+
+

साताको सेयर समीक्षा : घट्न मानेन बजार, अन्य समूहमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १८:१०

२७ पुस, काठमाडौं । अघिल्ला दुई सातासम्म घटेको बजार यो साता भने बढेको छ । ‘करेक्सन’को रुपमा गत साता (१५–२० पुस) ०.९६ प्रतिशत र अघिल्लो साता (८–१३ पुस) १. ९४ प्रतिशतले बजार घटेको थियो । करेक्सनस्वरुप बजारको गिरावट केही बढ्न सक्ने अनुमानका बीच यो साता भने बजार बढेर बन्द भएको छ । यो साता सेयर बजारको परिसूचक नेप्से ३९ अंक बढेको छ ।

गत साता २०४९ अंकमा बन्द भएको नेप्से यो साता २०८८.९ अंकमा बन्द भयो । यो साता ५ दिन खुलेको बजार २ दिन घट्यो भने ३ दिन बढ्यो । आइतबार २६.३६ अंक घटेको बजार सोमबार ३६.५७ अंक बढ्यो । मंगलबार २०.६२ अंक बढेको बजार बुधबार ९.५ अंक बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार जम्मा ०.६२ अंक घट्यो । समग्रमा यो साता नेप्से १.९४ प्रतिशतले बढेको छ ।

यो साताका बुधबार र बिहीबार कारोबार भइरहँदा नेप्से परिसूचकले पटक पटक २१ सय अंक नाघे पनि अन्ततः कारोबार बन्द हुँदा २१ सय माथि टिक्न सकेन । समग्रमा यो साता बजारले घट्न मानेन भने २१ सयमाथि टिक्न पनि सकेन ।

यो साता कारोबार रकम पनि उल्लेख्य देखिन्छ । आइतबार ५ अर्ब २४ करोड, सोमबार ४ अर्ब ६७ करोड, मंगलबार ६ अर्ब ११ करोड, बुधबार ५ अर्ब १३ करोड र बिहीबार ४ अर्ब ३० करोडको कारोबार भयो ।

समूहगत रुपमा हेर्दा यो साता अन्य, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्समा उल्लेख्य वृद्धि देखिएको छ । अन्य समूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो । निर्जीवन बीमा र उत्पादन समूह भने यो साता घट्न पुगे ।

किन उच्च दरले बढ्यो अन्य समूह ?
यस समूहमा कुल ६ वटा कम्पनी सूचीकृत छन् । नेपाल टेलिकम, नेपाल रिपब्लिक मिडिया, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स ।

६ कम्पनीमध्ये ३ कम्पनी नेपाल वेयर हाउजिङ, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य यो साता कारोबार भएका सबै दिन १० प्रतिशत बढ्यो । जसले गर्दा  अरु ३ कम्पनी सामान्य घटबढ भए पनि बढेका ३ कम्पनीले समूह नै तान्यो । १० प्रतिशत मूल्य बढिरहेका तीनै कम्पनी हालै बजारमा सूचीकृत भएका हुन् ।

नेपाल वेयरहाउजिङको ६८ लाख ७५ हजार कित्ता र मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत छ । सूचीकृतमध्ये पनि संस्थापक सेयरमा हुने लकइन अवधि, सामूहिक लगानी कोषहरुले ६ महिना बेच्न नपाउने अवस्थाजस्ता कारणले आपूर्ति नियन्त्रित छ । जसले गर्दा यी दुई कम्पनीको मूल्य बढिरहेको छ ।

अर्को हिमालयन रिइन्स्योरेन्सको १० करोड कित्ता सेयर सूचीकृत छ भने ३ करोड कित्ता साधारण सेयर हो । यसको सेयर संख्या उच्च भए पनि तुलनात्मक रुपमा अर्को कम्पनी नेपाल रिइन्स्योरेन्सको भन्दा मूल्य तल भएकाले माग उच्च छ । बिहीबार बजार बन्द हुँदा हिमालयन रिको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ छ भने नेपाल रिको ६६१ रुपैयाँ छ ।

धेरै मूल्य बढेका कम्पनी :
यो साता पनि धेरै मूल्य बढेका कम्पनीहरुमा गत साताजस्तै सूचीकृत नयाँ कम्पनीहरु अगाडि रहे । धेरै मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे । संयोग नै मान्नुपर्छ, यी तीनै कम्पनी एउटै समूह ‘अन्य’मा सूचीकृत छन् । हिमालयन रिको पहिलो कारोबार ३०९ रुपैयाँ २० पैसामा यसै साताको सोमबारदेखि सुरु भएको हो ।

त्यसपछि सो दिनसहित ४ दिनसम्म कम्पनीको मूल्य १०–१० प्रतिशतका दरले बढ्यो । मुक्तिनाथ र नेपाल वेयरहाउजिङ भने केही साताअघि सूचीकृत भएका हुन् । सूचीकृत भएपछि यी दुई कम्पनीको मूल्य निरन्तर १० प्रतिशत बढिरहेको छ । यीसहित ९ कम्पनीको मूल्य यो साता १९ प्रतिशतभन्दा धेरै बढ्यो ।

सेयर बजारका लागि सकारात्मक माहोल :
पछिल्लो समयमा सेयर बजारका लागि मुलुकको आर्थिक परिदृष्यले साथ दिइरहेको छ । दुई वाणिज्य बैंकहरुले माघ महिनाका लागि पुसको तुलनामा ब्याजदर घटाएका छन् । यी दुईसहित धेरैजसो बैंकहरुले पुसको तुलनामा माघमा ब्याज घटाउने भएका छन् ।

समग्र ब्याजदर घट्नुले बजार वृद्धि हुनलाई सकारात्मक टेवा पुग्दछ । त्यस्तै नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो ५ महिनाको वित्तीय विवरण सकारात्मक छ । मंसिरमा मूल्यवृद्धिदर ५ प्रतिशतमुनि खुम्चिनु, मुलुकमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च १७ खर्ब ६७ अर्ब रुपैयाँ बराबर हुनु, मंसिरसम्म शोधनान्तर स्थिति २ खर्ब १० अर्ब बचतमा हुनु, रेमिट्यान्स २७ प्रतिशतले बढ्नुजस्ता सकारात्मक पक्षले आगामी साता बजारलाई थप सकारात्मक प्रभाव पार्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?