+
+

विदेशमा सडक दुर्घटनामा नेपाली श्रमिकको मृत्युदर बढेको बढ्यै

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० चैत २ गते २०:१७

२ चैत, काठमाडौं । कुवेतमा मंगलबार विहान भएको सवारी दुर्घटनामा तीन जना नेपालीको मृत्यु भयो । महाबुल्ला क्षेत्रको सडकमा बाटो काट्ने क्रममा पापाजोन कम्पनीमा कार्यरत काठमाडौं सानो भर्‍याङका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछानेलाई कारले ठक्कर दिएर ज्यान लियो ।

यसैपनि नेपालभित्रका सडकमा हुने सवारी दुर्घटनाहरुमा हुने मृत्युको तथ्याङ्क अत्यासलाग्दो छ । तर, रोजगारीका लागि विदेश पुगेका नेपालीहरु पनि विदेशका सडकमा अकालमा मृत्युवरण गरिरहेका छन् । विदेशमा  सडकसम्बद्ध दुर्घटना  कम भइरहँदा त्यस्ता घटनामा नेपालीहरूको मृत्युदर बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार पूर्वसावधानी तथा सुरक्षा र नियमहरुको पालनालाई प्रत्याभूत गर्ने हो भने धेरैजसो सवारी दुर्घटनाबाट हुने मृत्यु र गम्भीर घाइते हुने समस्यालाई टार्न सकिन्छ । त्यसका लागि सडक, सवारी, सडक पेटीका प्रयोगकर्तादेखि राज्यसंयन्त्र सबै गम्भीर बन्नुपर्नेमा संगठनको जोड छ ।

विभिन्न देशहरुले सवारी दुर्घटना र त्यसबाट हुने क्षतिलाई कम गर्न विभिन्न काम गरिरहेका बेला विदेशमा श्रमका लागि पुगेका नेपालीको सवारी दुर्घटनाबाट हुने मृत्युको दर भने बढिरहेको सरकारी अधिकारीहरू बताउँछन् ।

श्रमका लागि नेपाल छाडेर विकासशील देशमा काम गर्न पुगेका नेपालीहरुले ती देशमा पनि ठूलो संख्यामा सवारी दुर्घटनामा ज्यान गुमाइरहेको सरकारी तथ्याङ्कले देखाउँछ ।

वैदेशिक रोजगार बोर्डकाअनुसार नेपालबाट विदेश जाने नेपालीहरुको संख्या र मृत्युदर जसरी बढिरहेको छ, त्यसैगरी विदेशमा यस्ता सवारी र सडक दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या पनि उच्च दरमा बढेको छ ।

पछिल्ला १५ वर्षका बीचमा विदेशमा पुगेका १ हजार ५ सय २ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०६५/६६देखि २०७९/८०सम्म वैदेशिक रोजगारीमा गएका १५ सयभन्दा धेरैले सडक तथा सवारी दुर्घटनामा अकाल मृत्युवरण गरेका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६५/६६मा विभिन्न देशमा मृत्यु हुनेको संख्या ८ मात्रै थियो । त्यसपछि यो संख्या क्रमशः बढ्दै गयो । २०६६/६७मा ६७ जनाको सवारी दुर्घटनामा ज्यान गयो भने २०६७/६८मा ६०, २०६८/६९मा १०१ र २०६९/७०मा १०४ जना नेपालीको मृत्यु भयो ।

आर्थिक वर्ष २०७०/७१मा विदेशको सडकमा ज्यान गुमाउनेको संख्या ११२ थियो भने २०७१/७२मा १२१, २०७२/७३मा १०३, २०७३/७४मा १२२ र २०७४/७५मा १२७ थियो । आर्थिक वर्ष २०७५/७६मा ११५, २०७६/७७मा ७६, २०७७/७८मा ११४, २०७८/७९मा १२९ र २०७९/८०मा १४३ थियो । यो तथ्याङ्कमा अवैध रुपमा विदेश पुगेर सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या सामेल छैन ।

