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १९:३०

११ फागुन, काठमाडौं । गत साता २०६२ अंकमा रहेको सेयर बजार यो साता थप घटेर २००५ मा रह्यो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २.७६ प्रतिशत अर्थात् ५७ अंक घटेको छ । गत साता नेप्से १.६२ प्रतिशत घटेको थियो । नेप्सेको गिरावट दर बढ्नुले सेयर लगानीकर्ताको मनोबल झन् कमजोर बनेको जनाउँछ ।

यो साता ४ दिन बजार खुल्यो, सबै दिन घट्यो । पहिलो दिन आइतबार २७.२१ अंक घट्यो । सोमबार सार्वजनिक बिदाले बन्द बजार मंगलबार फेरि १.७६ अंक घट्यो । बुधबार ६.४६ र बिहीबार २०.७६ अंकले घट्यो ।

कारोबार रकममा भने ठूलो उतारचढाव देखिँदैन । सामान्यतया २ देखि ४ अर्बबीच कारोबार हुने गरेको छ । आइतबार ३ अर्ब ७७ करोड, मंगलबार ३ अर्ब ११ करोड, बुधबार २ अर्ब २४ करोड र बिहीबार ३ अर्ब २० करोडको कारोबार भयो ।

सबै समूह घट्दा उत्पादन समूहमा उत्साह

यो साता सबै समूह घट्दा पनि उत्पादन समूह भने ४ प्रतिशत बढेको छ । यो समूह उच्च दरमा बढ्नुमा दुई कम्पनीको विशेष प्रभाव देखिन्छ ।

यो समूहमा जम्मा आठ कम्पनी सूचीकृत छन् । तीमध्ये कोकाकोला उत्पादन तथा वितरण गर्ने दुई कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईको मूल्य उच्च दरमा बढ्दा समग्र समूहमा टेवा पुग्न गयो । यो साता धेरै मूल्य बढेका कम्पनीमा यी दुई कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

तीबाहेक युनिलिभर नेपाल र नेपाल ल्युब आयलको मूल्य पनि केही बढ्यो । जसले गर्दा उत्पादन समूह उच्च दरमा बढ्यो । यो साता यस समूहका दुई कम्पनीको उच्च मूल्यवृद्धि, दुईको सामान्य वृद्धि हुँदा अरू कम्पनी शिवम् सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट र हिमालयन डिस्टिलरीको मूल्य भने घट्यो । त्यसकारण उत्पादन समूह बढ्दैमा समूहका सबै कम्पनी बढेका होइनन् ।

किन धेरै घट्यो हाइड्रोपावर ?

यो साता हाइड्रोपावर समूहमा सबैभन्दा ठूलो ५.१७ प्रतिशत गिरावट देखिएको छ । गत सातासम्म समग्र बजार घट्दा पनि हाइड्रोपावर समूह १ प्रतिशत बढेको थियो ।

गत सातासम्म हाइड्रोपावर समूह अरू समूहको तुलनामा केही माथि स्थिर देखिन्थ्यो, तर समग्र बजार गिरावट दर कायम रह्यो । त्यसपछि हाइड्रोपावर पनि अछुतो नरहने बुझाइले यस समूहबाट केही लगानीकर्ताले नाफा बुक गर्न लागे भने धेरैजसो ‘स्टप लस’ तिर लागे ।

जसले गर्दा यो साताको सुरुदेखि नै हाइड्रोपावर कम्पनीमा आपूर्ति बढ्यो, तर समग्र बजार अघिल्ला सातादेखि नै घट्दै हाइड्रोपावर समूहमा माग पक्ष एक्कासि कमजोर भयो । जसले गर्दा यो समूह बढी प्रभावित बन्यो ।

खासगरी थोरै पूँजी भएका र बढी चलायमान हुने हाइड्रोपावर कम्पनीहरू यो साता उच्च दरले घटे । यो साता मूल्य १० प्रतिशतभन्दा धेरै घटेका सबै आठ कम्पनी नै हाइड्रोपावर समूहका रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?