+
+

डेढ अर्बमा ठडियो दमक भ्यु-टावर, सञ्चालन मोडालिटी अन्योलमै

महालेखा परीक्षकको कार्यालयले औचित्यमाथि प्रश्न गरेको यो आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिमका कारण धेरै आलोचना हुने देखिन्छ । यही आयोजनाका कारण पूर्वप्रधानमन्त्री ओलीले टावरमाथि हुने सरकारी लगानीलाई बचाउ समेत गर्दै आएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन १४ गते १८:०५

१४ फागुन, काठमाडौं । सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु-टावर निर्माण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलका अनुसार आयोजनामा संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

अब फिनिसिङको काम मात्र बाँकी रहेकाले संरचना निर्माणको काम पूरा भएको उनले जानकारी दिए । ‘संरचनातर्फको काम सकियो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘अब फिनिसिङ गर्दैछौं, यो सकिँदा शतप्रतिशत काम पूरा हुन्छ ।’

सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको यो टावरको लागत बढेर एक अर्ब ४५ करोड (भ्याट) बाहेक पुगेको आयोजनाले जनाएको छ ।

झापा दमकस्थित दापगाछीमा व्यावसायिक भ्यु-टावर बनाउने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा शिलान्यास गरेका थिए । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा लिएका हुन् ।

कस्तो बन्यो टावर ?

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख पौडेलका अनुसार यो व्यावसायिक टावर कुल १ सय मिटर अग्लो बनेको छ । जसमध्ये १८औं तला ७२ मिटर उचाइमा निर्माण भएको छ । बाँकी २८ मिटरमा भने मेटल फ्रेमको टावर राखिएको छ । यसरी कुल एक सय मिटरको भवन निर्माण भएको उनले जानकारी दिए ।

वाहृय तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखेर दमक नगरपालिका-३ दापगाछीमा बनेको यो टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यानसहितका संरचनासहित बनेको हो ।

भवनभित्र धेरै ‘पार्टेसन’ नगरिएको र व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता अनुसार भवनमा आफ्नो संरचना राख्न सक्ने प्रमुख पौडेलले बताए ।

यो भवन काठमाडौंमा पुनर्निर्माण भएको धरहराभन्दा १६ मिटर अग्लो बनेको छ । टावरका हरेक तला चार मिटर उचाइमा बनेको छ । भूकम्प प्रतिरोधी यस भवनमा आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

चट्याङबाट बचाउने प्रविधि समेत भवनमा राखिएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अनुसार भवनको पहिलो चार तलासम्म व्यापारिक प्रयोजनका पसल, पाँचौं तलामा सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था र व्यावसायिक संस्थाका कार्यालय रहने छन् ।

१०औं तलाभन्दा माथि १४औं तलासम्म कृषि तथा औद्योगिक सामग्री प्रदर्शनी हल, १५औं र १६औं तलामा रेस्टुरेन्ट बन्ने भएका छन् । १७औं र १८ औं तला भने दृष्यावलोकनका लागि उपयोग गर्ने गरी डीपीआर बनेको थियो ।

सञ्चालन मोडालिटी अझै अन्योलमा

सरकारी लगानीमा बनेको यो टावर सञ्चालनको मोडालिटी भने अझै अन्योलमा छ । सहरी विकास मन्त्रालयले सञ्चालन मोडालिटी बनाइरहेको भए पनि टुंगोमा पुग्न बाँकी छ । मन्त्रालयबाट मोडालिटी टुंगिएसँगै उद्घाटन र सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ ।

‘कोभिड महामारीसहितका कारण निर्माण एक वर्ष पछाडि धकेलिएको छ,’ आयोजना प्रमुख पौडेल भन्छन्, ‘त्यसकारण हामी सकेसम्म छिटो काम सकेर उद्घाटन तथा सञ्चालन तयारीमा पनि छौं ।’

मोडालिटीको काम जति छिटो सकिन्छ, त्यति छिटो उद्घाटन हुने समेत उनले बताए । अर्कातर्फ, ठेकेदारले बाँकी भुक्तानी छिटो दिनसमेत दबाब दिइरहेको छ । यस आयोजनाले ठेकेदार कम्पनीलाई करिब २० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

विवादको घेरामा दमक टावर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेसँगै चर्चामा आएको यो आयोजना विवादमुक्त भने छैन ।

महालेखा परीक्षकको कार्यालयले औचित्यमाथि प्रश्न गरेको यो आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिम कारण धेरै आलोचना हुने देखिन्छ । यही आयोजनाका कारण पूर्वप्रधानमन्त्री ओलीले टावरमाथि हुने सरकारी लगानीलाई बचाउ समेत गर्दै आएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?