+
+

बेलबारीमा ३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ९:३४

१८ फागुन, विराटनगर ।  मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

आज बिहान पूर्व-पश्चिम लोकमार्गको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको हो । तीन जना गम्भीर घाइते हुन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो ।

बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो ।

दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो । घाइतेमध्ये २ जनाको बाटो मै  मृत्यु भएको हो ।

दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।

प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?