वैदेशिक रोजगार बोर्डका निर्देशक तथा प्रवक्ता टीकाराम ढकाल बोर्डसँग भएको तथ्यांक सरकारको जानकारीमा आइपुगेको संख्यामा मात्र आधारित भएको बताउँछन् । अवैध रूपमा विदेशिएर मृत्यु वा बेपत्ता हुनेको संख्या झन् कति भए भन्ने थाहा नभएको उनले बताए ।

त्यसैले वास्तविक आँकडा खोज्ने हो भने यस्तो मृत्युदरको तथ्याङ्क अझ भयावह देखिनसक्ने अधिकारीहरु बताउँछन् ।

सरकारी तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको मृत्युको कारकमा कार्डिक अरेस्ट (सुतेकै ठाउँमा हुने मृत्यु) र हृदयघातपछि सवारी दुर्घटना तेस्रो स्थानमा छ । विदेशमा हुने कुल मृत्युको करिक २० प्रतिशत हिस्सा सडक दुर्घटनाबाट हुने मृत्युदरको छ । सवारी दुर्घटनाका कारण सबैभन्दा धेरै नेपालीको मृत्यु साउदीअरेबिया र कतारमा हुने गरी वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्यांकले देखाउँछ ।

२०६५देखि २०७९सम्म हृदयघातबाट २ हजार २५८, प्राकृतिक मृत्युबाट २ हजार २३२, विभिन्न रोगहरूबाट १ हजार ४९५,  आत्महत्याबाट १ हजार २८३, कार्यस्थल दुर्घटनाबाट ७७८ जना श्रमिकको मृत्यु भएको छ । त्यसबाहेक हत्या र अन्य विभिन्न कारणले मृत्यु हुने गरेको देखिन्छ ।

‘The Deaths of Migrants in the Gulf Report’ मा राखिएको तथ्यांक

वैदेशिक रोजगार मामिलामा विज्ञ रामेश्वर नेपाल विदेशमा सवारी दुर्घटनाबाट हुने मृत्युको दर घटाउन सकिने बताउँछन् । उनका अनुसार वैदेशिक रोजगार अभिमुखीकरण कक्षालाई अनिवार्य गर्ने र त्यसमा विदेशमा हुनसक्ने सवारी दुर्घटनाबाट जोगिने उपायहरुबारे सिकाउनुपर्ने उनले बताए ।

‘पाठ्यक्रममा यो विषय भएपनि अभिमुखीकरण कक्षा नै नलिई प्रमाणपत्र जारी हुने अवस्थाले पनि यस्तो भएको हो,’ उनले भने, ‘विदेशिने श्रमिकलाई विदेशका फराकिलो एक्सप्रेस सडकमा बाटो काट्नु काठमाडौंको रत्नपार्कमा बाटो काटेजस्तो होइन भनेर सिकाउन सके मात्रै पनि धेरै दुर्घटना कम हुन्थ्यो ।’ उनका अनुसार फराकिलो बाटो खाली देखेर बाटो काट्ने र उच्च गतिका साथ आएका सवारीले ठक्कर दिने घटना धेरै हुने गरेका छन् ।

समबन्धित देशका ट्राफिक नियमबारे नेपाली श्रमिकहरु सचेत नहुँदा धेरै दुर्घटना हुने गरेका छन् । अभिमुखीकरण कक्षाहरुमा यसबारे राम्रो अनुशिक्षण नहुँदा यस्तो मृत्युदर घट्न सकिरहेको छैन । वैदेशिक रोजगारविज्ञ नेपाल यसलाई समग्र राज्य प्रणालीको असफलता भन्छन् ।

‘केही मिनेट राम्रोसँग ती देशमा हुने ठूला दुर्घटनाको श्रव्यदृश्य सामग्रीसहित त्यहाँको ट्राफिक नियम र नियमको उल्लंघन गर्दा हुने जोखिमबारे बताउन सके धेरै हदसम्म दुर्घटनाहरु घटाउन सकिन्छ,’ नेपालले भने,‘यसले हाम्रा युवा शक्तिले विदेशमा अकालमा मृत्यु र अंगभंग हुने दुर्घटनामा पर्नुपर्दैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?