+
+

नेपाली फिल्म ‘शाम्बाला’लाई लिएर अन्तर्राष्ट्रिय मिडिया के भन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:२४

काठमाडौं । बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको नेपाली फिल्म ‘शाम्बाला’को समीक्षा आउन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समीक्षा प्रकाशित गर्दै यसको प्रशंसा गरेका छन् ।

पहिलोपटक बर्लिनको प्रमुख विधा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएको यो फिल्मले अवार्ड त जितेन तर सकारात्मक प्रतिक्रिया भने अवश्य प्राप्त गर्‍यो ।

फिल्मले प्रमुख पात्र गर्भवती पेमाले हराएका सन्तानको पिताको खोजीका लागि गरेको यात्राको कथा पेश गर्छ । फिल्मको शीर्ष भूमिकामा ‘नाका’ फेम्ड थिन्ले ल्हामोले अभिनय गरेकी छन् ।

भेराइटी म्यागजिन हेडलाइनमा लेख्छ, ‘एक शान्त तर घुमाउरो पर्वतीय यात्रा ।’ यो फिल्मको कथा वाचन मानिसको रमाइलोपन तथा आध्यात्मिक र अमूर्त पक्षमा विभाजित भएको उल्लेख गर्दै भेराइटीले फिल्ममा प्रस्तुत पहाडलाई खोज र प्रतिविम्बको रुपमा चित्रण गरिएको उल्लेख गरेको छ ।

भेराइटी अगाडि लेख्छ, ‘शाम्बालाको परिदृश्य पहाडी हुनसक्छ तर यसको भावनात्मक पक्ष अलग पठार हो ।’ म्यागजिनले अभिनेत्री थिन्ले ल्हामाको ‘पेमा’ चरित्रको प्रशंसा गरेको छ । सामाजिक अपेक्षा र अध्यात्मको कोणबाट महिलाले बाध्यतापूर्वक गर्नुपर्ने कार्यलाई नारीवादी दृष्टिकोणबाट पेश गरिएको उल्लेख छ । पेमालाई फेमिनिस्ट सोचको प्रतिनिधि पात्रको रुपमा म्यागजिनले उल्लेख गरेको छ ।

हलिउड रिपोर्टरको हेडलाइन छ, ‘आश्चर्यजनक रुपमा शिल्पित नेपाली फिल्मले आफ्नो जादू छर्न धेरै समय लिन्छ ।’ हलिउड रिपोर्टरले फिल्मको कथ्य र शिल्पमा केही समस्या औंल्याएको छ । समग्रमा यसको समीक्षा मध्यम देखिन्छ ।

निर्देशक भामले जसरी फिल्मलाई चित्रण गरेका छन्, त्यसलाई बुझ्न र हेर्न धैर्यता चाहिने उल्लेख गर्दै समग्रमा यो फिल्मले आफ्नै प्रकारको ज्ञान प्रदान गर्ने विश्लेषण यो म्यागजिनले गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टका क्रिटिक जेम्स मोर्टामले भने ‘शाम्बाला’लाई उत्कृष्ट कृतिको रुपमा व्याख्या गरेका छन् । यो फिल्म अविचलित रहेको उल्लेख गर्दै उनले पूर्वीय प्रतीकप्रति निर्देशक भामको आकर्षण र रुचिलाई झल्काउने लेखेका छन् ।

स्क्रिनडेलीले फिल्मको प्रशंसा गर्दै लेखेको छ, ‘दृश्यात्मक रुपमा एक भव्य टुक्रा ।’ यो म्यागजिन लेख्छ, ‘फिल्मले चित्रण गरेको समाजको प्रकृतिको बारेमा धेरै व्याख्या गर्न आवश्यक छैन । कथा, पात्रबीचको कम्पनलाई स्पष्ट रुपमा वर्णन गरिएको छ । कथालाई कोमलतापूर्वक स्केच गर्ने कलाकारको क्षमतालाई धन्यवाद ।’

फिल्मको पृष्ठभूमिमा देखिने बाख्रा, भेडा, घोडा र घुम्ने याकहरू विशाल बथानले चुपचाप यो फिल्मलाई अझै सुन्दर तुल्याउने उक्त म्यागजिनले लेखेको छ । दुई घण्टा ३० मिनेट लामो यो फिल्म तिब्बती र नेपाली भाषामा बनेको हो । तिब्बतसँग सीमा जोडिएका नेपालका उच्च हिमाली भूभागको बहुपतिप्रथाको कथा ‘शाम्बाला’को केन्द्रीय कथ्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?