+
+

मकवानपुर जिल्ला अदालतको आफ्नै सुविधासम्पन्न भवन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १८:५७

१४ फागुन, हेटौंडा । निर्माण सकिएको झण्डै ६ महिनापछि जिल्ला अदालत मकवानपुरले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

अदालतको सुविधासम्पन्न नयाँ ६ तले भवनको सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरपालिका–२, स्थित १० कठ्ठा क्षेत्रफलमा अदालतको सानोठूलो गरी ७१ कोठे भवन निर्माण भएको छ ।

२१ कात्तिक २०७७ मा भवन निर्माण सम्झौता गरेको कविन्द्र/नवसिर्जनशील/स्टेल जेभी, काठमाडौंले तोकिएको समय १९ साउन २०८० भित्र काम सकेको थियो ।

साउनमै निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीले अदालतलाई भवन हस्तान्तरण गरेको थिएन । नयाँ भवन बनेर पनि उपयोगमा ल्याउन नपाएको जिल्ला अदालत भने उच्च अदालत पाटन हेटौंडा इजलास परिसरको साँघुरो भवनबाटै सेवा दिएको थियो । निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी नपाएको भन्दै भवन हस्तान्तरण गरेको थिएन ।

निर्माण कम्पनीले ३ करोड ४० लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । ‘अर्थ मन्त्रालयले रकम उपलब्ध नगराएकाले कम्पनीलाई भुक्तानी दिन नसकिएको हो । पैसा नै छैन भनिएको छ । सायद अब अर्को वर्षमात्रै भुक्तानी हुन्छ होला’, उनले भने ।

जिल्ला अदालत मकवानपुरमा चारजना न्यायधीशसहित ५६ जना कर्मचारी कार्यरत छन् । २३ करोड ७७ लाख रुपैयाँ लागतमा निर्माण भएको जिल्ला अदालतमा दुईवटा लिफ्ट, १०२ थान सोलारप्यानल, १० थान अग्नि नियन्त्रण सिलिण्डर, २४ थान एसी, ४८ वटा सीसीक्यामेरा जडान गरिएको अदालतले जनाएको छ । नयाँ भवनमा ५ वटा अपाङ्मैत्रीसहित २५ वटा शौचालय रहेको छ ।

भवनको अण्डर ग्राउण्ड पार्किङमा न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीको सवारीसाधनलाई पार्किङको व्यवस्था मिलाइएको छ । सर्वसाधारणलाई भने अण्डर ग्राउण्डमा पार्किङ सुविधा नदिइएको अदालतले जानकारी दिएको छ ।

भवनमा बालपोषण (स्तनपान) कक्ष, सूचना प्रविधि कक्ष, मेलमिलाप कक्ष, कानुन व्यवसायी प्रतिक्षा कक्ष, पुस्तकालय, थुनुवा कक्षलगायतको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?