+
+

सुर्खेतमा तरुण दलका नेतामाथि गोली हान्न भारतीय सुटर प्रयोग

यज्ञ खत्री यज्ञ खत्री
२०८० फागुन १३ गते २०:५५

१३ फागुन, सुर्खेत । शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद गिरीलाई ताकेर गोली प्रहार भयो । नगरपालिका–१, देउतीथानस्थित उनको घर पुग्नुभन्दा केही अगाडि गोली हान्दा उनको गाडीको सीसामा लाग्यो ।

विनोदले गाडी रोक्दा मोटरसाइकलमा दुई जनालाई देखे । उनीहरु मोटरसाइकल फर्काएर विपरीत दिशातिर भागे, विनोदले गाडी फर्काएर पिछा गरे । त्यस क्रममा गाडीले मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा चढेकाहरु सडकछेउको जंगलतिर भागे, विनोद भने प्रहरीलाई खबर गर्न गए ।

प्रहरीले खोजी गर्दा मोटरसाइकल चालक कैलाली गौरीगंगा नगरपालिका–२ का १८ वर्षका इन्द्र बिक पक्राउ परे । इन्द्रकै सहयोगमा गौरीगंगाकै १८ वर्षका भरत भुल र भारतीय नागरिक १९ वर्षका रोहित राजपूतलाई पक्राउ गर्‍यो । यही घटनामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षका राजन गिरीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपक खड्काका अनुसार यो घटनामा संलग्न दुई जना फरार छन् । प्रहरीले घटनाका मुख्य योजनाकारको नाम भने खुलाएको छैन ।

घटना सुनियोजित भएको र गिरीलाई मार्न एक महिना पहिलेदेखि योजना बनेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकारले सुटर रोहित, इन्द्र र भरतलाई ८÷९ दिन पहिले बाँकेको नेपालगञ्जमा भेटेर सुर्खेत बोलाएका थिए ।

विनोदलाई गोली हान्ने योजनाअनुरुप रोहित, इन्द्र र भरत ७ फागुनदेखि वीरेन्द्रनगर–४ स्थित गणेश होटेलमा बास बसेका थिए । घटनाका योजनाकारले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल समेत उनीहरुलाई उपलब्ध गराएका थिए ।

प्रहरीका अनुसार भारतीय नागरिक रोहित सुटर हुन् । रोहितलाई साथ दिनका लागि चालकको भूमिकामा इन्द्र र रोहितको सहयोगीका रुपमा भरत सुर्खेत आएका थिए । उनीहरुलाई सुर्खेतमा बस्ने र खाने बन्दोबस्त वीरेन्द्रनगरका राजन गिरीले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

फरार रहेका दुईमध्ये एकजनाले रोहितको टिमलाई विनोद गिरीको घर देखाउने र होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

मार्ने योजना बनाइएका विनोद गिरी नेपाली कांग्रेसको युवा संगठन तरुण दलका जिल्ला सदस्य हुन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?